काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न भृकुटीमण्डपमा ‘बजार केन्द्र’ स्थापना गर्ने घोषणा गरेका छन् । उत्पादन गरेको बस्तुहरुलाई बजारीकरण गर्न सहज होस भन्ने उद्धेश्यले बजार केन्द्र स्थापना गर्न लागिएको बताए ।
पछिल्लो समय महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुहरुले पर्याप्त रुपमा बजार नपाएको गुनासो आइरहेको बेला सरकारी स्तरबाटै बजार केन्द्र स्थापना गर्न लागिएको उनले बताए ।
यसले एकातिर उद्यमीहरुले त्यहाँ लगेर आफ्नो उत्पादनहरु बेच्न सक्ने र अर्कोतर्फ ग्राहकहरुले आवश्यक सामानहरु एकै ठाउँमा किन्न पाउने अवसर पाउने उनको विश्वास छ ।
बियोन्ड बेईजिङ कमिटी, नेपालले प्रकाशित गरेको ‘एक्सेस टू जसटिसः सोसियल इन्टरप्राईज इन नेपाल’ नामक अध्ययण प्रतिवेदन सार्वजनिक गर्न आयोजित भर्चुअल मिटिङमा बोल्दै उनले सामाजिक उद्यमशीलतामैंत्री ऐन, कानुन तत्काल तर्जुमा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
‘सामाजिक उद्यमशीलताको क्षेत्रमा देखिएका ट्याक्स, भ्याटलगायतका समस्या समाधान हुने गरी ऐन, कानुनको परिमार्जन गर्नुपर्ने आवश्यक्ता देखिएको छ,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि आवश्यक सुझाव दिन म समाज कल्याणको क्षेत्रका कार्यरत संघ, संस्था, गैर सरकारी क्षेत्रमा कार्यरत संघ, संस्था तथा नागरिक समाजका अगुवाहरुलाई आह्वान गर्दछु ।’
समाज सेवा गर्ने, मानवीय सेवा गर्ने पवित्र उद्देश्यका साथ खोलिएका सामाजिक संघ, संस्थाहरुलाई विदेशी दाताहरुको आर्थिक सहायतामा भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि समाज कल्याण परिषद् अन्तरगत सो कोष स्थापना गर्ने सोच अघि बढाउनु परेको बताए ।
सामाजिक उद्यमशीलताको अभियानलाई अघि बढाउने गरी ऐन, कानुनको निर्माण गर्न आवश्यक सुझाव दिन सम्बन्धित सबै पक्षलाई उनले आह्वान गरे ।