काठमाडौं । रोक लगाइएको आक्वा ९९ ब्राण्डको पानी उत्पादन तथा बिक्री वितरण नियमित भएको भेटिएको छ ।
काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र त्रिकोण वेभरेजले उत्पादन गरेको आक्वा ९९ व्राण्डको पानी प्रशोधन र जारको गुणस्तरमा त्रुटी देखिएपछि गएको बर्ष फागुन महिनामा खाद्य तथा गुण नियन्त्रण कार्यालयसहितको अनुगमनका क्रममा उत्पादन बन्द गर्न निर्देशन दिइएको थियो ।
सोमबार महानगरको उपभोक्ता हित संरक्षण समितिले औद्योगिक क्षेत्रमा उत्पादन हुने खाद्य, पानी र दूग्ध पदार्थको अनुमगन गर्दा यो क्रम देखिएको हो ।
अनुगमनमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले भने, ‘बेभरेजले उत्पादन गर्ने पानीको गुणस्तरको बिषय निर्णय पुगेको छैन । गुणस्तर नपुगेकोले हामीले गएको फागुन महिनामा भएको अनुगमनकै क्रममा उत्पादन रोक्न भनेका थियौं ।’
बेभरेजका सञ्चालक सुरेन्द्र श्रेष्ठ भने , ‘हामीले पछि अनुमति लिएरै चलाएका हौं ।’ तर, उनले कसको अनुमतिमा पुनः सञ्चालन भयो भन्ने चाहिँ भन्न सकेनन् । कागज देखाउँछु भनेर धेरै समय यताउता खोजेपनि कागजात देखाउन नसकेको जनाइएको छ ।
तर, अनुगमन टोलीले उक्त कम्पनीलाई कारबाही गर्न सकेन् । बरु, कस्को अनुमतिमा पुनः सञ्चालनमा आएको हो त्यसका कागजात र विवरण लिएर महानगरको कृषि विभागमा आउन भनियो ।
बेभरेज जमिनमुनिको पानी लिएर प्रशोधन गरेर बिक्री गर्ने गरेको छ । श्रेष्ठका अनुसार सामान्य अवस्थामा दैनिक २५ हजार लिटर पानी बाहिर पठाउने गरिएको छ । उनकै अनुसार पनि यसरी उत्पादन हुने पानीको धेरै भाग जमिनमुनिबाटै निकाल्ने गरिन्छ ।
बेभरेजले उत्पादन गरेको २० लिटर जारको थोक मुल्य १५ रुपैयाँ र खुद्रा मुल्य २५ राखिएको छ । यसरी बिक्री गरिने पानी बजारमा ५० रुपैयाँसम्ममा बिक्री हुन्छ ।
अनगुमन टोलीले परीक्षणका लागि यस बिभरेजबाट पानीको नमूना संकलन गरेको छ । यसै गरी जय हनुमान फुड प्रालिबाट उत्पादन हुने ६६६ व्राण्डको आँटा र मैदाको नमूना पनि लिएको छ ।
महानगरको कृषि बिभागको नेतृत्वमा भएको अनुगमनमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, पशु सेवा बिभाग, उपभोक्ता अनुसन्धान मञ्चका पदाधिकारीहरु सहभागी थिए ।