काठमाडौं । नेपाल ई—कमर्स तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले बिहान ५ देखि बेलुकी ९ बजेसम्म अत्यावश्यक बस्तु होम डेलिभरी गर्न दिनुपर्ने माग गरेको छ ।
निषेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा सेवा होम डेलिभरी गर्नेसम्बन्धी मापदण्ड २०७७ मा सकारात्मक प्रतिक्रिया दिँदै समयको बुँदा संशोधन गर्न फोरमले जिल्ला प्रशासनलाई अनुरोध गरेको छ ।
पीसीआर रिपोर्ट अनिवार्यपछि मात्रै होम डेलिभिरी सेवा दिनुपर्ने मापदण्डमा सकारात्मक प्रतिक्रिया दिँदै डेलिभरीको समय दिउँसो १ देखि साँझ ७ बजेसम्म सीमित गरिएकोमा असहमति जनाउँदै फोरमले अत्यावश्यक वस्तुको डेलिभरी बिहान ५ बजेदेखि बेलुकी ९ बजेसम्म निर्वाध सञ्चालन गर्न दिनुपर्ने माग राखेको छ ।
त्यसैगरी, हाल विद्यालयदेखि विश्वबिद्यालय बन्द भएको अवस्थामा विद्यार्थीहरु घरमै स्वअध्ययन गर्न बाध्य हुनुपरेको समयमा किताब एवं स्टेसनरी सामानलाई पनि अत्यावश्यक वस्तुमा सूचीकरण गरी निर्वाध डेलिभरीको वातावरण मिलाउँन जिल्ला प्रशासनलाई आग्रह गरेको छ ।
नयाँ मापदण्ड अनुसार जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक खाद्यवस्तु, बालबालिकालाई आवश्यक पर्ने सामाग्री, छाला तथा कपालको सौन्दर्य सामाग्री, व्यक्तिगत केयरका सामाग्री, पशु आहार, पीपीई सामाग्री, सेनिटेसन, कृषिजन्य बिज, मल, उपकरण तथा औषधीजन्य सामाग्रीहरुको होम डेलिभरीलाई अनुमति दिएको छ ।