काठमाडौं । सबैभन्दा बढी नाफा गर्नेमा मञ्जुश्री फाइनान्स लिमिटेड भएको छ । गत आर्थिक वर्ष ०७६/०७७ मा मञ्जुश्रीको नाफा २८४ प्रतिशत बढेर २८ करोड ९ लाख रुपैयाँ पुगेको छ । रकमको हिसावले यो सबैभन्दा बढी नाफा हो । अघिल्लो वर्ष मञ्जुश्रीको नाफा ७ करोड ३१ लाख रुपैयाँ मात्र थियो ।
गत वर्ष प्रोगेसिभ फाइनान्स लिमिटेडले सबैभन्दा कम नाफा गरेको छ । समीक्षा अवधिमा प्रोगेसिभको नाफा ९९.६८ प्रतिशत घटेर १ लाख ११ हजार रुपैयाँ मात्र भएको छ । अघिल्लो वर्ष फाइनान्सको नाफा ३५ लाख रुपैयाँ थियो ।
गत वर्ष ५ ओटा फाइनान्स कम्पनीको मात्र नाफा बढेको छ । बाँकी ११ कम्पनीको नाफा घटेको छ । गत वर्ष प्रतिशतका आधारमा सबैभन्दा धेरै नाफा बढाउनेमा वेस्ट फाइनान्स लिमिटेड भएको छ ।
वेस्टको नाफा १ हजार ७२७ प्रतिशत बढेर ५ करोड ८१ लाख रुपैयाँ पुगेको छ । नयाँ लगानीकर्ताको प्रवेशपछि अहिले वेस्टको वित्तीय अवस्थामा सुधार हुँदै गएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो वर्ष वेष्टको नाफा ३१ लाख ८१ हजार रुपैयाँ थियो ।
यस्तै गोर्खाज फाइनान्सको नाफा पनि १ हजार ७ प्रतिशत बढेको छ । गत वर्ष गोर्खाजले २ करोड ५३ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्ष गोर्खाजको नाफा २२ लाख रुपैयाँ मात्र थियो ।
नयाँ व्यवस्थापन समूहको प्रवेशपछि समृद्धि फाइनान्सको नाफामा पनि उल्लेख्य सुधार आएका छ । समृद्धिको नाफा ५१६ प्रतिशत बढेर ३ करोड ३८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ५५ लाख रुपैयाँ नाफा थियो ।
यसैगरी नेपाल फाइनान्सको नाफा १५८ प्रतिशत बढेर २ करोड १५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष नेपाल फाइनान्सको नाफा ८३ लाख रुपैयाँ मात्र थियो ।
नाफा बढाउनेमा मञ्जुश्री फाइनान्स,गोर्खाज फाइनान्स, नेपाल फाइनान्स, रिलायन्स फाइनान्स र समृद्धि फाइनान्स लिमिटेड रहेका छन ।
नाफा घट्नेमा सेन्ट्रल फाइनान्स, सिटी एक्सप्रेस फाइनान्स, गुडविल फाइनान्स,गुहेश्वरी मर्चेन्ट, आईसीएफसी फाइनान्स, जानकी फाइनान्स, ललितपुर फाइनान्स, पोखरा फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स, युनाइटेड फाइनान्स र सिर्जना फाइनान्स लिमिटेड रहेका छन । सिटी एक्सप्रेस फाइनान्सलाई नेपाल इन्भेस्टमेन्ट बैंकले प्राप्ति गर्ने भएको छ ।
गत वर्ष ६ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ । अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी घट्नेमा ११ कम्पनी छन । ललितपुर फाइनान्सको प्रतिसेयर आम्दानी भने ३ रुपैयाँ ऋणात्मक छ ।
सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढ्नेमा मन्जुश्री फाइनान्स परेको छ । यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७२ पैसाले बढेर ३४ रुपैयाँ २४ पैसा पुगेको छ । मञ्जुश्री सबैभन्दा धेरै प्रतिसेयर आम्दानी भएको फाइनान्स कम्पनी हो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १६ कम्पनीको खुद ब्याज आम्दानी बढेको छ । सबैभन्दा धेरै खुद ब्याज आम्दानी बढाउनेमा समृद्धि फाइनान्स रहेको छ । यसको ब्याज आम्दानी ३३२ प्रतिशत बढेर ३ करोड ९ लाख रुपैयाँ पुगेको छ ।
बेस्ट र ललितपुर फाइनान्सको भने ब्याज आम्दानी घटेको छ । रकमका आधारमा सबैभन्दा धेरै ब्याज आम्दानी गर्नेमा आइसीएफसी फाइनान्स रहेको छ । उसको ब्याज आम्दानी १२ बढेर ४० करोड ८० लाख रुपैयाँ पुगेको छ । मन्जुश्री फाइनान्सले ३८ करोड ५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १८ फाइनान्स कम्पनीहरु छन । यी सबैले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन ।
