काठमाडौं । पछिल्लो दुई सातामा सेयर बजार सूचक १०० अंक बढेको छ । निवर्तमान अर्थमन्त्री डा.युवराज खतिवडा बाहिरिने चर्चासँगै निरन्तर बढ्न थालेको सेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार १५१०.४२ अंकमा रोकियो ।
भदौ ७ मा नेप्से सूचक १४१०.३४ अंकमा थियो । यद्यपी बिहीबार नेप्से सूचक झिनो (०.१५) अंकले घटेको थियो भने २ अर्ब ६३ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । यो नै अर्थमन्त्री खतिवडाका लागि सेयर बजारको अन्तिम कारोबार हो ।
किनभने, खतिवडाले औपचारिक रुपमा अर्थ मन्त्रालयबाट शनिवार बिदा लिएका छन् । राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्यामा नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णयसँगै बजारमा चमक आएको थियो ।
गौतमको सिफारिसले खतिवडाको बहिर्गमन निश्चित बनाएको भन्दै लगानीकर्ताहरु हौसिएका थिए । यसले कारोबार रकममा समेत उल्लेख्य सुधार भएको छ ।
अर्थमन्त्री खतिवडाको बर्हिगमनसँगै आइतबार (आज)बाट हुने सेयर कारोबारले नयाँ तरङ्ग ल्याउने छ । विगतमा खतिवडा रहने भन्दा बजार घट्ने र छोड्ने भन्दा बजार बढ्ने गरेको थियो । त्यसआधारमा हेर्दा आगामी केही दिन लगानीकर्ताहरुले खतिवडा बहिर्गमनको विषयलाई कारोबारमा सामेल गरेर खेलाडीहरु सक्रिय हुने सम्भावना छ ।
कोरोनाका कारण भएको बन्दाबन्दी (लकडाउन) र निषेधाज्ञाले मुलुकको अर्थतन्त्र संकटमा रहेपनि सेयर बजारमा दिनहुँ हरियाली छाउनुमा अर्थमन्त्री खतिवडाको बहिर्गमन प्रमुख कारण मान्ने गरिएको छ ।
यद्यपी आगामी दिनमा खतिवडाको भूमिका के हुने ? भन्ने बारेमा बहस भईरहेका बेला तत्कालका लागि भने उनको कार्यकारी अधिकार गुमेको छ । यसले सेयर बजारमा खतिवडाको प्रत्यक्ष प्रभाव रहने छै्रन ।
बढ्दो कोरोना भाइरसको संक्रमणका कारण मुलुकका ४८ जिल्लाहरुमा कायम रहेको निषेधाज्ञाबीच अनलाईनमार्फत भईरहेको सेयर कारोबार रकममा पनि उल्लेख्य सुधार हुँदै आएको छ । यहीबीचमा आएको प्राथमिक निष्कासनमा पनि उल्लेख्य आवेदन परेको छ ।
बुधबार २५ अंकले नेप्से सूचक बढ्दा ४ अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने सोही आइतबार ३ अर्ब ४६ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।
गत फागुनमा १८ गते सबैभन्दा बढी ४ अर्ब ८५ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सबैभन्दा बढी कारोबार हुने दोस्रो र तेस्रो कारोबार गत साता नै भएको छ ।
जसले गर्दा पछिल्ला दिनमा सेयरका लगानीकर्तामा एक प्रकारको उत्साह थपिँदै गएको छ । गत साता झण्डै १२ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
एकातिर कोरोना महामारीले अन्य क्षेत्रको लगानी खुम्चिरहेको छ भने अर्कोतिर सेयर बजारप्रति अनुदार भनिएका अर्थमन्त्री खतिवडा बाहिरिएका छन् । यसले सेयर बजारमा रौनक ल्याउने देखिन्छ ।
यद्यपी, सूचीकृत कम्पनीहरुको लाभांश क्षमता कमजोर देखिएको छ । २०७५०७६ मा औसत १८ प्रतिशत रहेको वित्तीय क्षेत्रको लाभांश बाँड्ने क्षमता २०७६÷७७ मा १२ प्रतिशतमा खुम्चिएको छ । सेयर बजारमा वित्तीय क्षेत्रको हिस्सा अधिक छ ।
अर्थमन्त्री खतिवडाका कार्यकालमा लगानीकर्ताहरुले आफ्ना माग पुरा गराउन आमरण अनसनसम्मको नीति लिए । सेयर दलाल व्यवसायीहरुले पनि कारोबार रोकेर सरकारी कदमको विरोध जनाउन पुगे ।
उता, अर्थमन्त्री खतिवडाले २०७५ मंसीर २० मा डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा मुद्रा तथा पुँजी बजारमा देखिएका समग्र प्रवृत्तिको अध्ययन गर्न समिति गठन गरे । समितिले पनि ५८ बुँदे निकायगत सुझाव दियो । समितिले दिएका कतिपय सुझाव कार्यान्वयन भए भने कतिपय अझै कार्यान्वयनको पर्खाइमा छन् ।
खतिवडा मन्त्री बन्दा नेप्से सूचक १ हजार ३५८ अंक रहेपनि २०७५ फागुन १९ मा नेप्से ११००.५८ अंकसम्म झरेको छ । गत फागुनमा अर्थमन्त्री खतिवडाको समय सकिनै लाग्दा फागुन १८ गते नेप्से सूचक बढेर १६२०.२७ अंकमा चढेको थियो ।
तर, खतिवडा पुनः अर्थमन्त्री बनेसँगै गत असार १५ गते ११७८.१५ विन्दुमा ओर्लेको थियो । खतिवडाको आगमन र बहिगमर्नको चर्चामा बजार बढी नै चलायमान हुने गरेको छ ।
दुई साता निरन्तर बढेको बजारमा नाफा बुक गर्ने समूह सक्रिय हुने सम्भावना पनि छ । अहिले बैंक तथा वित्तीय संस्थामा तरलता पर्याप्त भएकाले सेयर कर्जा दिन विभिन्न स्किमहरु ल्याइरहेका छन् । ब्याजदर पनि घट्दो छ । बैंक तथा वित्तीय संस्थाको लगानी पनि अन्य क्षेत्रमा संकुचित हुँदा सेयर बजारमै केन्द्रित हुन थालेको छ ।