काठमाडौं । बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत जमानी (पर्सनल ग्यारेन्टी) फेस भ्यालूमा ८ प्रतिशतमै ऋण प्रवाह गरिरहेको अवस्थामा मुद्धति धितो राखेर ऋण लिन खोज्दा १३ प्रतिशत ब्याज लिने गरेका छन् ।
जबकि, फेस भ्यालूको तुलनामा मुद्धति धितो कयौं गुणा सुरक्षित हो । तर, पनि मुद्धति धितो राखेर ऋण लिन खोज्दा बैंकले १३ प्रतिशतसम्म ब्याज लिने गरेको व्यवसायीहरुको गुनासो छ ।
‘मुद्धति धितो राखेर बजारमा चलेअनुसारको ब्याजदरमा किन ऋण नपाउने ?’ उद्योगी वीरेन्द्र साहले भने, ‘ बैंकहरुले अहिले फेस भ्यालू ८ प्रतिशत हाराहारी वा आधारदर भन्दा कममै ऋण दिइरहेका छन् । जबकि, सतप्रतिशत सुरक्षित र बैंकको जोखिम शुन्य हुने मुद्धति धितो राखेर ऋण लिंदा बैंकहरुले अहिले पनि १३ प्रतिशतसम्म ब्याज लगाउँछन ।’
आफ्नो मुद्धतिको ९० प्रतिशतसम्म बैंकले ऋण दिन्छ । तर, अत्यधिक महँगो ब्याज लगाउने गरेको उद्योगीहरु बताउँछन् । पर्सनल ग्यारेन्टी भनेको अत्यधिक जोखिम मोलेर ऋण दिनु हो । ‘तर, मुद्धति भनेको नगद धितो राखेर नगद लिन खोजेको हो,’ उनले भने, ‘तर, पनि बैंक बजारमा चलनचल्तीको ब्याजमा ऋण दिँदैन् ।’
बैंकले राम्रा–राम्रा ऋणीलाई पर्सनल ग्यारेन्टीको भरमा ८ प्रतिशतमै ऋण दिइरहेका छन् । पर्सनल ग्यारेन्टी भनेको फेस भ्यालू हो । त्यो व्यवसायी जुनसुकै बेला डुब्न सक्छ । त्यस्तो अवस्थामा बैंकको सम्पूर्ण लगानी डुब्छ ।
बैंकले यदि मुद्धति धितो राखेर अहिले चलिरहेको ब्याजदरमा ऋण दिन्छ, भने भोलि त्यो ऋणी डुबेको अवस्थामा पनि उसले त्यो मुद्धतिलाई जफत गर्न सक्छ । यसले बैंकको जोखिम शुन्य हुने उद्योगीहरु बताउँछन् । फेस भ्यालुमा दिने ऋण सुरक्षित होइन । कर्पोरेट भाषामा त्यो असुरक्षित ऋण हो । तैपनि बैंकले ऋण दिइरहेको छ ।
भैरहवाका एक व्यापारीका अनुसार अहिले पनि मुद्धति धितो राखेर ऋण लिनु पर्यो भने १३ प्रतिशत ब्याज तिर्नुपर्ने अवस्था छ । जबकि ऋणको ब्याज घटेर ७ देखि ८ प्रतिशतमा आइपुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार मुद्धति धितो राखेर ऋण लिन पाइने भए पनि कुपन रेटभन्दा एकदेखि डेढ प्रतिशत बढी तिर्नुपर्ने हुन्छ । बैंकले जुन ब्याजदरमा मुद्धति संकलन गरेका छन्, त्यो भन्दा तल झरेर मुद्धति धितो लिएर ऋण दिन नपाइने व्यवस्था गरेकाले बैंकले सोही अनुसार महँगो ब्याज लिएका छन् ।
नेपाल बैंकर्स संघका अनुसार केन्द्रीय बैंकले यस्तो प्रावधान बनाएकाले मुद्धति धितो राखेर ऋण दिँदा बढी ब्याज लिनु परेको हो । केही वर्ष अघिसम्म बैंकहरुमा अस्वस्थ अभ्यास थियो । ठूलो बैंकले कम ब्याज दिने तर, नयाँ खुलेका वा भरखरै आएका बैंकले बढी ब्याज दिने प्रचलन बढ्यो । मुद्धति आफ्नोमा आकर्षित गर्न पनि बढि ब्याज दिनै पर्छ ।
त्यो बेला सानो बैंकमा लगेर डिपोजिट गर्ने र ठूला बैंकसँग ऋण लिने प्रचलन बढ्न थाल्यो । त्यही प्रवृत्तिलाई रोक्न केन्द्रीय बैंकले यस्तो नियम ल्याएको हो । तर, आजको अवस्था फरक छ । आज साना वा ठूला बैंकले ब्याजदरमा कार्टेलिङ गरिसकेका छन् ।
अहिले सिभिल बैंक वा नबिल बैंक जहाँ पैसा राखे पनि बराबरी ब्याज पाइन्छ । यस्तो अवस्थामा केन्द्रीय बैंकले आवश्यक कदम चाल्नुपर्ने उद्योगीहरु बताउँछन् ।
कुपन रेटमा कार्टेलिङ भइसकेपछि अब पहिला बनाइएको नियम (एक प्रतिशत वा डेढ प्रतिशत) कुपन रेटभन्दा बढी ब्याजदरमा ऋण लिनुपर्ने व्यवस्था अब उपयुक्त नभएको उनीहरुको भनाइ छ ।