काठमाडौं । लकडाउनले बन्द भएका उद्योगहरु क्षमताअनुसार चल्न नसक्दा ९० प्रतिशत अहिले ‘क्यास लस’मा छन् ।
क्यास लस हुने बित्तिकै उद्योगीलाई बैंकको किस्ता र ब्याज तिर्ने, राज्यलाई कर बुझाउन र कर्मचारीलाई तलबसुविधा कसरी दिने भन्ने चिन्ताले सताएको छ ।
उद्योग आफै क्सास लसमा छ । कोरोनका कारण जति लस भएको छ, त्यो ओभरनाइट कभर हुँदैन । रातारात बजारमा माग पनि बढ्दैन । यदी देश आजबाटै कोरोनामुक्त भयो भने चैत ११ अघिको अवस्थामा बजार आउनलाई ६ महिनादेखि एक वर्षसम्म लाग्छ ।
उद्योगी व्यवसायीले कम्तिमा २ वर्षको साँवा र ब्याजलाई सरकारले पुँजीकरण गरेर अन्तिम किस्तामा लगिदिने, वर्तमान ऋणको संरचनालाई पुनर्सरचना गर्नुपर्ने माग गरेका छन् ।
नेपाल राष्ट्र बैंकले २ वर्षको सबै किसिमको किस्ता र ब्याजलाई अन्तिम किस्तामा लैजानुपर्ने उद्योगीहरु बताउँछन् ।
उद्योगीले ८ वर्षका लागि बैंकबाट ऋण लिएका छन् भने यो दुई वर्षको अवधिमा जुन किस्ता र ब्याज आउँछ, त्यो ८ वर्षको अवधिलाई २ वर्ष थपेर १० वर्ष बनाउनु माग गरेका छन् ।
अहिलेको आर्थिक क्षेत्र रिकभर हुन कम्तिमा २ वर्ष लाग्छ । गएको २०७७ बैशाखदेखि २०७९ चैत मसान्तसम्म आउने ब्याज किस्तालाई अन्तिममा किस्तामा गरेर दुई वर्ष थप गर्नुपर्ने अम्बे ग्रुपका अध्यक्ष हरि न्यौपानेले बताए ।
‘यो सहयोग प्राइमरी हो । यसलाई केन्द्रीय बैंकले तत्कालै गर्न सक्छ । यो गर्दा कसैलाई पनि नोक्सान पर्दैन’ उनले भने, ‘बैंकले पाउने किस्ता ब्याज पाइहाल्छ ।’
९० प्रतिशत उद्योग क्यास लस भएको अवस्थामा उद्योगीले २ वर्षसम्म बैंकको ब्याज र किस्ता तिर्नु परेन । ‘अहिले उद्योगीसँग पैसा नै छैन, कहाँबाट बैंकलाई बुझाउने ?’ भैरहवाका उद्योगी राजेश अग्रवालले भने, ‘अहिलेदेखि आगामी २ वर्षसम्म बैंक किस्ता वा ब्याज नमाग्ने अवस्था आयो भने उद्योगीलाई केहीहदसम्म राहत हुन्छ ।’
केन्द्रीय बैंकले यसो गरिदिएमा उद्योगीलाई बैंकलाई बुझाउने किस्ता र ब्याजको मार परेन । अहिले उद्योगीसँग क्यास फ्लो शुन्य छ ।
मानौ, चैत अघिसम्म एउटा उद्योगले महिनाको ३ करोड रुपैयाँका मालसामान बिक्री हुन्थ्यो । त्यसमध्ये ५० लाख कर्मचारीको तलब जान्थ्यो, ५० लाख रुपैयाँ ब्याजमा जान्थ्यो । १ करोड ८० लाखको कच्चा मालसामानको भुक्तानी हुन्थ्या्े र २० करोड लाख रुपैयाँ उद्योगको नाफा हुन्थ्यो ।
दुई महिना त पूर्ण रुपमा उद्योग बन्द भइहाल्यो । चले पनि ३ करोडको बिक्री घटेर डेढ करोडमा झर्यो । बजारमा माग आधा कम भयो । माग कम हुँदा कच्चा पदार्थ ९० लाख रुपैयाँबराबरको आउँछ । तर, ब्याज, किस्ता र तलब पुरानै अवस्थामा बुझाउनुपर्छ । २० लाख नाफामा भएको उद्योग ३० लाख रुपैयाँ नोक्सानमा अहिले उद्योग छन् ।
एक उद्योग क्यास लसमा आइसक्यो । दोस्रो उद्योगले बैंकको ब्याज किस्ता बापत बैंकलाई महिनाको ५० लाख रुपैयाँ तिर्नुपर्ने छ । भनेपछि उद्योगीले महिनाको ५० लाख कहाँबाट ल्याउने ? अग्रवालले भने ।
यो छुट दिनुपर्यो भनेको होइन । २ वर्षसम्म ब्याज र किस्ता नलिने व्यवस्था मिलाउन मात्रै माग गरेको उद्योगीहरुको भनाइ छ । दुई वर्षपछि तङ्ग्रिएर कमाएर तिर्छौ, त्यसका लागि मौका मागेको उनीहरुको भनाइ छ ।