काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात वर्षभरी कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा तथा वितरण गर्न नपाउने भएका छन्।
आर्थिक वर्ष सुरु भएको साउनदेखि असारसम्मको १२ वटा महिनाको कुनैपनि महिनामा केन्द्रीय बैंकले तोकेको पूँजीकोष अनुपात कायम गर्न नसक्ने बैंकले नगद वा बोनस कुनैपनि लाभांश वितरण गर्न पाउने छैनन् ।
केन्द्रीय बैंकले मंगलबार एकीकृत निर्देशन जारी गरी न्युनतम पूँजीकोष कायम नगर्ने वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुलाई लाभांश घोषणा तथा वितरण गर्न रोक लगाएको हो ।
इजाजतपत्रप्राप्त संस्थाले कुनै आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्न नसकेको भएता पनि सोही आर्थिक वर्षको अन्त्यमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम भएको आधारमा नगद लाभांश तथा बोनस शेयर घोषणारवितरण गर्न नपाइने निर्देशनमा उल्लेख गरेको छ ।
केन्द्रीय बैंकका अनुसार प्रत्येक महिनाको मसान्तको वित्तीय विवरणका आधारमा तोकिएको ढाँचामा तयार गराई आन्तरिक लेखापरिक्षकबाट प्रमाणित गराई रिर्पोटिङ्ग पोर्टल मार्फतप्रत्येक महिना समाप्त भएको १५ दिनभित्र केन्द्रीय बैंकमा पठाउनुपर्ने व्यवस्था रहेको छ।
सो व्यवस्थामा कडाई गर्दै केन्द्रीय बैंकले आर्षिक वर्षैभरिका सबै महिनामा तोकिए बमोजिम पूँजीकोष अनुपात कायम गर्ने संस्थालाई मात्र लाभांश (बोनस वा नगद) वितरण गर्नसक्ने नीति लिएको हो ।
केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई न्यूनतम ११ प्रतिशत, ‘ख’ वर्गका विकास बैंकलाई १० प्रतिशत र ‘ग’ वर्गका फाइनान्स कम्पनीलाई ९ प्रतिशत पूँजीकोष अनुपात तोकेको छ ।