काठमाडौं । निषेधाज्ञाका बीचमा पनि निजीक्षेत्रलाई कर तिर्न ताकेता गरेको सरकारले बन्द बैंकका काउन्टर खुला गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलवारदेखि बिहीवारसम्म राजस्व संकलन गर्ने सबै शाखा तथा काउन्टरहरू खोल्न निर्देशन दिएको थियो ।
केन्द्रीय बैंकको उक्त निर्देशनसँगै मंगलवार काठमाडौं उपत्यकासहित देशभर बैंकका शाखा कार्यालय तथा काउन्टर खुलेका छन् ।
राष्ट्र बैंकका अनुसार अहिलेसम्म बैंकहरूले सीमित शाखा कार्यालय मात्रै खोलेर सेवा दिइरहे पनि कर तिर्न सहज गर्ने हिसाबले अन्तिम दिन सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिइएको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले कर तिर्ने समय बिहीवारसम्म मात्रै भएका कारण बैंकमा धेरै भीडभाड नहोस् भनेर सहज गरिएको बताए । उनका अनुसार तीन दिनसम्म काउन्टरहरू सहज रूपमा खुल्नेछन् ।
काउन्टर खुले पनि मंगलवार पहिलो दिन चहलपहल भने खासै देखिएन । राजस्व संकलन पनि अरू दिनभन्दा खासै हुन नसकेको आन्तरिक राजस्व विभागका अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार मंगलवार ५० करोडभन्दा बढी राजस्व संकलन भएको छैन ।
विभागका महानिर्देशक विनोदबहादुर कुँवरले बन्द बैंकहरू खुलाएर कर तिर्न सहजीकरण गरिएको भन्दै अन्तिम समयमा कर बुझाउनेहरू बढ्ने बताए । उनका अनुसार निजीक्षेत्रले म्याद थप्न आग्रह गरे पनि अर्थ मन्त्रालयबाट कुनै निर्णय नभएकाले तत्काल म्याद थपिनेछैन ।
उनका अनुसार विभागले सूचना जारी गर्दै भ्याटको विवरण बुझाउन भनिसकेको छ । कानून अनुसार भ्याटको विवरण बुझाउने मिति असार मसान्तसम्म हुने भएकाले करदाताले कर बुझाउनुपर्ने अवधि नाघे जरीवाना लाग्ने उनको भनाइ छ ।
सरकारले साउनको पहिलो सातादेखि बन्दाबन्दी हटाएसँगै चालू आर्थिक वर्षको पहिलो महीना राजस्व असुली लक्ष्यनजिक पुगेको थियो । तर, राजधानी काठमाडौंसहित मुलुकका प्रमुख व्यापारिक तथा औद्योगिक केन्द्रहरू अहिले निषेधाज्ञामा रहेकाले राजस्व संकलन खस्किरहेको छ ।
विभागका अनुसार भदौ महीनामा निषेधाज्ञाका कारण राजस्व संकलनमा ठूलो कमी आइसकेको छ ।
निजीक्षेत्रले भने निषेधाज्ञाको समयमा कर तिर्न बैंक र कर विवरणका बुझाउन कागजत कार्यस्थलमा रहकाले सो स्थलसम्म पुग्नै नसक्ने अवस्था रहेको बताउँदै आएको छ ।
आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा अहिले निषेधाज्ञा जारी रहेकाले कर तिर्ने समय सार्नेदेखि निषेधाज्ञा खुकुलो गरेर उद्योग–व्यवसाय सञ्चालनसम्मको माग उद्योगीहरूले राखेका थिए ।