काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर नतिर्नेको नागरिकता नम्बर र स्थायी लेखा नम्बर (प्यान) सार्वजनिक हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गरी कर्जा लिएर नतिर्ने व्यक्तिगत ऋणीको नागरिक नम्बर र संस्थागत ऋणीको प्यान नम्बर सहितको विवरण सार्वजनिक गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
सर्वसाधारणको निक्षेप रहेको बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई नतिर्ने क्रम बढेपछि राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।
तीनपुस्ते विवरण र संस्थाको हकमा सञ्चालकको विवरण मात्र प्रकाशित हुँदै आएकोमा अब आर्थिक वर्षको असार र पुस मसान्तभित्र १ करोड रुपैयाँभन्दा बढी रकम ऋण तिर्न बाँकी रहेकाको सूची साउन र माघ महिनाभित्र सार्वजनिक गर्नुपर्ने भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले कालोसूचिका ऋणीहरुको विवरण कर्जा सूचना केन्द्रमा उपलब्ध गराउनुपर्ने र केन्द्रले प्रत्येक वर्षको साउन र माघ महिनामा गरी दुई पटक राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक गर्ने छन ।
सो जानकारी केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग तथा सम्बन्धित सुपरिवेक्षण विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र धितोपत्र वोर्डलाई समेत उपलब्ध गराउनु पर्ने भएको छ ।
अन्य व्यक्तिहरुको नामावलीको हकमा कर्जा सूचना केन्द्रले सर्वसाधारणलाई आवश्यक परी माग गरेमा शुल्कलिई वा नलिई त्यस्तो सूचना उपलब्ध गराउनु पर्ने भएको छ । साथै, कालोसूचीमा समाविष्ट व्यक्तिहरुको अद्यावधिक सूचना केन्द्रले अनिवार्य रुपमा आफ्नो वेव साइटमा राख्नु पर्ने छ ।