काठमाडौं । गत असार १५ गते नेपाल रि–इन्स्योरेन्स कम्पनी (एनआरआइसी)को नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार सुरु भएको थियो । कारोबार सुरु भएको केही दिनपछि नेपाल रि–इन्स्योरेन्सको सेयर मूल्य निरन्तर बढिरहेको मात्रै छैन सबैभन्दा बढी रकमको कारोबार हुँदै आइरहेको छ ।
सूचिकृत भएदेखी नै नेपाल रि–इन्स्योरेन्स कारोबार रकमका हिसावले पहिलो कम्पनी सावित भईरहेको छ । बुधबार पनि नेपाल रिको सेयर मूल्य प्रतिकित्ता ३२ रुपैयाँले बढेर ८ सय ९१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यसैगरि सबैभन्दा बढी सेयर कित्ता कारोबार हुने कम्पनीमा तेस्रो रहँदै सबैभन्दा बढी रकमको कारोबार हुने कम्पनीमा दरिएको छ । बुधबार २ लाख ५३ हजार २५९ कित्ता सेयर खरिद बिक्री भई २२ करोड ३१ लाख २२ हजार २८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसरी लगातार नेपाल रि–इन्स्योरेन्सको मात्र मूल्य बढ्ने र सबैभन्दा बढी कारोबार हुने क्रम किन भइरहेको छ ? त्यसको पहिलो कारण कम्पनीले पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने हल्ला चलेको छ । आउँदो ७ औं वार्षिक साधारणसभाले चुक्तापूँजी बढाउन हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्ने अनुमान लगानीकर्ताको छ ।
यसले गर्दा लगानीकर्ताहरु नेपाल रि–इन्स्योरेन्सको सेयर किन्न झुम्मिएका हुन । कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेपछि चुक्तापुँजी १० अर्ब रुपैयाँ छ । कम्पनीमा सरकार, बीमा कम्पनीहरु र सर्वसाधारणको लगानी छ ।
दोस्रो कारण नजिकिंदो साधारणसभा हो । साधारणसभाले नयाँ सञ्चालकको चयन गर्ने भएपछि कम्पनीको सञ्चालक बन्न केही समूहहरुले ठुलो परिमाणमा सेयर उठाइरहेका छन् । आफू अनुकुलको सञ्चालक पठाउन लगानीकर्ताले अधिकतम सेयर होल्ड गर्ने प्रबृत्ति बढेको छ ।
त्यस्तै, गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीले चालू वर्षमा लाभांश पाउने संभावना छ । अघिल्लो वर्षसम्म लाभांश नबाँडेको कम्पनीले गत वर्षको नाफाबाट बाँड्न पाउँछ ।
कम्पनी स्थापना हुँदा आफ्नो व्यवसाय गर्दा बचत भएको रकम कम्तिमा ५ वर्षसम्म नाफाको रुपमा बाँडफाँड नगरी अनिवार्य रुपमा जगेडा कोषमा राख्नु पर्ने व्यवस्था गरिएका कारण लाभांश वितरण नभएको हो ।
लाभांश बाँड्ने निषेध अवधि सकिएकाले लगानीकर्तामा राम्रो लाभांश घोषणा हुने अपेक्षा छ । कम्तिमा १५ प्रतिशत लाभांशको अनुमान लगानीकर्ताको छ ।
कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गरेपनि चौथो त्रैमाशको बाँकी छ । यसपछि लाभांश स्पष्ट हुने छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले जीवन तथा निर्जीवन पुर्नबीमा व्यवसाय गरेर १ अर्ब १७ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
गत आर्थिक वर्षमा यो नाफा बढ्ने अनुमान गरिएको छ । यद्यपी, गत आर्थिक वर्षको तेस्रो त्रैमाशमा कम्पनीले ९१ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको छ । जगेडा कोषमा साढे ३ अर्ब ३१ करोड रुपैयाँ छ ।
अर्कोतिर नेपालमा एक मात्र रि–इन्स्योरेन्स कम्पनी भएकाले बिमा कम्पनीहरु बढेसँगै यसको व्यवसाय पनि बढ्दै गएको छ । सरकारले नै सबै बिमा कम्पनीहरुले कम्तीमा २० प्रतिशत पुनर्बिमा नेपाल रि–इन्स्योरेन्समा गर्नुपर्ने व्यवस्था गरेको छ । यसले गर्दा बिमा कम्पनीहरुको कारोबार बढ्दै जाँदा नेपाल रिको स्वभाविक रुपमा कारोबार बढ्ने देखिन्छ ।
त्यसैगरी पछिल्लो समय कम्पनीले विदेशी रि–इन्स्योरेन्स कम्पनी र अन्य बिमा कम्पनीहरुसँग पनि व्यवसायमा साझेदारी गर्न थालेकाले आगामी दिनमा लगानीकर्ताका लागि ‘ब्लूचीप’ कम्पनी हुने भन्दै सेयर उठाइरहेका छन् । अहिले १९ जीवन बिमा कम्पनी र २० निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् ।
सेयर मूल्य बढ्दै गएपछि बजार पुँजीकरणमा नेपाल रि दोस्रो ठुलो कम्पनी भएको छ । पुँजीकरणका आधारमा नेपाल रिले नबिल बैंकलाई पछि पारेको छ । नेपाल रिको बजार पुँजीकरण बढेर ८८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।
जबकी नबिलको ८६ अर्ब ७३ करोड रुपैयाँ बजार पुँजीकरण छ । सबैभन्दा बढी बजार पुँँजीकरण नेपाल टेलिकमको १ खर्ब ८ अर्ब ३० करोड रुपैयाँ छ ।