काठमाडौं । नेपाल धितोपत्र बोर्डले संस्थागत परामर्श सेवा (कर्पोरेट एडभाइजरी) दिने अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकरहरुलाई नयाँ निर्देशन जारी गरेको छ ।
बोर्डले मर्चेन्ट बैंकरहरुको कार्य थप व्यवस्थित एवं प्रभावकारी रुपमा संचालनका लागि नयाँ निर्देशन ल्याएको हो । मर्चेन्ट बैंकरले दिने परामर्शका लागि संस्थामा योग्य व्यक्ति हुनुपर्ने, आवश्यक योग्य जनशक्ति र त्यही अनुसारको भौतिक पूर्वाधार बनाउनुपर्ने बोर्डले निर्देशनमा उल्लेख गरेको छ ।
मर्चेन्ट बैंकर्सको प्रशासनिक विनियमावली, कर्पोरेट एडभाइजरी पोलिसी, कर्मचारी आचारसंहिता लगायत नीतिगत काम गर्नुपर्ने व्यवस्था छ । बोर्डले संस्थागत परामर्श सेवा प्रदान गर्ने मर्चेन्ट बैंकरहरुले तोकिएको संरचना ६ महिना भित्र तयार पार्न भनेको छ ।
सीईओले अर्थशास्त्र वा वाणिज्य वा वित्त वा लेखा वा व्यवस्थापन वा वाणिज्य कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्था बाट कम्तिमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको हुनेपर्ने प्रावधान समेत ल्याएको छ ।
यसैगरी उद्योग, वाणिज्य वा धितोपत्र बजार वा वित्तीय क्षेत्रमा लेखा वा वित्त वा वाणिज्य कानुन वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तिमा ३ वर्ष कार्य गरेको अनुभव भएको हुनुपर्ने व्यवस्था गरेको छ ।
धितोपत्र व्यवसाय संचालन सम्बन्धी परामर्श सेवाका लागिका लागि कम्तिमा वाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापनमा स्नातकोत्तर गरेको, कम्तिमा कानून विषयमा स्नातकोत्तर गरेको र चार्टर्ड एकाउन्टेन्सी वा फाइनान्सियल एनालिष्ट गरेको व्यक्ति सीईओ हुनुपर्ने छ ।