मङ्गलबार, कात्तिक २ २०७८ ०४:४५ AM

×

बौरिँदै वैदेशिक रोजगार, आउन थाल्याे डिमाण्ड

images

काठमाडौं । कोभिडका कारण विगत दुई वर्षभन्दा बढी समयदेखि सुस्ताएको वैदेशिक रोजगार व्यवसाय विस्तारै बौरिन थालेको छ । विश्वका अधिकांश मुलुकमा कोभिडको संक्रमण दर घट्दै गएको र खोपको प्रभावकारिता बढेसँगै वैदेशिक रोजगारीमा जानेको संख्या दैनिक रुपमा बढेको हो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले नेपालीहरूको प्रमुख श्रम गन्तव्यहरूले विस्तारै कामदारको माग बढाउन लागेको बताए । नेपालमा पनि खोपको मात्रामा पूरा गर्नेहरूको संख्या बढेको र विदेशमा पनि विस्तारै अर्थतन्त्र चलायमान गराउन लागेकोले माग विस्तारै बढेको उनको भनाइ छ ।

संघमा आएको जानकारीअनुसार अहिले सबैभन्दा बढी कतार र साउदी अरबबाट डिमाण्ड बढी आएको छ । कतारमा हुन लागेको विश्वकपका कारण पनि धेरै नेपालीहरूलाई अहिले रोजगारीका लागि विभिन्न पदमा कामदारहरू माग हुँदै आएको छ ।

हुन त कोभिडकै बीचमा केही म्यानपावर कम्पनीहरूले कतार प्रहरीमा भर्ना गर्ने भन्दै केही मागहरू भने ल्याएका थिए । तर, बीचमा विवाद भएपछि रोकिएको थियो । ती मुलुकमा यसअघि पनि धेरै नेपालीहरू श्रम गर्न जाने गरेका थिए ।

योसँगै साउदी अरबमा पनि नेपालीहरूको माग धेरै रहेको जनाएको छ । संघका महासचिव श्रेष्ठले त्योसँगै अन्य मुलुकहरूबाट पनि डिमाण्ड आउने क्रम बढेको बताए । विगतका वर्षहरूको अवस्थामा अहिलेको मागलाई सकारात्मक रुपमा लिनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

खाडी मुलुकसँगै मलेसियाले पनि नेपाली कामदारहरू लैजाने विषयमा चासो देखाउँदै आएको छ । कोभिड अघिबाटै कामदार लिन रोकेको मलेसियाका केही कम्पनीहरूले भने नेपालीलाई लैजाने विषयमा छलफल भइरहेको महासचिव श्रेष्ठले जानकारी दिए ।

तत्कालीन श्रममन्त्री गोकर्ण विष्टको निर्णयको कारण रोकिएको त्यहाँको रोजगारी सञ्चालनका लागि विभिन्न तहमा यसअघि धेरैपटक छलफल भएको थियो । पछि कोभिडका कारण त्यहाँको सरकारले तत्कालै कामदार नलिने घोषणा गरेको थियो ।

वैदेशिक रोजगार कार्यालय, ताहाचलका सूचना अधिकारी राजेश उप्रेतीले केही समययता श्रम स्वीकृति लिनेको संख्या बढेको बताए । उनले अहिले दैनिक रुपमा १ हजारदेखि १२ सय जनासम्मले श्रम स्वीकृति लिने गरेको बताए ।

लामो समयदेखि रोकिएको वैदेशिक रोजगार खुलेसँगै श्रम कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत भीड बढ्न थालेको छ । विमानस्थलमा भीड बढेको भन्दै आइतबार सूचना जारी गरेर आफन्तलाई बिदाइ वा स्वागत गर्नकै लागि नआउन समेत अनुरोध गरेका छन् ।

 

सोमबार १८ असोज २०७८ १२:५२ PM मा प्रकाशित

प्रतिक्रिया