काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यवसायजन्य रोगको उपचार हुने कानुनी व्यवस्था गरी राजपत्रमा सूची प्रकाशित गरेको छ। सरकारले श्रम नियमावली, २०७५ अनुसार रोगको सूची राजपत्रमा प्रकाशित गरेको हो।
रोजगार विभागका प्राविधिक निर्देशक एवं सूचना अधिकारी मणिनाथ गोपले धेरै वर्षको प्रयासपछि व्यवसायजन्य सुरक्षा रोगको सूची प्रकाशन गरिएको र कार्यान्वयनका लागि सम्बन्धित विशेषज्ञ चिकित्सक सम्मिलित समितिले मापदण्ड निर्माण गर्ने जानकारी दिए।
समितिले सिफारिस गरेपछि सूचीकृत अस्पतालबाट वैदेशिक रोजगारीमा रहेर स्वदेश फर्किएकालाई निःशुल्क उपचार व्यवस्था हुनेछ।
सरकारले प्रकाशन गरेको व्यवसायजन्य रोगको सूचीलाई तीन समूह र आठ श्रेणीमा विभाजन गरिएको छ। यिनमा कार्यगतिविधि, एजेन्टको सम्पर्क, रासायनिक, भौतिक, जैविक, संक्रामक वा परजीवी रोग रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, क्रोमियम, लिड (सिसा), पारो (मर्करी), बेन्जिन, श्वासप्रश्वासमा अवरोध गर्ने ग्यास, सल्फर अक्साइड, जिंक, अर्गानिक सोल्भेन्ट्स, क्लोरिन र अन्य फार्मास्युटिकल एजेन्टबाट हुने रोग छन्। भौतिक कारणले हुने रोगमा श्रवणशक्ति ह्रास, विकिरणको असर, अत्यधिक तापक्रममा काम गर्दा हुने स्वास्थ्य समस्यालगायत छन्।
यस्तै व्यवसायजन्य क्यान्सरमा एस्बेस्टोस, क्रोमियम, कोइला टार्स, कोइला टार पिच वा सुट्स, बेन्जिन, आयोनिक विकिरण, टार, पिच, बिटुमेन, खनिज, तेल काठको धुलो, आर्सेनिक र यसका कम्पाउन्ड, क्याडमियम र हेपाटाइटिस ‘बी’ ‘सी’ भाइरसजस्ता तत्त्वको सम्पर्कमा आउने कामलाई क्यान्सरको जोखिमयुक्त मानिएको छ।
श्रम ऐन, २०७४ मा कुनै व्यवसायजन्य रोग लागे प्रतिष्ठानले त्यस्तो रोगको उपचारका लागि तोकिएबमोजिमको उपचार खर्च तथा त्यस्तो रोगको उपचार हुन नसक्ने भए तोकिएबमोजिमको क्षतिपूर्ति रकम श्रमिकलाई दिनुपर्ने प्रावधान छ।