सोमबार, माघ ३ २०७८ ११:०० PM

×

साझाका विद्युतीय बस काठमाडौं भित्रिँदै, पुलचोकमा चार्जिङ स्टेसन 

images

काठमाडौं । साझा यातायातले आगामी आर्थिक वर्षबाट काठमाडौं उपत्यकामा ४० वटा विद्युतीय (इलेक्ट्रिक) बस सञ्चालन गर्ने तयारी थालेको छ । त्यसका लागि ४४ करोडभन्दा बढी लगानी हुने साझाले जनाएको छ । 

आगामी ३ महिनाभित्रै ३ वटा विद्युतीय बस परीक्षण हुने साझा यातायातका सञ्चालक समिति सदस्य भुषण तुलाधरले बताए । गत चैत १३ गते ४० वटा विद्युतीय बस खरिदका लागि साझाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । 

सोही बोलपत्रअनुसार साझाले ४० वटा विद्युतीय बस सञ्चालन गर्न लागेको हो । ४० वटा बसमध्ये ३ वटा यो वर्षको चैतसम्म नेपाल भित्रिने र बाँकी आगामी आर्थिक वर्षको भदौसम्ममा आइपुग्ने तुलाधरले बताए । उनले भने, ‘परीक्षणका लागि अबको ३ महिनामा ३ वटा बस नेपाल आउँछन् भने बाँकी आइपुग्न भदौ लाग्छ ।’

यसरी हेर्दा आगामी भदौसम्ममा उपत्यकाभित्र साझा यातायातका ४० वटै विद्युतीय बसहरु आइपुग्छन् । साझाले आह्वान गरेको बोलपत्रमा चिनका विभिन्न ९ कम्पनीले २०७८ असार १८ गते बोलपत्र बुझाएका थिए । 

तर, सम्झौता भने सीएचटीसी कम्पनीसँग भएको छ । बोलपत्रको मूल्यांकन गरी सबै प्राविधिक स्पेसिफिकेसन मिलेको र कम मूल्य कबोल गरेकाले सीएचटीसीसँग सम्झौता गरेको साझाले जनाएको छ । सम्झौतामा बससँगै आवश्यक चार्जरहरु खरिद गरी ५ वर्षसम्मको मर्मत सम्भारसमेत गर्ने उल्लेख छ । 

उक्त सम्झौता पत्रमा साझा यातायातकी सञ्चालक समिति सदस्य बन्दना थापा र सीएचटीसीका नेपाल प्रतिनिधि एनईभी नेपालका प्रबन्ध निर्देशक राजन रायमाझीले हस्ताक्षर गरेका छन् । 

४० विद्युतीय बस र तिनलाई आवश्यक पर्ने २० वटा चार्जिङ स्टेसनका लागि करिब ४४ करोड ८६ लाख २६ हजार रुपैयाँ र विद्युतीय बस सञ्चालनका लागि आवश्यक तालिम तथा ५ वर्षको मर्मतसम्भार एवम् स्पेयर पार्टस्का लागि ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ साझाले सीएचटीसीलाई बुझाउनु पर्र्ने हुन्छ । 

साझाले ल्याउन लागेका विद्युतीय बस २६ सिट क्षमतासहित अपाङ्गमैत्री पनि हुनेछन् । ती बस एकपटक फुल चार्ज गरेपछि ४२ भन्दा बढी यात्रु लिएर २०० किलोमिटर गुड्न सक्छन् । 

विद्युतीय बसको खरिदले खनिज पदार्थको प्रयोगलाई स्वदेशी नवीकरणीय ऊर्जाले प्रतिस्थापन गरी देशको अर्थतन्त्रलाई टेवा दिने तथा वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुग्ने साझाले जनाएको छ ।

साथै आगामी दिनमा काठमाडौं उपत्यकासँगै देशका अन्य स्थानमा पनि विद्युतीय बस सञ्चालन गर्ने योजना रहे पनि कुन–कुन स्थानमा सञ्चालन हुन्छन् भन्ने निश्चित नभएको तुलाधरले बताए । ‘उपत्यका बाहिरका लागि पनि अध्ययनहरु भइरहेका छन्’ उनले भने, ‘तर, कहाँ सञ्चालन हुन्छ अहिले नै भन्न सकिँदैन ।’ 

हाल सञ्चालनमा रहेका डिजेल गाडीलाई पनि विद्युतीयमा परिवर्तन गर्ने योजना साझाले लिएको छ । अब विद्युतीय बस मात्रै खरिद गरेर सन् २०२५ भित्र साझाले आफ्ना सम्पूर्ण बसहरु प्रदूषणमैत्री बनाउनेसमेत जनाएको छ । 

सरकारले पनि विद्युतीय बस खरिद प्रक्रियाका लागि साझा यातायात (सहकारी लिमिटेड) लाई ३ अर्ब सेयर लगानी गरेको छ । हाल ४० वटा विद्युतीय बस खरिद गरी बाँकी रकम पनि विद्युतीय बसमा नै लगानी गर्ने तुलाधर बताउँछन् ।  

पुल्चोकमा चार्जिङ स्टेसन निर्माणाधीन 

साझा यातायतले ललितपुरको पुल्चोकमा चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । सामान्यतया ४० बसलाई २० वटा चार्जिङ स्टेसनको आवश्यकता पर्ने भए पनि हाल एउटा मात्रै निर्माणाधीन अवस्थामा छ । उक्त स्टेसनमा २० वटा चार्जर राखेर ४० वटा बस चार्ज गर्न मिल्ने तुलाधरको भनाइ छ । एउटा चार्जरबाट २ भन्दा बढी बस चार्ज गर्न नमिल्ने उनी बताउँछन् ।

यस्तै अन्य चार्जिङ स्टेसनहरुको निर्माण भने केही समयपछि सुरु हुनेछ । साथै अन्य स्टेसन निर्माण गर्न सरकारसँग जग्गाको विषयमा पनि छलफल गर्दै आएको तुलाधर बताउँछन् । बस नेपाल भित्रिएसँगै सामान आउने र निर्माणको प्रक्रिया अघि बढ्ने तुलाधरले बताए । 
 

बिहीबार २२ पुस २०७८ ०८:१२ AM मा प्रकाशित

प्रतिक्रिया