काठमाडौं । निरन्तर रेमिट्यान्स घट्दै जान थालेपछि नेपाल राष्ट्र बैंकले रेमिट्यान्स भित्राउने कम्पनीहरूसँग छुट्टाछुट्टै छलफल गर्न थालेको छ ।
पछिल्ला वर्षमा नेपाल भित्रिने रेमिट्यान्स घट्दै जान थालेपछि केन्द्रीय बैंकले यसको कारण कम्पनीहरूसँग माग्न थालेको हो ।
गभर्नर महाप्रसाद अधिकारी र विदेशी मुद्रा व्यवस्थापन विभागका प्रमुख कार्यकारी निर्देशक रामु पौडेलले रेमिट्यान्स कम्पनीका सञ्चालक तथा कर्मचारीलाई राष्ट्र बैंकमा बोलाएर जानकारी लिन थालेका हुन् ।
गत दुई महिनाअघिदेखि राष्ट्र बैंकले निरन्तर भिन्दाभिन्दै कम्पनीलाई छुट्टाछुट्टै बोलाएर जानकारी मागेको हो ।
विदेशी मुद्रा व्यवस्थापन विभाग प्रमुख पौडेलले रेमिट्यान्स घट्नु मुलुककै चासो भएको र यसमा राष्ट्र बैंकले पनि चासो राख्नु स्वाभाविक भएको बताएका छन् । आखिर रेमिट्यान्स किन घटिरहेको छ ? भन्ने विषयमा भिन्दाभिन्दै कम्पनीसँग छलफल गरेको उनको भनाइ छ ।
‘रेमिट्यान्स घट्दै जानु अर्थतन्त्रलाई पनि चिन्ताको विषय हो’, उनी भन्छन्, ‘विश्व श्रम–बजारलगायतका विषयमा छलफल मात्र भैरहेको हो ।’
२०२१ को १० महिना (२०२१ जनवरीदेखि अक्टोबरसम्म) मा विभिन्न रेमिट्यान्स कम्पनीमार्फत ३ अर्ब ४८ करोड ३० लाख ६२ हजार डलर रेमिट्यान्स भित्राएका थिए ।
गत वर्ष (२०२० फेबु्रअरीदेखि २०२१ फेबु्रअरीसम्म) मा कम्पनीमार्फत कुल रेमिट्यान्स ४ अर्ब ७९ करोड ९ लाख १० हजार डलर भित्रिएको थियो ।
नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागबाट प्राप्त जानकारीअनुसार नेपालमा रेमिट्यान्स भित्र्याउन ३८ कम्पनीले अद्यावधिक तथ्यांक राष्ट्र बैंकलाई उपलब्ध गराए पनि ३१ कम्पनीमार्फत मात्रै रेमिट्यान्स आएको छ ।
राष्ट्र बैंकबाट भने ५१ वटा कम्पनीले रेमिट्यान्स ल्याउनका लागि इजाजत लिएका छन् । यस्तै रेमिट्यान्स भित्र्याउन छुट्टै खोलिएका कम्पनीबाहेक बैंकहरूमार्फत पनि नेपालामा रेमिट्यान्स भित्रिने गरेको छ ।
चालू वर्षको ३ महिना (असोजसम्म) मा नेपालमा २ अर्ब २ करोड डलर रेमिट्यान्स भित्रिएको छ । गत वर्ष कुल ८ अर्ब १५ करोड डलर रेमिट्यान्स भित्रिएको थियो । सो रेमिट्यान्समध्ये आधाभन्दा बढी रकम रेमिट्यान्स कम्पनीमार्फत आउने गर्दछ ।
खास गरी विश्वव्यापी रूपमा देखिएको कोरोना महामारीका कारण वैदेशिक रोजगारी सुस्ताउँदा नेपाल भित्रिने रेमिट्यान्स रकम पनि घट्दै गएको छ ।
गत वर्ष ९.८ प्रतिशतले बढेको रेमिट्यान्स चालू वर्षको ३ महिनामा ७.६ प्रतिशतले ह्रास आएको छ ।