काठमाडौं। जेनजीको आन्दोलनका कारण काठमाडौंसहित देशका मुख्य सहर अशान्त बनिरहेको छ। यस क्रममा काठमाडौंसहित विभिन्न जिल्लामा कर्फ्यु र निषेधाज्ञा जारी भरहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपत्यका छाड्नेको संख्या बढिरहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बिहीबार १३० भन्दा बढी आन्तरिक उडान हुने तालिका रहेको बताए। हाल मौसम खराबीका कारण नियमित उडानमा केही समस्या आएको भए पनि यात्रुहरुको चाप भने बढ्दो रुपमा रहेको प्रवक्ता शेर्पाको भनाइ छ।
आन्तरिकसँगै अन्तर्राष्ट्रिय उडान पनि बढ्दो रहेको बताए। बुधबार दिउँसोदेखि खुलेको अन्तर्राष्ट्रिय उडान बिहीबार बिहान ४ बजेसम्ममा १० वटा उडान भएको छ।
सार्वजनिक यातायात सञ्चालन नभएकाले पनि धेरैले हवाई यात्रामार्फत बाहिरिने खोजेको हुन सक्ने उनको भनाइ छ।
अन्तर्राष्ट्रियसँगै आन्तरिक उडानमा काठमाडौं आउनेभन्दा जानेको संख्या धेरै रहेको बताइएको छ। बुद्ध एयरका दिपेन्द्र कर्णले बिहीबार काठमाडौं फर्किनेभन्दा बाहिरिने यात्रुहरुको चाप धेरै रहेको बताए।
सार्वजनिक यातायात सञ्चालन नभएकाले पनि धेरैले हवाई यात्रामार्फत बाहिरिने खोजेको हुन सक्ने उनको भनाइ छ। बिहीबार बिहानभन्दा दिउँसोबाट यात्रुको चाप बढेको उनले बताए।
२४ घण्टा विमानस्थल बन्द भएकाले धेरै यात्रुहरूले आवातजावत गर्न समस्या भइरहेको थियो। त्यसैले पनि बिहीबार बिहानबाट विमानस्थलबाट यात्रा गर्ने यात्रुहरूको संख्या बढेको यति एयरलाइन्सले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमको कारणले उडान र अवतरणमा केही समस्या भए पनि काठमाडौं छाडेर बाहिर जानेको संख्या धेरै रहेको यति एयरलाइन्सले जनाएको छ।