×

दुबईकाे सीप स्वदेशमै लगानी, बार र बारिस्टा ट्रेनिङ सिकाउने 'टीएन्डटी' एकेडेमी

images

काठमाडौं । पछिल्लो समय नेपालमा कफीका पारखी बढिरहेका छन् । ‘कफी कल्चर’ बढ्दो छ । हरेक समूह र उमेरका मान्छेहरू कफीको स्वादतिर लोभिएका छन् । पारखीको स्वाद मेटाउन र सेवा दिन सहरमा छ्यापछ्याप्ती क्याफे (कफी सप) पनि खुलिरहेका छन् । क्याफे खोल्न चाहिने आवश्यक ज्ञान र सीप प्रदान गर्न थुप्रै बारिस्ता र बार ट्रेनिङ सेन्टर (तालिम केन्द्र) समेत सहरमा खुलिरहेका छन् । 

नेपाली बजारमा बढ्दो रेष्टुराँ र कफी सपको कल्चरलाई जोड दिएर यस्ता सेन्टर खुलेका पाइन्छन् । र, तिनीहरु विभिन्न खालका हुन्छन् । कतिपय तालिम वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरी सञ्चालन हुन्छन् त कतिपपय स्वदेशमै काम गर्न चाहनेलाई वा गरिरहेकाहरूको स्तर वृद्धिका लागि । सोही उद्देश्यलाई नजिकबाट नियाल्दै  विगत एक वर्षदेखि सञ्चालनमा आएको ट्रेनिङ सेन्टर हो– ट्रिकी एन्ड टिप्सी ।

छोटकरीमा ‘टी एन्ड टी’ भनेर चिनिने बारटेन्डिङ बारिस्ता एकेडेमीले बार, बारिस्ता तथा स्किल ट्रेनिङ (क्षमता विकास) दिँदै आइरहेको सञ्चालकद्वय विजयेन्द्र सिंह रावत एवम् विनोद खड्का बताउँछन् । 

दुबईको १२ वर्षे बसाइँ टुंगाएर नेपाल फर्किएका विनोदले ‘ट्रिकी एन्ड टिप्सी’ को सम्पूर्ण जिम्मेवारी सम्हालिरहेका छन् । यसको लगानीकर्तामा विजयेन्द्रसमेत रहेका छन् । उनी नायिका श्वेता खड्काका श्रीमान हुन् भने विनोदचाहिँ भाइ । 

सन् २००६ बाट भविष्यको यात्रालाई अघि बढाएको बताउने विनोद विदेशी भूमिमा सिकेको सीपलाई स्वदेशमै प्रयोग गर्ने सोचेर नेपाल फर्किए । उनको सोचलाई साथ दिए, व्यवसायी भिनाजु विजयेन्द्रले । 

हुन त विजयेन्द्र रेष्टुराँ क्षेत्रमा नयाँ नाम होइन । धनगढीमा पहिलादेखि नै रेष्टुराँ व्यवसाय छ उनको । नायिका श्वेता खड्काको पनि काठमाडौं बालुवाटारमा इलामेन्टस् रेष्टुराँ छ । यस्तै हिमालयन जाभाकी पनि उनी सञ्चालक हुन् । 

स्टार मलकाे चाैथाे तलामा खुलेकाे एन्ड टीको फ्रेन्चाइजी विस्तार गर्ने योजनामा छन् उनीहरू । यसकाे पहिलो फ्रेन्चाइजी धनगढीमा खोल्ने कुरा विजयेन्द्रले सुनाए । यसबाहेक फ्रेन्चाइजी विस्तारलाई क्रमशः देशभरि फैलाउँदै विदेशमा पनि पुर्याउने सपना पनि छ । 

‘पूर्वदेखि पश्चिमसम्म नै कफी तालिम आवश्यक छ’ उनीहरू दुवैको एउटै स्वर छ, ‘यसमा सम्भावना पनि उत्तिकै छ ।’

‘मैलै १२ वर्षसम्म दुबईमा पाँचतारे होटलमा बारिस्ता र बारको काम गरें । त्यसको राम्रो अनुभव छ’ विनोदले सुनाए, ‘स्वदेशमा फर्किएर यो क्षेत्रमा लाग्नेहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने सोच आयो । अनि फर्किएँ ।’ 

व्यवसाय गर्ने मान्छे हरेक कुरामा चनाखो हुन आवश्यक हुनुपर्छ । झन् अहिलेको प्रतिस्पर्धात्मक बजारमा व्यवसायीले गुणस्तरीय सेवा दिन नसक्ने हो भने लगानी सुनिश्चित हुन्छ भन्न सकिँदैन । तर, यो कुरामा विनोद पहिले नै सचेत थिए । ‘म सँग अनुभव त थियो नै साथै  नेपालमा कफीसम्बन्धी व्यवसायको क्षेत्रमा काम गर्ने सोच पनि’ उनी भन्छन्, ‘तर, यहाँको आवश्यकता र परिवेश बुझेको थिइनँ । त्यसैले सीधै व्यवसाय सुरु गर्नुपहिले अरुकोमा काम गर्नेबारे सोचें ।’ 

नेपाली परिवेश र आवश्यकता बुझ्न भनेर करिब १० महिना बारिस्टा कफी स्कुलमा आबद्ध भएको विनोदको भनाइ छ ।  उनले काम गर्दै बुझ्दा नेपाली बजारमा हस्पिटालिली क्षेत्रले टर्निङ पोइन्ट लिनुपर्ने आवश्यकता महसुस गरे । त्यसपछि रेष्टुराँ व्यवसायमा संलग्न भिनाजुसँग सल्लाह गरे । र, जन्म्यो– ‘ट्रिकी एन्ड टिप्सी’ बारटेन्डिङ बारिस्ता एकेडेमी  । 

हिजोआज एकेडेमीमा ट्रेनिङ लिन आउनेमा अधिकांश बीएचएम पढेका विद्यार्थीहरु हुन्छन् । विनोदका अनुसार नेपालमा बीएचएम अध्यापन हुने कलेजमा पर्याप्त प्राक्टिकलको व्यवस्था छैन । त्यस्ता विद्यार्थीलाई उनीहरुले प्राक्टिकल सीप दिइरहेका छन् । र, उनीहरु पनि खुसी छन् ।’ 

एकेडेमीले छोटो समयमै थुप्रै विद्यार्थीलाई ट्रेनिङ दिइसकेको छ । सञ्चालनको ६ महिनामै ४० विद्यार्थीलाई ट्रेनिङ दिएको थियो । एकेडेमीमा बारिस्ता र बार ट्रेनिङ लिने विद्यार्थीले क्षमता विकाससम्बन्धी तालिम निःशुल्क लिन पाउँछन् । सो ट्रेनिङ सकिएपछि अन्तवार्तामा जाँदा विद्यार्थीको आत्मविश्वास कायम रहोस् भनीकन क्षमता विकासको तालिम दिने गरेको सञ्चालकद्वय सुनाउँछन् ।  

एकेडेमीमा ट्रेनिङ लिन आएका एक विद्यार्थीको उदाहरण दिँदै विनोद भन्छन् ‘सुरुमा आउँदा उहाँ बोल्नुहुन्नथ्यो । हामीले नै बोलाउनुपर्थ्याे । तर, बिस्तारै साथीको जस्तो व्यवहार र वातावरण सिर्जना गर्यौं । यसरी क्षमता विकासको तालिम सकिँदासम्म उहाँमा धेरै परिवर्तन आइसकेको थियो ।’ 

भावी योजना

टी एन्ड टीलाई ‘हस्पिटालिटी म्यानेजमेन्ट कलेज’ मा परिवर्तन गर्ने योजना लिएका छन् विनोद–विजयेन्द्रले । यस्तै यसलाई फ्रेन्चाइजी मोडलमा लगी देश–विदेशमा समेत विस्तार गर्ने योजना उनीहरूको छ । आवश्यकताअनुसार धनगढी, दाङ, चितवनलगायत देशका विभिन्न सहरमा एकेडेमी विस्तार गर्ने योजनमा छन् । 

‘काठमाडौं उपत्यकाभित्रका अन्य एकेडेमीभन्दा हाम्रो एकेडेमी फरक तरिकाले सञ्चालन भइरहेको छ’ दुवैले दाबी गरे । 

तालिम अवधि र शुल्क 

बार र बारिस्टा गरी एकेडेमीले दुई प्रकारका ट्रेनिङ सञ्चालन गर्दै आइरहेको छ । त्यसमध्ये बार ट्रेनिङ ४५ दिनको हुन्छ । दैनिक ३ घण्टाका दरले ट्रेनिङ सञ्चालन गर्दै आएको टी एन्ड टीले छिटो सिक्न नसक्ने विद्यार्थीका लागि भने दैनिक ४ घण्टासम्म पनि ट्रेनिङ गराउँछ । 

ट्रेनिङ सकिएपछि परीक्षा लिन्छ । परीक्षामा केही कमजोरी भेटिएमा पुनः सिकाएर दक्ष भएपछि मात्रै पठाउने व्यवस्था गरेको छ । यसका लागि ४५ हजार रुपैयाँ शुल्क लाग्छ । तर, १५ प्रतिशत छुटमा अहिले ३८ हजार २५० रुपैयाँमा तालिम सञ्चालन गरिरहेको छ । 

यदि बारिस्टाका लागि हो भने त्यसको शुल्क हो ३५ हजार । त्यसमा पनि १५ प्रतिशत छुट जोडी २९ हजार ७५० रुपैयाँमा तालिम सञ्चालन गरिरहेको छ । यद्यपि क्षमता विकासका लागि छुट्टै शुल्क भने लाग्दैन । बार या बारिस्टा जेको तालिम लिए पनि क्षमता विकासको तालिम निःशुल्क दिने गरेको उनीहरुको भनाइ छ । 

‘स्कुलमा जसले पनि पढ्छ । तर, व्यवहारमा उतार्न सजिलो हुँदैन । हामीसँग राम्रो बोल्ने, कुरा गर्ने मान्छे बाहिर गएपछि डराउन सक्छन् भनेर पूर्व तयारी गर्नका लागि तालिम दिन्छौं’ क्षमता विकासको तालिम दिनुको उद्देश्यबारे बताउँदै विजयेन्द्रले भने ‘कफी बनाउन मात्रै आएर हुँदैन । आफ्नो सीपलाई देखाउन पनि सक्नुपर्छ । मान्छेको बोलाइ, व्यवहारदेखि हरेक कुराले उसको क्षमता थाहा हुन्छ ।’ 

टी एन्ड टीमा ट्रेनिङ लिएकामध्ये २ जनाले कफी सप खोलिसकेका छन् । केही विदेश जाने तयारीमा छन् । केहीले अन्य बार तथा रेष्टुराँमा काम गर्दै आफ्नो सीपलाई तिखार्दै लगेका छन् । 

एकेडेमीमा तालिम लिन आउनेमा प्रायः प्लस–टुपछि विदेश पढ्न जाने विद्यार्थी छन् । नेपालबाट सधैं अभिभावकले पैसा पठाएर साध्य लाग्दैन । यस्तो अवस्थामा विद्याथीहरु स्वतः सीप सिकेर जाने गरेका छन् । यसले उनीहरुलाई नै फाइदा पुग्छ । यसबाहेक टी एन्ड टीबाट तालिम लिएका विद्यार्थीको माग नेपालमा नाम चलेका पाँचतारे होटलबाटसमेट भएको सञ्चालकद्वयले सुनाए । 

आफ्नो एकेडेमीमा अनुभवी प्रशिक्षकद्वारा तालिम सञ्चालन भइरहेको विनोद–विजयेन्द्रले बताए । उनीहरूको भनाइमा बारिस्टा तालिमका लागि कतारमा ८ वर्ष काम गरेका र क्षमता विकासका लागि अष्ट्रेलियामा ७ वर्ष काम गरेर नेपाल फर्किएका व्यक्तिबाट तालिम सञ्चालन हुने गरेको छ । 
 

शुक्रबार​ २४ मंसिर २०७८ ०१:४१ PM मा प्रकाशित

प्रतिक्रिया