×

योञ्जन र गौचनको जोडी, जसले ‘डल्ले’ लाई ब्रान्ड बनाएर सहरमा फैलाए

images

सहरका प्रत्येक टोल र गल्लीमा मःम पसल छन् । तर, थोरै मात्र मःमको स्वादको ब्रान्ड छ । अझ त्यही स्वादलाई फैलाउने गरी फ्रेन्चाइज भएका रेस्टुरेन्ट झनै कम । 

काठमाडौंको मुख्य र भित्री सहरमा जिब्रोले सम्झिरहने रेस्टुरेन्ट ब्रान्ड हो, डल्ले । १० वर्षमा १४ वटा आउटलेट विस्तार गरेको डल्लेको दशक यात्रामा किमा र मसलाको मिश्रणजत्तिकै मित्रता यसका दुई सञ्चालकको छ । 
नेपालमा साझेदारी व्यवसायमा समस्या छन् ।

मित्रतामा आर्थिक लेनदेनको विषय सकेसम्म घुसाउनु हुन्न भन्ने मान्यता पनि हाम्रै समाजमा छ । तर, पछिल्लोपटक साझेदारी व्यवसायको रफ्तारले उद्योगमा मात्र होइन रिटेल बिजनेसदेखि रेस्टुरेन्टसम्मलाई माथि उकासेको छ । धेरै व्यवसाय मित्रताकै मनमुटावका कारण सुरूवातमै तुहिने गरेर असफलता व्यहोरेका घटनाहरु प्रशस्त छन् ।

सीमित पुँजी, बिनाकुनै लिगेसी र आफ्नै जगमा सफलताको उचाइमा पुग्न समझदारीको भूमिका ठूलो हुन्छ । यस्तै समझदारीलाई साझेदारीमा बदलेका दुई युवा हुन्, आलोक योञ्जन र सुवास गौचन । 
पछिल्लो दस वर्षयता राजधानी काठमाडौंलगायत मुलुकको विभिन्न भेगमा डल्ले मःम को ब्रान्ड फैलिँदो छ । हेर्दा मःम खाने रेस्टुराँको रुपमा लिए पनि त्यसभित्रको कथा भिन्न छ । 

काठमाडौंको कमलादीबाट सुरू भएको डल्ले मःमको यात्रा अहिले काठमाडौंमा ९ र उपत्यकाबाहिर ५ गरी १४ वटामा विस्तार भइसकेको छ । छोटो समयमा ब्रान्ड बनेको डल्लेले आफ्नो रफ्तारलाई अझ तेज बनाउँदै लगेको छ । 

डल्लेलाई हाँक्ने दुई युवाहरु अहिले ४५ वर्षका भए । एकै उमेर समूहका भएकैले पनि उनीहरुको भिजन र मिसनमा एकरुपता छ । हुन त उनीहरुको चिनजान व्यवसाय सुरू भएपछि मात्र भएको भने होइन । उनीहरुको भेट सानैदेखिको चिनजान हो ।

गौचन मुस्ताङ स्थायी घर भएका हुन् भने योञ्जन दार्जिलिङवासी हुन् । तर, उनीहरुको परिवार धेरै पहिलादेखि नै काठमाडौंमा बसोबास गर्दै आएका थिए । छिमेकीमार्फत सानैदेखि चिनजान रहेका योञ्जन र गौचनको कक्षा ११ र १२ को अध्ययन भने भारतको मसुरीमा सँगै भएको थियो । त्यति बेलै उनीहरुको मित्रता झनै गाढा बन्यो ।
दार्जिलिङ र मुस्ताङको आफ्नो फ्लेभर दुई जनाले मःममा मिसाउँदा काठमाडौंका रैथानेमा मात्र होइन उपत्यकाबाहिर पनि यसको स्वादको चर्चा छ । 

डल्ले मःम स्थापनाको पछाडि योञ्जन र गौचनको मित्रता हो । जन्मेको सहर छोडेर भारतमा बस्दा उनीहरु धेरै नजिकिए । त्यसकै नतिजा हो, डल्ले मःम । प्लस २ को अध्ययन सकेपछि भने उनीहरु टाढिए । गौचन उच्च शिक्षा अध्ययनका लागि अमेरिका गए भने योञ्जन हङकङ । छुट्टाछुट्टै मुलुकमा अध्ययनका लागि गए पनि बेला बेलामा कुराकानी गरिरहन्थे ।

नेपाल फर्किएपछि भने संयुक्त रुपमा केही गर्नुपर्छ भन्ने विषयमा छलफल हुन्थ्यो । यही काम भनेर टुंगो नलगाए पनि संयुक्त रुपमै गर्ने उनीहरुको सल्लाह थियो । विदेशमा रहँदा पनि दुवैले नेपालमा गर्न सक्ने कामको विषयमा अध्ययन र अनुसन्धान गर्दै एक आपसमा अनुभव साटासाट गरिरहन्थे । 

योञ्जनभन्दा गौचन केही वर्षअघि नै नेपाल फर्किएर एजुकेसन कन्सल्टेन्सी सुरू गरिसकेका थिए । जुन अहिले पनि सञ्चालनमा छ । २००३ मा गौचन र  २००७ तिर योञ्जन फर्किए । योञ्जन पनि नेपाल आउनेबित्तिकै ठमेलमा तमास नामक रेस्टुराँ सञ्चालनमा लागे । उनको पहिलो लगानी त्यही थियो । त्यसपछि झम्सिखेलमा जाड्स नामक रेस्टुराँ खोले । 

दुवैले छुट्टाछुट्टै व्यवसायमा हात हाले पनि संयुक्त रुपमा गर्ने भोक भने मेटिएको थिएन । उनीहरुले १० जना साथीहरु मिल्ने र एकै पटक १० वटा आउटलेट खोल्ने योजना बुने । डल्लेकै नाममा रेस्टुराँ खोल्ने र आउटलेटका रुपमा एकसाथ प्रवेश गर्ने योजना सफल हुन सकेन । करिब १ वर्षसम्मको छलफलपछि उनीहरु दुईले मात्र डल्लेलाई अगाडि बढाउने निधो गरे । र, सन् २०११ को नोभेम्बरमा संयुक्त रुपमा डल्ले मःम खोले ।
डल्लेको लोगो भने २०१० मै स्वर्गीय गायक गोपाल योञ्जनका छोरा अहिंसा योञ्जनले गरेका थिए । 

एकै दिनमा ठाउँ तय, सोही दिन बुकिङ
साथीहरुबीच कुरा मिल्न नसकेपछि आआफ्नै काममा लागेका गौचन र योञ्जन भने अरु नआए पनि काम गर्ने सोचमा पुगे । ‘छुट्टीको एक दिन सुवासकै अफिसमा गएर यो विषयको निधो गरिएको हो’, योञ्जनले भने, ‘म ठमेलबाट सीधै ललितपुर जानुपर्ने मान्छे त्यो दिन भने दरबारमार्ग हुँदै जाने सोच आयो ।

कमलादी पुगेपछि सुवासको अफिस नजिकै पुगेर फोन गरें । उनी अफिसमै भएको जानकारी भएपछि त्यहाँ पुगें । र, सल्लाह गर्दा दुई जना मात्रै मिलेर भए पनि काम गर्ने सोच बनायौं । कमलादीमा हाल भएको डल्ले सोही दिन टु–लेट भएको देखें । त्यसपछि तत्काल घरबेटीसँग सम्झौता गरी काम अघि बढायौं ।’
‘हामी दुई जनाको भने विदेशमा जस्तै सोफामा बसेर सस्तै मुल्यमा भए पनि मःम खाने व्यवस्था गर्न सक्ने खालको रेस्टुराँ खोल्ने सोच मिल्यो । तर, अन्य साथीहरुसँग त्यो कन्सेप्ट मिल्न सकेन । केही समय यही विवादमा बित्यो’, योञ्जनले सुनाए ।

’हाम्रो सुरूको मेनु भनेकै मःम र राइस एन्ड करी मात्र थियो । अफिसलाई नै टार्गेट गरेर थोरै मेनु बनाएका हौं’, गौचन थप्छन्, ‘५ देखि ७ महिना भने समस्या भयो । नयाँ भएकोले विश्वास गरिहाल्ने अवस्था थिएन । विस्तारै ग्राहकहरुको संख्या बढ्दै गएपछि उनीहरुकै सुझावअनुसार परिष्कृत हुँदै गयौं । पछि मेनुमा ६ वटा परिकार; मःम, राइस, फ्राइ राइस, थुक्पा, स्पाइसी राख्यौं ।  थोरै मेनु राख्ने र गुणस्तरीय र स्वच्छ खाना–खाजा खुवाउने ध्येय जुन बेला थियो अहिले पनि कायम नै छ ।’

अनि सुरू भयो नयाँ यात्रा
काम गर्दै जाँदा सुरू सुरूमा धेरै समस्याहरु आइलागे । रेस्टुराँका लागि नयाँ भएकाले ६ महिनासम्म त थेग्नै गाह्रो भएको उनीहरुको अनुभव छ ।

सुरूको ६ महिनासम्म त बीचमै बन्द गर्ने हो कि भन्ने सोच उनीहरुमा नआएको होइन । तर, विस्तारै ग्राहकहरुको माया र सुझावअनुसार नै अघि बढेपछि सहज हुँदै गयो । ग्राहकको माया पाउँदै गएपछि ठाउँ विस्तार गर्दै अन्य ठाउँमा आउटलेट खोल्ने योजना बुने ।

र, २०१४ मा नक्सालमा रहेको भाटभटेनी अगाडि सानो ठाउँ लिएर डल्ले एक्सप्रेस सञ्चालनमा ल्याए । जहाँ एक पटकमा १० जनाभन्दा बढी अट्न सक्ने ठाउँ थिएन । फास्टफुड मोडलमा सञ्चालन ल्याएको सो रेस्टुराँले राम्रो पिक अप लिएपछि झन् उत्साहित बने । त्यसपछि भने १०१६ मा ललितपुरको लबिम मलमा करिब १ करोड लगानीमा २ रेस्टुराँ सञ्चालनमा ल्याए । 

त्यही बेला डब्लुएलसी भेन्चरको बिजनेश अक्सिजन फण्ड(बीओटु)ले लगानी गर्ने प्रस्ताव आयो । ’हाम्रो यो सफलताको कथा सुनेर नै उनीहरुले हामीमाथि लगानीको प्रस्ताव राखेका हुन्’, योञ्जनले भने, ‘सो कम्पनीले २ करोड ५० लाख रूपैयाँ सहुलियत दरमा ऋण दिएकै कारण सेतोपुलमा सेन्ट्रल किचन बनाउन सफल भएका हौं । सो ऋण ४ वर्षका लागि हो । अहिले डल्लेले सो रकम तिर्दै आएको छ । जुन किचनले काठमाडौंमा मात्र एकै साथ ३० वटा आउटलेटलाई आवश्यक सामग्रीहरु चौबीसै घण्टा उपलब्ध गराउन सक्छ ।’ 

लबिम मलपछि जावलाखेल, गोल्फुटार, ठमेल र डब्लुटिसी लगायतका ठाउँमा आउटलेट सञ्चालनमा ल्याएका छन् । आउटलेट खुल्दै जादाँ बिजनेसमा नयाँ आइडिया र पाठ पनि दिएको गौचन सुनाउँछन् । आउटलेटमा सफल भइरहँदा अब फ्रेन्चाइजी मोडलमा जाने निधोमा उनीहरु पुगेका छन् । 

सन् २०१८ तिर न्युरोड ,बुटवल र पोखरामा खोले पनि राम्रोसँग स्थापित नहुँदै लकडाउन भयो । लकडाउनकै बीचमा डब्लुटिसी, बुटवलमा अर्को आउटलेट, भैंसेपाटी, नक्साल भाटभटेनी र ग्वार्कोमा सञ्चालनमा आएको छ ।
काठमाडौंमा ९ वटा आउटलेटमध्ये ४ वटा उनीहरुकै हुन् भने ५ वटा फ्रेन्चाइजी हुन् । त्यसबाहेक बुटवलमा २, पोखरामा १ र भैरहवामा १ गरी १३ वटा आउटलेट सञ्चालनमा छन् । त्यसबाहेक अहिले नै तयारी अवस्थामा सञ्चालनका लागि ३ वटा आउटलेट छन् । 

रेस्टुराँ कल्चर बढ्दो

२०११ मा सुरू गर्दाभन्दा अहिले इटिङ आउट कल्चर ह्वात्तै बढेको छ । त्यस बेला थोरै रेस्टुराँहरु थिए र मान्छेहरु पनि कम थिए । तर, विस्तारै रेस्टुराँहरुको संख्या बढ्दै गएको छ । खाना–खाजाका पारखी पनि बढेका छन् । विदेशमा देखेका र इन्टरनेटमा देखेकै भरमा पनि नेपाली रेस्टुराँमा गएर खाजा–खाना खोज्ने चलन बढेपछि मःम झन् लोकप्रिय बनेको हो । त्यसलाई डल्लेले मःमले विशेष ध्यान दिँदै आएको छ ।

डल्लेमा पाइने मःम चिल्लो कम र हिमालयनको झल्को दिने खालको हुन्छ । साथै मसलाको प्रयोग पनि कमै हुन्छ । काठमाडौंमा भने बफ मःम र झोल मःम प्रख्यात छ । मःम मा अहिले नयाँ रेस्टुराँले अनेकन भेराइटी दिइरहे पनि डल्लेले भने पुरानै शैलीको मःम पस्कँदै आइरहेको छ । 

नेपालमा किन फर्किए ?
उच्च शिक्षा अध्ययनका लागि बिदेसिनेहरु प्रायः उतै बस्ने योजना बनाउँछन् । योञ्जनका बुबा ब्रिटिस आर्मी हुन् भने गौचनका बुबा सरकारी जागिरे । तर, उनीहरु बुबाआमाकै लागि नेपाल आए, नेपालमै परिवारसँग बसेर व्यवसाय गर्ने सोच बनाए । 

विदेशमा भन्दा लगानीको वातावरण नेपालमा राम्रो छ । सेवा सुविधाका हिसाबमा विदेश राम्रो भए पनि जन्मभूमिप्रतिको मायाकै कारण नेपाल फर्किएको उनीहरु बताउँछन् । ‘जे गर्ने नेपालमै गर्ने भन्ने सोच हामीसँग सानैदेखि भएकोले यहाँ आएर काम सुरू गरेका हौं’, योञ्जनले भने । 

विदेशमा सिकेको सीप र अध्ययनलाई सदुपयोग योञ्जन र गौचनले गरिरहेका छन् । त्यसमाथि रेस्टुराँ क्षेत्रमा लगानी राम्रो छ । पहिले–पहिले रेस्टुराँहरु खुल्ने र डुब्ने क्रम उत्तिकै हुन्थ्यो । तर, पछिल्लो समय यो क्षेत्रमा लगानी बढ्दै गएको उनीहरुको भनाइ छ । 

अहिले डल्लेमा १० वर्ष अर्थात् स्थापना कालदेखिकै कर्मचारीहरुले पनि काम गर्दै आएका छन् । १५० जनाभन्दा बढी कर्मचारीहरु डल्लेमा प्रत्यक्ष रुपमा आबद्ध छन् ।

सफलताको सूत्र
गुणस्तरीय खाना र मिहिनेत धेरै गर्न सके सफल भइन्छ । सस्तो भन्ने केही हुँदैन । सस्तोको नाममा जस्तो पायो त्यस्तै खाना र खाजा खुवाएमा अर्कोपटक ती ग्राहकहरु नआउने योञ्जन बताउँछन् । 
डल्लेले सधंै ध्यान दिने भनेकै गुणस्तरीय खानामा हो । सामान पनि गुणस्तरीय नै प्रयोग गर्छ । साथै ५ वर्षभन्दा बढी काम गरेकाहरुलाई मासिक भत्ताको समेत व्यवस्था डल्लेले गरेको छ ।

८ वर्षभन्दा बढी काम गरेका कर्मचारीलाई आउटलेट खोल्दा फ्रेन्चाइजी शुल्क निःशुल्क
आफ्नोमा काम गरेका कर्मचारीहरुलाई आत्मनिर्भर बनाउन डल्लेले प्रोत्साहन गर्दै आइरहेको छ । उसले ८ वर्ष काम गरेका कर्मचारीलाई आउटलेट खोल्न प्रोत्साहन गर्छ । उनीहरुले पनि एउटा आउटलेट खोलेर आफ्नै व्यवसाय गरून् भन्ने उद्देश्यले डल्लेले त्यस्ता कर्मचारीहरुको हकमा फ्रेन्चाइजी फी नलिने र २० प्रतिशतसम्म लगानीसमेत पछि तिर्ने गरेर हाल्ने व्यवस्था गरेको छ । 

फ्रेन्चाइजी भनेको नाम नै नेपालमा नयाँ हो । विदेशमा पहिलेदेखि नै चले पनि नेपालमा भने भर्खरै मात्र आएको छ । बिजनेसका लागि चाहिने सम्पूर्ण सहयोग गरिने भएकाले पनि फ्रेन्चाइजीको लगानी सुरक्षित नै रहने गरेको पाइन्छ । डल्लेले पनि त्यसलाई आत्मसात् गर्दै आएको छ । शतप्रतिशत नै सुविधा दिन्छ । 

फ्रेन्चाइजी लिएको १ देखि २ महिनाभित्रमा पूर्णरुपमा तयारी गरिसक्ने र सञ्चालनका लागि पूर्णयोग्य हुनुपर्छ । र, सञ्चालन भएपछि ९९ प्रतिशत तयारी सामानहरु डल्लेले नै उपलब्ध गराउँछ । डल्लेकै मेनुअनुसार अघि बढ्ने भएकाले ग्राहकहरुलाई पनि सहज हुन्छ ।

रेस्टुराँमा सबैभन्दा ठूलो लागत भनेकै आवश्यक सामान खरिदहरुका लागि हो । तर, फ्रेन्चाइजी भएपछि डल्लेको सेन्ट्रल किचनमै पाइने भएकाले समस्या नहुँदा सञ्चालकलाई पनि सहज हुन्छ । 

७०० स्क्वार फिटको रेस्टुराँका लागि करिब ७० लाख रूपैयाँसम्म लगानी आवश्यक पर्ने उनीहरुको भनाइ छ । ‘७० लाखसम्म रेस्टुराँ तयार गरेर साँचो हस्तान्तरण हुन्छ’, योञ्जनले भने, ‘मःम, ससदेखि आवश्यक सबै उपलब्ध हुन्छ र न्यूनतम मूल्यमा दिने गरेको छ ।’ 

सञ्चालनमा आएको ३ महिनापछि ३ प्रतिशत रोयल्टी तिर्नुपर्छ । जसअनुसार उनीहरुको सामाजिक सञ्जालको विज्ञापन र प्रचारप्रसारको काम गर्ने गरेको छ । डल्लेको फ्रेन्चाइजी लिन १२ लाख प्लस भ्याट रकम बुझाउनुपर्छ । तर, काठमाडौं बाहिर बढी खट्नुपर्ने भएकाले १५ लाख रूपैयाँ चार्ज लाग्छ । हाल डल्लेले काठमाडौंमा मात्र ३० वटा आउटलेट दिने गरी ठाउँ निर्धारण गरेको छ ।

हरेक दिन मःम चाख्छौं
सञ्चालन गरेको १० वर्ष पूरा भयो । तैपनि योञ्जन र गौचन पहिलेकै जति काममा खट्छन् । यस्तै डल्लेका रेस्टुराँहरुमा जाने मःमसहितका अन्य परिकारहरु सम्भव भएसम्म दैनिकजसो चाख्ने गरेको योञ्जन बताउँछन् । ‘हामीले बिहानै आएर मःम चाखेर मात्र अन्य ठाउँमा पठाउने गरेका छौं । गुणस्तर र स्वादमा कुनै घटबढ नहोस् भन्ने उद्देश्यले सधैं चाख्ने गरेका हौं’, उनले भने । 

‘मसलामा गडबढी हुँदा ४० केजी किमा नै फ्याँकेको अर्का सञ्चालक गौचनले बताए । उनका अनुसार बजारमा आएका सबै मसलाहरुको स्वाद हेर्न सम्भव हुँदैन । विश्वासको भरमा किमामा मसला हालेर हेर्दा स्वाद फरक पाएपछि करिब ४० देखि ५० किलो तयारी किमा नै फ्याँकेर नयाँ बनाएका थिए । त्यसपछि भने मसलामा विषेश ध्यान दिँदै आएका छन् । 

भारतमा लैजाने तयारी
भारतमा अध्ययन गर्दै आएका नेपाली विद्यार्थीहरुले त्यहाँका साथीहरुसँग मिलेर डल्लेको फ्रेन्चाइजी खोल्ने तयारी गरिरहेका छन् । त्यहाँ सफल भएपछि काठमाडौंभन्दा छिटो चल्न सक्छ । भारतमा बस्ने नेपालीहरुले नै सेन्टर किचनकै अवधारणामा खुलाउने तयारी भएकोले अब त्यहाँ पनि फ्रेन्चाइजी मोडलमा विभिन्न सहरमा फैलिने योजना उनीहरुले बुनेका छन् ।

हालसालै अमेरिकाबाट पनि माग आएको छ । सोहीअनुसार डल्लेले विदेशमा नेपाली फुड चेनको रुपमा लैजाने तयारी गर्दै आएको छ । 

आइतबार​ २९ जेठ २०७९ ०७:५४ AM मा प्रकाशित

प्रतिक्रिया