×

खिम्तीबाट लाभांश नआएपछि बीपीसीको नाफा आधा घट्यो, सेयरधनीले पाउला त लाभांश ?

images

काठमाडौं । हिमाल पावर लिमिटेडले सञ्चालन गरिरहेको ६० मेगावाटको खिम्ती आयोजनाबाट आउने लाभांश बन्द भएपछि बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को खुदनाफामा भारी गिरावट आएको छ ।

गत आर्थिक वर्षमा  खिम्ती आयोजना सञ्चालन गर्दै आएको हिमाल पावरले लाभांश घोषणा नगरपछि बीपीसीको खुदनाफा ४७.४० प्रतिशतले गिरावट आएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

गत आर्थिक वर्ष बीपीसीको नाफा आधा घटेर २६ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष खुदनाफा ५० करोड १८ लाख रुपैयाँ थियो । नाफा घटेपछि कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँबाट ८ रुपैयाँ १३ पैसामा झरेको छ ।

यसबीचमा खिम्ती र झिम्रुक आयोजनाको बिजुली बिक्रीबाट हुने आम्दानी २० प्रतिशतले बढेर ७७ करोड ५० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ६४ करोड ६१ लाख रुपैयाँ मात्र थियो । खिम्तीबाट लाभांश नआएपछि बीपीसी आफ्ना दुई आयोजनाको आम्दानीमा मात्र निर्भर भएको छ ।

यद्यपी २०७९ वैशाखदेखि ३० मेगावाटको न्यादी आयोजनाबाट बिजुली उत्पादन सुरु भएकाले आगामी केही वर्षपछि बीपीसीको आम्दानीमा वृद्धि हुने देखिन्छ । सन् २०२० को जुलाइ २६ देखि डलर पीपीए खारेज भएपछि प्राधिकरणले हिमाललाई अहिले प्रतियुनिट २ रुपैयाँका दरले अन्तरकालिन भुक्तानी गर्दै आएको छ । हिमाल पावरमा बीपीसीको साढे १७ प्रतिशत स्वामित्व छ ।

बीपीसीले हिमालबाट वार्षिक रुपमा ५० देखि ६० करोड रुपैयाँ हारहारीमा नगद लाभांश पाउँदै आएको थियो । सोही लाभांशका कारण बीपीसीले लगानीकर्ताहरुलाई २७ प्रतिशतसम्म लाभांश दिँदै आएको थियो । हिमाल पावरबाट लाभांशको रुपमा प्राप्त हुने ठूलो रकम गुमेपछि बीपीसीको नाफामा भारी गिरावट आएको हो ।

सन् २०२० को असारदेखि खिम्ती आयोजनाको आधा स्वामित्व नेपाल विद्युत प्राधिकरणमा आइसकेको छ । कोरोना महामारीले स्वामित्व हस्तान्तरण गर्नका लागि संयुक्त कम्पनी स्थापना गर्न ढिलाइ भइरहेको छ ।

हिमाल पावर र प्राधिकरणबीच संयुक्त कम्पनी गठन गर्ने विषयमा सहमति हुन सकेको छ्रैन । यस्तै हाल चलन चल्तिमा रहेको पीपीए दर मागेपछि प्राधिकरणले नदिने बताइसकेको छ । त्यसै कारणले गर्दा कम्पनीको स्वामित्व हिमाल पावरबाट नयाँ कम्पनीमा हस्तान्तरण हुन ढिलाइ हुन गएको हो ।

शनिबार २८ साउन २०७९ ०७:१७ AM मा प्रकाशित

प्रतिक्रिया