×

स्रोत नखुलेको पैसा ल्याउन पृथ्वी शाहले खोले नक्कली खाता, ८ बैंकद्वारा एनआरबीलाई रिपोर्ट 

images

काठमाडौं । स्रोत नखुलेको रकम छुटाउन शक्तिकेन्द्रसम्म धाएका पृथ्वी शाहले नक्कली बैंक खाता खोल्ने र त्यहाँबाट रकम भित्र्याउने बाटोमा लागेको भेटिएको छ । 

शाहले विभिन्न व्यक्तिका नाममा ८ वटा वाणिज्य बैंकमा खाता खोलेको र खाता खोलेको केही बेरमै लाखौं लाख रुपैयाँ डिपोजिट भएपछि बैंकहरुले नेपाल राष्ट्र बैंकलाई रिपोर्ट गरेका थिए । 

‘बैंकहरुले अस्वाभाविक रुपमा खातामा पैसा आएको देखेपछि केन्द्रीय बैंकमा रिपोर्ट गरेका थिए, त्यसपछि केन्द्रीय बैंकले सूक्ष्म निगरानी बढाउँदा शाहले स्रोत नखुलेको पैसा छुटाउन यस्तो विधि अपनाएको देखिएको हो,’ केन्द्रीय बैंकका एक अधिकारीले भने, ‘शाहले विभिन्न ८ वटा वाणिज्य बैंकमा आफ्न्तको नाममा खाता खोली सबैमा ५० देखि ६० लाख रुपैयाँ एकैपटक जम्मा गरेका रहेछन् । बैंकहरुले रिपोर्ट गरेपछि अनुसन्धान गरिएको र उक्त शंकास्पद कारोबार फुकुवा नगर्न भनिएको छ ।’ 

बैंकहरु आफै संवेदनशील भएर राष्ट्र बैंकमा रिपोर्ट गर्दा यस्तो तथ्य बाहिर आएको केन्द्रीय बैंकका अधिकारीहरु बताउँछन् । शाहले आफन्तका नाममा खाता खोलेको र ती बैंकहरुले रकम आएको जानकारी राष्ट्र बैंकमा दिएपछिगत हप्ता ती बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई उक्त खातामा भएको रकम कुनै हालतमा निकासा नगर्न निर्देशनसमेत दिएको हो । 

गत हप्ता गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरद्वय निलम ढुंगाना र बमबहादुर मिश्र तथा वित्तीय जानकारी इकाइबाट दीर्घ रावलसहित ग्लोबल आईएमई, नबिल, प्राइम, बैंक अफ काठमाण्डू, सिद्धार्थ, प्रभु, कृषि विकास, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर शाहले स्रोत खुलाउन नसकेको रकम ल्याउन चाहेको र त्यसका लागि अनेकन उपाय लगाइरहेकाले सो रकम नछाड्न निर्देशन दिएका थिए । शाहले यिनै ८ वटा बैंकमा खाता खोलेका छन् ।

‘विगत एक महिनाअघि हाम्रो बैंकमा कुनै व्यक्तिको खातामा ५० लाख रुपैयाँ आएको थियो । त्यसपछि राष्ट्र बैंकमा रिपोर्ट गरेका थियौं । पछि बुझ्दा अन्य बैंकमा पनि त्यसैगरी पैसा जम्मा भएको थाहा भयो,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘हाम्रो रिपोर्ट र राष्ट्र बैंक आफैंले गरेको सूक्ष्म अनुसन्धानपछि उक्त पैसा नछाड्न निर्देशन भएको छ ।’ 

राष्ट्र बैंक स्रोतका अनुसार शाहले विभिन्न व्यक्तिका नाममा खाता खोलेर साढे ५ करोड हाराहारी छुटाउन खोजेको देखिन्छ । ती व्यक्तिको खातामा कुनैमा ५० लाख र कुनैमा ६० लाख रुपैयाँ राखेको भेटिएको स्रोतको भनाइ छ । 

शाहले यसअघि पनि अर्थमन्त्री जनार्दन शर्मामार्फत स्रोत नखुलेको पैसा छुटाउन गभर्नर महाप्रसाद अधिकारीलाई पत्र लेखाएका थिए । 

अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले शाहका नाममा अवैध रकम आएको जानकारी राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू) लाई दिएपछि नेपालमा अनुसन्धान सुरु भएको थियो । फिनसेनले राष्ट्र बैंकलाई पत्राचार गरी शाहका नाममा आएको रकम जफत गरी अमेरिका फिर्ता पठाउन भनेको छ । 
 

आइतबार​ २९ साउन २०७९ ०१:०० PM मा प्रकाशित

प्रतिक्रिया