आइतबार​, असोज १० २०७८ ०९:५३ PM

×

अध्यादेश बजेटको असरः राजस्व असुलीमा छैन अवरोध, खर्चमा समस्या

images

काठमाडौं । प्रतिनिधिसभाबाट अध्यादेश बजेट माथिको प्रतिस्थापन विधेयक पास नभए पनि राजस्व उठाउनलाई कुनै समस्या छैन । सरकारले सामयिक कर असुली ऐन २०१२ अनुसार सूचना प्रकाशित गरिसकेकाले कर उठाउन कुनै अवरोध नहुने भएको हो । 

‘अध्यादेशमाथिको प्रतिस्थापन विधेयक पास नहुँदा अध्यादेश अनुसारको राजस्व उठाउन पाउने तर, प्रतिस्थापन विधेयक अनुसारको परिवर्तित राजस्व उठाउन नपाउने भन्नेमा अन्योल थियो । तर, सरकारले सामयिक ऐनअनुसार सूचना जारी गरेकाले अब कुनै असर पर्दैन’ अर्थसचिव मधुकुमार मरासिनीले भने, ‘खर्चमा भने केही समस्या हुन सक्छ ।’ 

केही दिन खर्च नभए पनि ठूलो समस्या नहुने उनको जिकिर छ । सरकारी कोषबाट जाने तलबभत्तालगायतका सुविधा भदौ महिनाको गइसकेको छ । असोजका लागि पठाउने समय अझै बाँकी छ ।  

सरकारलाई एकदमै समस्या परि खर्च गर्नुपर्ने अवस्था आएमा सरकारी कार्यालयहरुले सापटी र धरौटीमार्फत आकमिक खर्च गर्न सक्छन् । तत्काल खर्च गर्न नपाउने व्यवस्थाले कोभिड-१९ महामारी उपचारमा भइरहेका प्रयासमा केही दिन बाधा आउन सक्छ । प्रतिनिधिसभा विघटन भएकाे अवस्थामा गत जेठ १५ गते संवैधानिक व्यवस्थाअनुसार अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले १६ खर्ब ४७ अर्बकाे बजेट ल्याएका थिए । असार २८ मा सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्बकाे प्रतिस्थापन  विधेयक भदाै २५ गते ल्याएका थिए । त्यसअघि साउन ३ गते अध्यादेश बजेट प्रतिनिधिसभामा टेवल भएकाे थियाे । यसअनुसार भदाै ३० सम्म मात्रै सरकारले नियमित खर्च गर्न पाउँछ । 

 

बजेट होलिडे नेपालमा पहिलो पटक

‘नेपालमा पहिलो पटक बजेट होलिडे भएको छ । यसअघिसम्म बजेट होलिडे भएको थिएन’ पूर्वअर्थसचिव लालशंकर घिमिरेले भने, ‘मेरो जानकारीमा आएसम्म पहिलो पटक बजेट होलिडे हुन लागेको हो ।’

मङ्गलबार २९ भदौ २०७८ ०३:४५ PM मा प्रकाशित

प्रतिक्रिया