भदौ २३ र २४ को जेनजी आन्दोलनले प्रजातान्त्रिक प्रक्रियाबाट चुनिएको केपी शर्मा ओलीको सरकार अपदस्थसँगै राजनीतिक दलका ‘बूढा’नेताहरुलाई नेतृत्व हस्तान्तरण गर्न पार्टीभित्र र बाहिरबाट समेत दबाब परिरहेको छ। ठूला दलमध्ये कांग्रेस सभापति शेरबहादुर देउवाले ‘बूढो’ भएको र स्वास्थ्य अवस्थाले साथ दिन छाडेको बताएर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर जेनजी आन्दोलनको मर्म आत्मसात् गरेका छन्।
देउवाले लोकतान्त्रिक विधि अर्थात् आगामी महाधिवेशनबाटै नेतृत्व हस्तान्तरण नहुन्जेल कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिएर राजीनामा माग्ने पार्टीभित्रको इतर समूह र अन्य राजनीतिक दलका नेतृत्वकर्तालाई अनुशरणको उदाहरण पेस गरेका छन्। यो उदाहरण एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका मु्खिया पुष्पकमल दाहाललाई नजिर बनिनुपर्छ।
विद्यार्थी राजनीतिबाट उदाएका देउवाले जेनजी आन्दोलनपछि नेतृत्वबाट बिदा लिए। १७ वर्षको उमेरदेखि नै सक्रिय राजनीतिमा लागेका देउवा २५ वर्षमै नेविसंघको केन्द्रीय अध्यक्ष बनिसकेका थिए। ६२ वर्ष लामो राजनीतिमा १० वर्ष पार्टी सभापति र पाँचपटक प्रधानमन्त्री बने। ८० वर्षको उमेरमा राजनीतिबाट बिदा लिए, नयाँ नेतृत्वलाई पार्टी छाडिदिए। कांग्रेस मियो बीपी कोइरालाबाट दीक्षित देउवाले लोकतान्त्रिक चरित्र देखाएरै पार्टीको मूल नेतृत्वबाट बिदा लिएर पार्टीलाई एकताबद्ध बनाउन सके।
पञ्चायती शासन, माओवादी आक्रमण अनि पूर्वराजा ज्ञानेन्द्रको निरंकुश शासनको सामना र नाति पुस्ताको आक्रमणमा परेका देउवाले आगामी महाधिवेशनपछि विधिवत् रुपमा नेतृत्व हस्तान्तरण गर्ने र हाललाई खड्कालाई सभापति जिम्मा दिने निर्णय गरेर राजनीतिमा लाग्दै आएको पदलोलुपता मेटाउने प्रयास गरेका छन्।
कांग्रेस मियो बीपी कोइरालाबाट दीक्षित देउवाले लोकतान्त्रिक चरित्र देखाएरै पार्टीको मूल नेतृत्वबाट बिदा लिएर पार्टीलाई एकताबद्ध बनाउन सके।
राणा, शाहतन्त्र र निरंकुशतन्त्र अन्त्यका लागि स्थापनाकालदेखि नै अविचलित लडाइँमा होमिएको कांग्रेसको नेतृत्व हस्तान्तरण प्रजातान्त्रिक विधिबाटै विधिसम्मत भए पनि आफूलाई लोकतन्त्रमा रुपान्तरण गरेको बताउने एमाले र नेकपा माओवादीभित्र वर्षौदेखि नेतृत्व कब्जा गरेका केपी ओली र पुष्पकमल दाहालहरू अझै पनि पदमा टाँसिरहन चाहेको घटनाक्रमले देखाएको छ।
जेनजी आन्दोलनपछि एमाले र नेकपा माओवादी केन्द्रमा ओली तथा दाहालको नेतृत्वमा विकल्प खोजिए पनि दुवै जना घुमाउरो पारामा पद नछाड्ने अडानमा छन्। यद्यपि दाहालले अध्यक्षबाट राजीनामा दिएर पार्टी अधिवेशन नहुन्जेल नेकपा माओवादी केन्द्रको संयोजकत्वमा जिम्मेवारी सम्हालेको घोषणा आफैंले गरेका छन्।
तर, ओलीले पटक–पटक सरकारको नेतृत्वमा रहँदा खाइपाइ आएको सत्ताचास्नीबाट गलहत्याइनुपरेको पीडामा छन्। पार्टीभित्र र सरकारमा राइदाइँ गर्दै आएका ओली यतिबेला भने रक्षात्मक हुनुपर्ने अवस्थामा छन्। तर, नेतृत्वको बिदाबारीबारे अझै पनि टसमस देखिँदैनन्। जेनजी आन्दोलनले सत्ता गुमाउनुपरे पनि फेरि सडक रोज्ने र पार्टीलाई कब्जामा राखिराख्ने दाउमा ओली छन्।
पुरानो निवास आगलागीले नामेट भएपछि खोजिएको नयाँ निवास गुन्डुमा गत शुक्रबार बसेको सचिवालय बैठकमा समेत कड्किँदै ओलीले संसद् पुनस्र्थापनाका लागि सडकमा जान महेश बस्नेतहरूलाई निर्देशन दिएका छन्। यसबाट पनि देखिन्छ, ओलीले जेनजी आन्दोलनलाई सुनेका छैनन्, बुझेका छैनन् र टेरेका छैनन्। एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामाको आवाज घन्किएको छ।
ओली नजिक भनिएका र सुनिएका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले समेत नेतृत्वबाट राजीनामा दिएर पार्टीलाई अगाडि लैजानुपर्ने सुझाएका छन्। सचिवालय बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष ओलीसहित पहिलो पुस्ताका नेताले बिदा लिनुपर्ने लिखित प्रस्ताव राखिन्। लिखित प्रस्ताव राखेका उपाध्यक्ष युवराज ज्ञवालीले पनि पार्टी पुनर्गठनको कुरा उठाउँदै अध्यक्ष ओलीलाई पद त्याग्न सुझाए।
‘पुरानाले हामी जति पनि नेता छौं। बिदा लिऔं। यही नेतृत्व लिएर एमाले अघि बढ्न सक्दैन। अध्यक्षले राजीनामा दिएर नयाँ नेतृत्वसहित पार्टीलाई गतिशील बनाउनुपर्छ’, उपाध्यक्ष शाक्ले भनेकी थिइन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष शाक्य, ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, पौडेललगायतले ओलीलाई नेतृत्व त्यागेर जेनजी मागअनुसार अगाडि बढ्न सुझाएका थिए। महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतको सानो संख्याले बचाउ गर्दै राजीनामा नदिन उक्साएपछि ओलीले बैठक नै स्थगित गरिदिएका थिए।
जेनजी आन्दोलनको उभारमा सत्ताच्युत हुन पुगेका ओलीलाई नेतृत्वबाट पनि बिदा हुन पार्टीभित्रैबाट दबाब बढ्दै गएका बेला भनिमण्डलमा बस्दै गरेको केन्द्रीय कमिटी बैठकलाई चासोको साथ हेरिएको छ।
बैठकमा नयाँ नेतृत्व र पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सदस्यता दिइनुपर्ने विषय बहुमतमा पुगेको छ। ओलीमाथि राजीनामाको दबाब परिरहेका बेला आजदेखि एमालेको १०औं केन्द्रीय कमिटी बैठक बसेको छ। बैठकमा ओलीलाई नेतृत्व छाड्न दबाब आउने निश्चित छ।
मुख्यालय च्यासल आगोले जलेपछि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। नेतृत्व छाड्न आफूमाथि दिइएको दबाब सामना गर्नेछन् वा एमालेको कार्यवाहक बागडोर कसैलाई सुम्पिनेछन्, त्यो भने आगामी दिनले देखाउला।
यसअघि असोज २७ देखि सुरु हुने भनिएको बैठकमा ओलीको राजीनामा हातहाती मागिएपछि तयारी नपुगेको भन्दै आजका लागि मिति तय गरिएको हो। असोज ३१ सम्म चल्ने बैठकमा मंसिरमा हुने भनिएको पार्टीको राष्ट्रिय महाधिवेशनबारे पनि छलफल हुनेछ। जेनजी आन्दोलनको उभारमा सत्ताच्युत हुन पुगेका ओलीलाई नेतृत्वबाट पनि बिदा हुन पार्टीभित्रैबाट दबाब बढ्दै गएका बेला भनिमण्डलमा बस्दै गरेको केन्द्रीय कमिटी बैठकलाई चासोको साथ हेरिएको छ।