×

गौतमबुद्ध विमानस्थलः बिना तयारी सञ्चालन,श्रम स्वीकृति नदिँदा काठमाडौंबाट यात्रु लान बाध्यता

images

काठमाडौं । नयाँ श्रम स्वीकृतिका लागि काठमाडौंमै आउनुपर्ने बाध्यता भएपछि भैरहवामा सञ्चालित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने यात्रुहरु दोहोरो मारमा परेका छन् । सरकारले विमानस्थल सञ्चालनमा ल्याए पनि नयाँ श्रम स्वीकृति लिन काठमाडौंमा आउनुपर्ने बाध्यता नहटाएपछि थप समस्यामा परेका हुन् ।

७४ वर्षपछि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेबाट जजिरा एयरवेजले नियमित उडान सुरु गरेको छ । भैरहवाबाट कुवेत उडान गर्दै आएको जजिराले काठमाडौंमा श्रम स्वीकृति लिएर यात्रुहरुलाई गाडीमार्फत लैजाँदै आएको छ ।

जजिरा एयरवेजका जनरल सेल्स एजेण्ट (जीएसए) लिएको सोसाइटी इन्टरनेसनलका अध्यक्ष रविचन्द्र सिंहले नयाँ श्रम स्वीकृति लिएर काठमाडौंबाट भैरहवामा जाने यात्रुहरुलाई आफ्नै खर्चमा गाडीमार्फत पुर्याउँदै आएको बताए । श्रम कार्यालय बुटवलबाट पुरानाहरुलाई श्रम स्वीकृति दिए पनि नयाँका लागि काठमाडौंमै आउनुपर्ने बाध्यता यात्रुहरुमा रहेको छ ।

सामान्यतयाः जजिराले रोजगारीका लागि जाने यात्रुहरुलाई भैरहवाबाट उडान गर्दै आएको छ । त्यही भएर पनि श्रम स्वीकृति लिन काठमाडौंमा आउने यात्रुहरुलाई गाडीमा लगेर भैरहवाबाट उडान गर्नुपर्ने बाध्यता भएको अध्यक्ष सिंहको भनाइ छ ।

सहज र सरल सेवा दिनका लागि भैरहवाबाट उडान गरेपछि श्रम स्वीकृतिका लागि काठमाडौंमै आउनुपर्ने बाध्यताका कारण आफूहरु समस्यामा परेको बताउँदै सरकारसँग यो विषयमा जानकारी गराइसकेको बताए । हामीले सरकारलाई यो विषयमा जानकारी गराइसकेका छौं, अध्यक्ष सिंहले भने, उहाँहरुबाट आश्वासन भने पाएका छौं । हुन त यस्ता विषयहरु विमानस्थल सञ्चालन पूर्वनै सबै तयारी हुनु पर्ने हो ।

तर, विमानस्थल सञ्चालन गर्ने संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र श्रम स्वीकृति दिने श्रम मन्त्रालयबीच समन्वय नहुँदा यात्रुहरुले मात्र हैन, एयरलाइन्सले समेत दुःख पाउँदै आएको छ । जसको कारण एयरलाइन्सले काठमाडौंबाट यात्रु लगेर भैरहवाबाट उडान गर्दै आएको छ ।

यसैबीच श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अवको १ देखि २ महिनाभित्रमा भैरहवाबाटै श्रम स्वीकृति लिने व्यवस्था गर्न लागेको बताए । नयाँ श्रम स्वीकृति दिनका लागि ताहाचलकै जस्तै श्रम कार्यालय भैरहवामा खोल्न लागेको र त्यसका लागि सचिव सहितको टिम शुक्रबार त्यसतर्फ जान लागेको बताए ।

’भैरहवाको समस्याक बारेमा मैले जानकारी पाएको छु, श्रममन्त्री श्रेष्ठले भने, मेनपावर, मेडिकलसहित प्रशिक्षणका सबै सेवाहरु उपलब्ध गराउने गरी कार्यालय स्थापनाको प्रक्रिया तत्कालै अगाडि बढाउँछु’। श्रम कार्यालयका लागि घर भाडामा लिने देखि कर्मचारी व्यवस्थापनको काम सुरु गर्न लागेको बताउँदै यो समस्या धेरै लामो नहुने उनको भनाइ छ ।

’श्रम मन्त्रालयले विमानस्थल बनाइदियो,श्रम मन्त्रालयले चलाउने काम गर्छ,’ श्रम मन्त्री श्रेष्ठले भने । अहिले अनलाइनबाट नयाँ श्रम स्वीकृती लिने व्यवस्था भने गरेको छ । तर,प्रभावकारी रुपमा कार्यन्वयन हुन नसक्दा नयाँ श्रम लिनका लागि काठमाडौंमै आउनुपर्ने बाध्यता छ ।

जजिराले सोमबार, बुधबार र शुक्रबार गरी साताको तीन दिन भैरहवाबाट राति २ः३० बजे उडान गरिरहेको छ । राति उडान गर्दा यात्रुहरुलाई समस्या परेको भन्दै बिहान ७ बजेका लागि स्लट लिने प्रक्रिया अगाडि बढाएको जजिराले जनाएको छ । कुवेतबाट जजिराले बेलायत, अष्ट्रिया, दोहा, ओमानलगायतका देशमा उडान गरिरहेकाले भैरहवाबाट सिधैं बेलायतलगायतका गन्तव्यका लागि टिकट काट्न सकिने बताएको छ ।

हवाई इन्धन भैरहवाकै मूल्यमा देउ
भैरहवाबाट उडान गरे पनि हाल जजिरालाई नेपाल आयल निगमले हवाई इन्धनको मूल्य काठमाडौंकै बराबर लिँदै आएको छ । यस विषयमा सोसाइटी ट्राभलले सरकारलाई भैरहवासम्मको मात्र मूल्य लिन आग्रह गरे पनि निगमले अस्वीकार गरेको बताए ।

ट्राभलका अध्यक्ष सिंहले काठमाडौंसम्म आउने भाडा कटाएर भैरहवामा इन्धन दिन अनुरोध गरे पनि अस्वीकार गरेको बताए । ‘काठमाडौंकै मूल्यमा अहिले हवाई इन्धन दिँदै आएको छ,यो सरासर गल्ती हो, अध्यक्ष सिंहले भने, 'व्यावहारिक रुपमा पनि भैरहवाकै मूल्यमा इन्धन दिनुपर्ने हो ।' थोरै छुट दिँदा पनि ठूलो मात्रामा इन्धन हाल्दा सहज हुन्छ,उनले भने तर यो विषय निगमले सिधै अस्विकार गर्यो ।
हवाई भाडामा २० प्रतिशत छुट
भैरहवाबाट उडान गर्ने यात्रुहरुलाई जजिरा एयरवेजले हवाई भाडामा २० प्रतिशत छुट दिएको छ । यात्रुहरुलाई भैरहवाबाटै उडानका लागि सहज बनाउन भाडामा छुट दिएको जनाएको छ । हाल काठमाडौं कुवेत रुटका लागि जजिराको न्यूनतम भाडा ३३ हजार रुपैयाँ निर्धारण गरेको छ।

भैरहवा कुवेत रुट भएर आउजाउ गर्दा भने यसमा २० प्रतिशत अर्थात् ६६०० रुपैयाँ कममा यात्रा गर्न सकिने  सिंहले बताए।जसको कारण यात्रुहरुलाई काठमाडौंसम्म आउने भाडा, बस्दा लाग्ने खर्चको समेत बचत हुँदै आएको छ ।

बुधबार ४ जेठ २०७९ ०८:२२ PM मा प्रकाशित

प्रतिक्रिया