×

२० अर्ब खर्चेर काठमाडौं रिङरोडमा विद्युतीय बस चलाउने लगानी बोर्डको तयारी  

images

काठमाडौं। लगानी बोर्डले काठमाडौं उपत्यकाको चक्रपथ (रिङरोड) मा विद्युतीय बस सञ्चालन गर्ने महत्वाकांक्षी योजना ल्याएको छ। 

बोर्डले विद्युतीय बस सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न कार्यगत सर्त (टिओआर) तयार पारेको छ। यसपछि परियोजना सम्भाव्यता अध्ययन हुनेछ। चक्रपथको लम्बाई २७.३० किलोमिटर  छ। 

बोर्डले विद्युतीय बस सञ्चालन गर्न ‘इलेक्ट्रिक बस र्यापिड ट्रान्जिट इन रिङरोड अफ काठमाडौं भ्याली’ योजना अघि सारेको हो। 

बोर्डले गरेको प्रारम्भिक अध्ययनअनुसार चक्रपथमा विद्युतीय बस सञ्चालन गर्न करिब २० अर्ब रुपैयाँ (१५ करोड ३० लाख अमेरिकी डलर) खर्च लाग्ने छ। यो लागत १ डलर बराबर १२७ रुपैयाँलाई आधार मान्दा हो । विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारपछि मात्र आयोजना लागत यकिन हुनेछ। पछि लागत बढ्न वा घट्न सक्ने छ।  

बोर्डले विद्युतीय बस सञ्चालन गर्न एक चरणको अध्ययन सकिसेको छ। उक्त अध्ययनअनुसार चक्रपथमा विद्युतीय बस सञ्चालन पूर्वाधार तयार गर्न १० अर्ब रुपैयाँभन्दा बढी खर्च हुनेछ। 

‘तर, यो पहिलो चरणको अध्ययन भएकाले लागत रकम बढ्न सक्छ,’ बोर्डका सहसचिव एवं प्रवक्ता अमृत लम्सालले क्यापिटल नेपालसँग भने। 

सहसचिव लम्सालका अनुसार बोर्डले सम्भाव्यता अध्ययन गरेपछि लगानीका लागि प्रस्ताव आह्वान गर्नेछ। प्रस्ताव गर्ने लगानीकर्ताले आयोजनाको डिपिआर तयार गर्नुपर्ने छ।  

सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा निर्माण गर्न लागिएको आयोजनामा २७ बस स्टेसन रहनेछन्। सडकमा दैनिक १ सय ६० बस गुड्ने क्षमता रहने अनुमान छ।

यस्तै दैनिक कम्तिमा ७५ विद्युतीय बस  सडकमा गुड्नुपर्ने बोर्डको भनाइ छ। विस्तृत संख्या अध्ययनपछि यकिन हुनेछ। विद्युतीय बस सञ्चालन गर्न सोही अनुसारको स्टेशनलगायत अन्य पूर्वाधार बनाउनुपर्ने हुन्छ ।

यद्यपि, कहिलेसम्म चक्रपथमा विद्युतीय सवारी सञ्चालन हुने पूर्वाधार तयार हुन्छ भन्ने विषयमा योजना भने बनिसकेको छैन। 

‘सरकारी नीतिअनुसार विद्युतीय सवारी विस्थापन वा सञ्चालनको कुरा हुन्छ, हामी अहिले भन्न सक्दैनौं,’ लम्सालले भने, ‘आयोजनाको खाका (मोडालिटी), प्रविधि प्रयोग भन्ने विषय लगानीकर्ताले अध्ययन गरेपछि थाहा हुने हो।’ 

के–के हुन्छ परिवर्तन? 

६ मिटर चौडाइको बस स्टेसन, स्मार्ट कार्ड र सिक्कामा आधारित भाडा प्रणाली, बत्ती, सिग्नल, जिपिएस प्रणाली, टर्मिनल र चार्जिङ स्टेसनलगायत निर्माण हुनेछ। त्यस्तै फ्लाइओभर सडक, पुलहरू तयार हुनेछ। 

सन् २०२९ सम्म चक्रपथमा दैनिक हिँड्ने यात्रु संख्या कम्तिमा १७ लाखदेखि बढीमा ३० लाख ८ हजारसम्म रहने बोर्डले अनुमान गरेको छ। यो क्रम २०४९ सम्म पुग्दा कम्तिमा २३ लाख ७ हजारदेखि बढीमा दैनिक ४२ लाख ९ हजार मानिसले चाक्रपथको बाटो प्रयोग गरेर यात्रा गर्नेछन्। 

सोही चाप आधार मानेर पूर्वाधार निर्माण गर्ने योजना बोर्डले लिएको छ। राजधानीमा बढ्दो जनघनत्व र प्रदुषण लक्ष्य गरी विद्युतीय बस सञ्चालन योजना अघि सारेको बोर्डले जनाएको छ। 

साझा यातायातले राजधानीमा ३ वटा बिजुली बस सञ्चालनमा ल्याइसकेको छ । केही महिनाभित्रै साझाले राजधानीको सडकमा ४० वटा बिजुली बस सञ्चालनमा ल्याउँदैछ । यस्तै निजी क्षेत्रबाट पनि सुन्दर यातायातले पनि बिजुली बस सञ्चालन गरिरहेको छ ।

सरकारले विगतमा राजधानीको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म विद्युतीय ट्रलिबस सञ्चालन गरेको थियो। व्यवस्थापकीय अक्षमता र राजनीतिक हस्तक्षेपका कारण ट्रलिबस सेवा बन्द भएको वर्षौं भइसकेको छ। 

सोमबार ३ असोज २०७९ ०८:१७ AM मा प्रकाशित

प्रतिक्रिया