×

नेपाल–बंगलादेशबीच पर्यटन प्रवर्द्धनदेखि व्यावसायिक साझेदारीका विषयमा छलफल

images

पोखरा । नेपाल–बंगलादेशबीच पर्यटन प्रवर्द्धनदेखि व्यावसायिक साझेदारी लगायतका विषयमा पोखरामा छलफल भएको छ । पोखरा पर्यटन परिषद्को समन्वयमा प्यासिफिक एसिया ट्राभल एसाेसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बंगलादेश च्याप्टरको सहकार्यमा ‘नेपाल–बंगलादेश पर्यटन प्रवर्द्धन एन्ड बिटुबी एक्सचेन्ज कार्यक्रम’ पहिलो चरणमा पोखरामा गरेको हो ।

सो कार्यक्रममा नोभेम्बर १६ देखि २१ सम्म गन्तव्य प्रवर्द्धनदेखि व्यावसायिक साझेदारी एवं प्रवर्द्धनका विषयमा छलफलअन्तर्गत पाटाको टोलीले पोखराका पर्यटन व्यवसायीसँग सो विषयमा छलफल गरेको परिषदका महासचिव रामचन्द्र शर्माले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा पाटा बंगलादेश च्याप्टरका अध्यक्ष साहिद हमिद, महासचिव तफिक रेहेमानसहित सहतिको पर्यटन व्यवसायीको टोलीले पोखराका पर्यटन व्यवसायीसँग छलफल गरेका थिए ।

सो टोलीमा बंगलादेशका टुर अप्रेटर, मिडिया र युनिभर्सिटिका पाटा स्टुडेन्ट च्याप्टरका प्रतिनिधि पनि सहभागी छन् । क्षेत्रीय पर्यटन प्रवर्द्धनअन्तर्गत हुन लागेको बिटुबी (बिजनेस टु बिजनेस) सम्झौताका लागि यो टोली नेपाल आइपुगेको हो ।

कार्यक्रम अनुसार नोभेम्बर १७ देखि १९ सम्म  पोखराको प्रमुख गन्तव्यको अवलोकन पोखराका पर्यटन व्यवसायी र सरोकारवाला व्यवसायीसँग अन्तर्क्रिया कार्यक्रम गरिने पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेशसिंह बुडालले जानकारी दिए ।

बुडालले आर्थिक सम्बन्ध दरिलो बनाउन दुई देशबीचका पर्यटकीय क्षेत्रको प्रवर्द्धन व्यवसायिक साझेदारीमा संभाव्यताको खोजीका लागि कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे।

उनका अनुसार यसपछि काठमाडौंमा बिटुबी कार्यक्रममा ‘डेस्टिनेसन इनसाइड’बारे प्रस्तुतीकरण गरिनेछ ।  बंगलादेश पाटा च्याप्टरका अध्यक्ष साहिद हमीदले कोभिड महामारीको चपेटामा परेको पर्यटन क्षेत्र प्रवर्द्धनका लागि नविनतम सोच र  अवधारणा खाँचो औल्याउँदै क्षेत्रीय पर्यटन प्रवर्द्धनमा जोड दिने बताए ।

हमिदले आन्तरिक पर्यटन मुलुककोे मेरुदण्ड भएकाले सन् २०२२ का लागि क्षेत्रीय सहकार्य गरेर अघि बढ्न जरुरी रहेको जनाउँदै अहिलेको प्राथमिकता भनेको ‘सर्ट हल फ्लाइट’ हुने अन्तर्राष्ट्रिय बजार रहेको प्रष्ट पारे । पाटा नेपालले निकट भविष्यमा भारत, श्रीलंका, भुटान, म्यान्मारलगायत मुलुकसँग दुईतर्फी क्षेत्रीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेको  उनले जानकारी दिए ।

परिषदका पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक टिकाराम सापकोटाले भौगोलिक दूरीका हिसाबले जम्मा २७ किलोटिर टाढा रहेको बंगलादेशसँग नेपालले साझेदारीमा आर्थिक समृद्धिका लागि धेरै कार्य गर्न सक्ने बताए ।

उनले कोरोनापछि दुई देशबीचको नेटवर्किङका लागि भएको यो कार्यक्रमले आगामी दिनमा दुईदेशबीच पर्यटन प्रवर्द्धनलगायत व्यावसायिक साझेदारीमा धेरै काम गर्न सकिने बताए ।  कार्यक्रममा पोखराका पर्यटन व्यवसायसँग आवद्ध व्यवसायी र सरोकारवालाहरुको सहभागिता रहेको थियो । रासस

शुक्रबार​ ३ मंसिर २०७८ ०१:१८ PM मा प्रकाशित

प्रतिक्रिया