×

लामाबगर सुरुङमार्ग अनिश्चित,सडक विभाग भन्छ-फाइदा नहुने ठाउँमा सुरुङ बन्दैन

images

काठमाडौं । दोलखाको उत्तरी क्षेत्रमा निर्माण गर्न भनिएको लामाबगर सुरुङमार्गको भविष्य अनिश्चित बनेको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको डेढ वर्षसम्म पनि ठेक्का प्रक्रिया सुरु नभएपछि सुरुङमार्गको भविष्य अनिश्चित बनेको हो ।

सडक विभागका महानिर्देशक (डिजी) अर्जुनजंग थापाका अनुसार लामाबगर सुरुङमार्गले तत्काल फाइदा नदिने भएपछि काम अघि नबढाइएको हो । क्यापिटल नेपालसँग कुरा गर्दै डिजी थापाले भने, ‘हामी त्यस्तो सुरुङमार्गमा लगानी गर्छौं जहाँबाट केही फाइदा लिन सकियोस् । अहिलेलाई काठमाडौंको नागढुंगा र बुटबलदेखि पाल्पा जोड्ने सिद्धबाबा सुरुङमार्ग हाम्रो प्राथमिकतामा छ ।’ 

नागढुंगा सुरुङमार्गको निर्माण कार्य ५१ प्रतिशत सम्पन्न भइसकेको छ । सिद्धबाबा सुरुङमार्गको ठेक्का सम्झौता भइसकेको छ । सिद्धबाबा निर्माण लागि आवश्यक सामान गरिद प्रक्रिया चलिरहेकाले आगामी मंसिरपछि  सुरुङ खन्न सुरु हुने बताइएको छ । 

डिजी थापाका अनुसार डीपीआर तयार भएको लामाबगर सुरुङको नजिकै २÷३ वटा जलविद्युत आयोजनाहरु पनि निर्माण गर्न लागिएकाले सुरुङमार्ग निर्माण हुने सम्भावना रहेको छ । 

‘अहिले त्यहाँ ट्राफिक घनत्व एकदमै कम छ जसले गर्दा सुरुङमार्गमा गरेको लगानी उठ्न गाह्रो पर्छ । त्यहाँ माथितिर २÷३ वटा हाइड्रोपावर छन् रे, ति हाइड्रोपावर सञ्चालन गर्नको लागि सरकारले लगानी गर्दिने हो भने सुरुङमार्ग जरुरी हुन सक्छ ।’ उनले भने, ‘जसरी हुन्छ हामीलाई लगानीको प्रतिफल उठ्ने हुनुपर्यो सामान्य यातायात सञ्चालन गर्नको लागि मात्रै त्यो उपयुक्त छैन ।’ 

स्वदेशी लगानीमा निर्माण हुने सुरुङमार्गको अध्ययन र जिम्मेवारी सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको हुन्छ । तर, गुणस्तर अनुसन्धान केन्द्रका निर्देशक कैलाश श्रेष्ठका अनुसार यसअघि सुरुङमार्ग निर्माणका लागि भनेर बजेट माग गरिए पनि अर्थ मन्त्रालयले दिएको छैन । 

यद्यपी कति बजेट माग गरिएको थियो भन्ने विषयमा भने उनेले बोल्न चाहेनन् । ‘बजेट माग सबै सुरुङमार्गको लागि गरेका थियौं, अहिलेसम्म आएको छैन, कति माग गरिएको कुरा छोडौं आगामी आर्थिक वर्षको लागि पनि बजेट छैन ।’ केन्द्रका निर्देशक श्रेष्ठले भने, ‘हामीलाई ठेक्का प्रक्रिया अगाडि बढाउन बजेट आयो भने काम गर्छौं पहिला डीपीआरको लागि बजेट आएर काम गर्यौं अहिले ठेक्काको लागि पैसा आएको छैन ।’ 

लामाबगर सुरुङमार्ग निर्माणको लागि २०७७ चैतमा डीपीआर तयार भइसकेको छ । हालसम्म पनि ठेक्का प्रक्रिया अगाडि बढ्न सकेको छैन । २०७७ सालमा सडक विभागले तयार गरेको डीपीआर अनुसार लामा बगरमा सुरुङमार्ग बनाउन २ अर्ब ४६ करोड २३ लाख रुपैयाँ लाग्ने छ । देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ‘हेडवक्स’को दायाँतर्फ करिब एक किलोमिटर लामो सुरुङ निर्माण हुने अध्ययनले देखाएको छ । 

उक्त सुरुङ बनेपछि थप १० किलोमिटर सडक बनाउँदा चीनको सीमाना ङ्याङ्लुङ जोडिँदा नाका खोल्नसमेत सहज हुनेछ । सुरुङमार्ग बनेपछि लाप्चे र जुमखोलामा अध्ययन भइरहेका जलविद्युत आयोजना आर्थिक एवम प्राविधिक रुपमा संभाव्य हुने छन् ।

हाल एमभी दुगड ग्रुपको लगानीमा १६० मेगावाटको लाप्चेखोला आयोजना निर्माणको तयारीमा छ । सो आयोजनामा नेपाल बैंकको अगुवाइमा ऋण लगानी सम्झौता भइरहेको छ । यस्तै सानिमा ग्रुपले पनि ६० मेगावाटको जुखमखोला आयोजनाको संभाव्यता अध्ययन गरिरहेको छ । 

अहिले नेपालमा २ दर्जन बढी सुरुङमार्ग निर्माण गर्ने घोषणा भएको छ । तर, अध्ययनको लागि घोषणा गर्दैमा सबै सुरुङमार्ग बन्छ भनेर विश्वास गर्न नहुने सडक विभागको भनाई छ । निर्माण गर्दा लागेको लगानी उठाउने खालका र सवारी आवागमन अत्याधिक भएका ठाउँमा मात्रै सुरुङमार्ग निर्माण हुने विभागले स्पष्टपारेको छ । 

नेपालका प्राविधिक, निर्माण व्यवसायी, ईन्जिनियरदेखि राजनीति गर्ने व्यक्तिसम्मलाई सुरुङमार्ग निर्माण गर्न सकिने विश्वास बढेको विभागका डिजी थापाको भनाइ छ । आत्माविश्वास बढेसँगै नेताहरुले आफ्नो कार्य क्षेत्रका सडक आयोजनाहरुमा सुरुङमार्ग नर्माण गर्ने घोषणा गरेको थापा बताउँछन् । 

तर, घोषणा गरिएका सबै ठाउँमा सम्भाव्यता अध्ययन हुने भए पनि निर्माणको काम अगाडि बढाउन नसकिने विभागले जनाएको छ । देशको आर्थिक अवस्थालाई पनि ख्याल गर्नुपर्ने विभागको भनाइ छ । 
 

मङ्गलबार ७ असार २०७९ ०८:०२ AM मा प्रकाशित

प्रतिक्रिया