बिहीबार, मंसिर १६ २०७८ ०३:४१ PM

×

किसानको आकर्षण नर्सरी खेतीतिर

images

पछिल्लो समय जुम्लाका किसान नर्सरी खेतीमा आकर्षित भएका छन् । तिला गाउँपालिका– ७ का किसान जगबहादुर बुढा यति बेला बिरुवा हुर्काउन व्यस्त छन् ।

जडीबुटी, डालेघाँस र फूल प्रजातिका बिरुवा हुर्काउन लागिपरेका उनी बालबालिका हुर्काउन र नर्सरीमा बिरुवा हुर्काउन उस्तैउस्तै भएको बताउँछन् । यो वर्ष जगबहादुरले नर्सरीमा बिरुवा लगाएकाले कालापहाड जानु परेको छैन । उनको दिन नर्सरीमै बितिरहेको छ । बिरुवामा पानी हाल्ने, गोडमेल गर्ने र रेखदेख गर्ने उनको दैनिकी हो ।

'यो हाइटेक नर्सरी तिला– ७ तुहीगाउँको समृद्धिको आधार बन्ने देखिएको छ । अबको आम्दानीको स्रोत पनि यहाँ उत्पादित बिरुवा नै हुनेछन्', उनी भन्छन्, 'पहिले जडीबुटी कोर्नुपर्छ, वन जङ्गल फँडानी गरेर खोरिया खन्नुपर्छ भन्ने मान्यता थियो, अहिले जडीबुटीको व्यावसायिक खेती गर्नुपर्छ, वन जङ्गल जोगाउनुपर्छ, जलवायु परिवर्तनको असर कम गर्न वृक्षरोपणका क्रियालकपमा जोड दिनुपर्छ भन्ने भावनाको विकास हुन थालेको छ ।'

हाइटेक नर्सरी स्थापना भएपछि अहिले किसानले बिरुवा उत्पादनमा जोड दिएका छन् । हाइटेक नर्सरीभित्र उत्तिस, निमारो, किमु, पौलेनिया, बकाइनो, राइखन्यु, बुद्धचित्त र कल्फी प्रजातिका बिरुवा छन् । उत्तिसका ८ हजार बिरुवा उमारिएको छ । यस्तै निमारो २ हजार ८००, किमु १ हजार ५००, पौलेनिय ५ हजार, बकाइनो १५ हजार र राइखन्यु तीन हजार बिरुवा उत्पादन हुने पेस नेपाल जुम्लाले जनाएको छ ।  
 
विश्व खाद्य कार्यक्रम र वन तथा वातावरण मन्त्रालयको सहयोगमा पेस नेपालअन्तर्गतको क्याप्स कर्णाली परियोजनाले हाइटेक नर्सरी स्थापना गरेको हो । नर्सरी स्थापनामा  २८ लाख ४२ हजार ५७६ रूपैयाँ लगानी गरिएको पेस नेपाल जुम्लाका सामाजिक परिचालक रीता रोकायाले बताए । नर्सरी स्थापनाबाट एक सय घरधुरीका ४५५ व्यक्ति प्रत्यक्ष लाभान्वित छन् ।

नर्सरीमा छरिएको बीउ पेस नेपालले खरिद गरेर किसानलाई उपलब्ध गराएको छ । अहिले नर्सरीको अवस्था राम्रो छ । चिसो मौसममा पनि निकै राम्रो देखिएको छ । मुगुको रारा र चन्दननाथ मन्दिर अवलोकन गर्न आएका पर्यटक हाइटेक नर्सरीमा आएर फोटो खिचेर फर्किन्छन् । जडीबुटीका बारेमा चासो राख्ने गरेको पनि नर्सरी सञ्चालक बताउँछन् । रासस

सोमबार ६ मंसिर २०७८ ०४:०८ PM मा प्रकाशित

प्रतिक्रिया