×

नेपालमा रित्तियो ईभीको स्टक, चिनियाँ अटो कम्पनीलाई सहज, भारतीयलाई घरेलु बजार धान्नै मुस्किल

images

काठमाडौं । अटो निर्माता कम्पनीहरूले आपूर्ति गर्न नसकेपछि नेपाली बजारमा विद्युतीय गाडी अभाव भएको छ । अहिले बजारमा २०२१ को सम्पूर्ण स्टक ‘सोल्ड आउट’ भइसकेको छ । तर, २०२२ को स्टक बजारमा आउन सकेको छैन । 

भारतीय अटो ब्रान्ड टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङसँग अहिले एउटा पनि विद्युतीय गाडी स्टकमा छैन । बजारको मागअनुसार निर्माण कम्पनीहरुले आपूर्ति गर्न नसकिरहेको टाटाको बजार शाखा अधिकृत रुपम श्रेष्ठले बताए । 

चिप अभावका कारण गाडी उत्पादनमा कमी आउनाका साथै भारतको घरेलु बजारमै ईभीको माग बढ्दा नेपाली बजारको मागलाई धान्न अप्ठ्यारो भइरहेको श्रेष्ठ बताउँछन् । 

अत्याधिक रुचाइएको टाटाको ईभी नेक्जनको अहिले बुकिङ खुल्ला छ । तर, बुकिङ गरेको ६ देखि ७ महिनाअघि ल्याउन नसक्ने कम्पनीले जानकारी दिएको छ । सोमबार टाटाले सार्वजनिक गरेको ईभी टाटा टिगोर भने बुकिङ गरेको ३० दिनभित्र ल्याउन सकिने सिप्रदी बताउँछ । 
अहिले गाडीको लोकप्रियता जति धेरै छ पाउन उत्तिकै मुस्किलसमेत छ । अर्को गाडी कम्पनी महिन्द्राको अवस्था पनि उस्तै छ । कोभिडको तेस्रो लहरमै महिन्द्राको सम्पूर्ण ईभी बिक्री भएर स्टक खाली भइसकेको छ । 

गाडी आउने टुंगो नभएसम्म बुकिङ नखुलाउने महिन्द्राका बजार व्यवस्थापक प्रमोद भण्डारी बताउँछन् । यसै गरी हुन्डाइको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलमा भने ईभीको ‘ओभर बुकिङ’ भइसकेको बजार व्यवस्थापक सलिन श्रेष्ठ बताए । 

स्टकमा भएका गाडी त बिक्री भइसकेका छन् त्यसबाहेक पनि बुकिङ धेरै भएर धान्न नसकिरहेको र मागअनुसार भारतबाट आपूर्तिसमेत हुन नसकिरहेको सलिनले बताए ।

‘हुन्डाईमा विद्युतीय गाडीको प्रि–बुकिङ एकदमै धेरै बढेको छ’, श्रेष्ठले क्यापिटल नेपालसँग भने, ‘तर, गाडी अरु बेला जति आउँथ्यो र जति आउनुपर्ने हो त्यति आउन सकेको छैन ।’

२०२१ देखि नै खाली भएको स्टक र प्रि–बुकिङलाई २०२२ मा ‘कभर’ गरिसक्ने लक्ष्मी इन्टरकन्टिनेन्टलको योजना छ । तर, गाडी कहिले आउने भन्ने टुंगो नभइसकेको उनी बताउँछन् । 

एमजी मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता प्यारामाउन्ट मोर्टसका सञ्चालक शिरिष मुरारकाका अनुसार गाडी उत्पादकहरुको पहिलो रोजाइ युरोप÷अमेरिका पर्ने भएकाले त्यहाँका लागि फोकस गरी बनाउने गरेकाले नेपाल उनीहरुको प्राथमिकतामा नपरेको हो । ‘युरोप÷अमेरिका लेफ्टहेन्ड ड्राइभिङ मुलुक हुन् । त्यहाँको बजार ठूलो छ । सोही कारण बजारलाई पहिलो प्राथमिकता राख्छन्’, उनले भने, ‘उसै पनि युरोपमा पेट्रोलियमबाट चल्ने गाडी विस्थापित गर्ने लहर चलिरहँदा विद्युतीय गाडीको माग त्यहीँ उच्च छ ।’

उनीहरुको बजार ठूलो र लेफ्ट हेन्डेड गाडीको माग बढी हुँदा राइट हेन्डेड मुलुक उनीहरुको प्राथमिकतामा नपरेको उनको भनाइ छ । 
चिनियाँ अटोमोबाइल कम्पनी एमजीको आधिकारिक वितरक एमजी मोटर्सको पनि ईभी स्टक अहिले खाली छ । २०२१ को ‘स्टक क्लियर’ भएर २०२२ को मोडल ल्याउने तयारीमा छ । तर, चिनियाँ कम्पनीका गाडीहरू नेपाली बजारमा आउन ढिलाइ भए पनि आपूर्ति अपर्याप्त नहुने बिक्रेता बताउँछन् । 

यसै गरी चिनियाँ विद्युतीय गाडी बिल्ड योर ड्रिम (बीवाईडी) को आधिकारिक वितरक सीम्याक्सले भने आफ्नो स्टकमा अझै ईभीका ३ ओटा मोडल रहेको बजार व्यवस्थापक रोहित नकर्मीले बताए । 

‘हामीसँग अहिले ३ वटा मोडल स्टकमा छन् । यी सम्पूर्ण ईभी मोडलहरु मल्टिपर्पोज भेहिकल हुन् ।’ नकर्मीलाई भने । बीवाईडीको स्टकबाहेक अर्डर गरेको १५ दिनभित्रै गाडी आइपुग्ने उनी बताउँछन् । 

विश्वभरको अटोमोबाइल उद्योग चिप तथा सेमिकन्डक्टर अभावबाट ग्रसित छ । अन्य डिजल पेट्रोल इन्जिन आयल भएका गाडीको आपूर्तिमा खासै समस्या नभए पनि ईभीमा भने यसको असर उल्लेखनीय देखिएको छ । पूर्णरुपमा विद्युतीय प्लेटफर्ममा आधारित हुने भएका कारण सामान्य गाडीहरुको तुलनामा यस्ता गाडीमा धेरै चिपको आवश्यकता पर्छ । तर, चीनले आफ्नै ‘इनहाउस सेमिकन्डक्टर’ को विकास गरेको हुँदा अहिले सहज रुपमा ईभी उत्पादन गरिरहेको छ । 

चीनको अग्रणी अटो निर्माणकर्ता कम्पनी झेजियाङ गिली होल्डिङ ग्रुपले गत डिसेम्बरमा मात्र अत्याधुनिक चिपसेट उत्पादक कम्पनी ड्रागनहक वान स्थापना गरेको थियो । कम्पनीले २०२५ सम्म चीनको ईभीमा प्रयोग हुने कुल चिपको ९० प्रतिशत आफंै उत्पादन गर्ने लक्ष्य लिएको छ । 

यसै गरी डोङफेन मोटरले पनि नयाँ नवीकरणीय ऊर्जामा आधारित सवारीसाधनका लागि आवश्यक पर्ने शक्तिशाली सेमिकन्डक्टर मोड्युलको उत्पादन सुरु गरिसकेको छ भने बीवाईडी कम्पनीले आफ्नो ईभीका लागि आफैं सेमिकन्डक्टर युनिट खडा गर्ने तयारी गरेको छ । 
भारतले पनि गत असोजमा सेमिकन्डक्टर उद्योग निर्माणका लागि ताइवानसँग मिलेर साढे ७ अर्ब डलरको लगानी गर्ने सहमति गरेको थियो । तर, हालसम्म त्यो सुरु हुन सकेको छैन । चिप अभावका कारण भारतको ईभी उद्योगलाई अहिले ठूलो असर परिरहेको छ । 

यसबाहेक अहिले भारतमै ईभीको आन्तरिक माग पनि निकै बढेको छ । परामर्शदाता कम्पनी आरबीएसए एडभाइजर्सको प्रतिवेदनअनुसार सन् २०३० सम्म भारतको विद्युतीय सवारीको बजार बढेर १५० अर्ब डलर पुग्ने अनुमान छ । २०२१ को तुलनामा २०३० सम्म ९० प्रतिशतले बढ्ने आकलन रिपोर्टमा छ । भारतमा ईभीको बिक्री २०२० को तुलनामा २०२१ म २४० प्रतिशतले पुगेको प्रतिवेदनमा देखाइएको छ । 

यसैको प्रत्यक्ष असर नेपालको भारतीय अटो कम्पनीको वितरकहरुमाथि परेको देखिन्छ । पछिल्लो समय नेपाल तथा भारतमा ईभीको माग अत्यधिक बढेकै कारण भारतलाई घरेलु बजार नै धान्न गाह्रो भएको अवस्थामा नेपालमा यसको असर देखिएको हो । 

यसबाहेक एलसीमा मार्जिनको व्यवस्थाका कारण पनि अहिले आयातकर्ता कम्पनीहरुलाई गाडी ल्याउन गाह्रो भएको व्यवसायीहरु बताउँछन् । 


 

बिहीबार १२ फागुन २०७८ ०४:१५ PM मा प्रकाशित

प्रतिक्रिया