×

न्यून भन्सारमा स्प्रिट आयात, स्वदेशी उद्योग ५० प्रतिशत क्षमतामा चल्न बाध्य 

images

काठमाडौं । पहुँच भएका व्यवसायीको लबिङले सस्तो मूल्यमा मदिराको कच्चापदार्थ (स्प्रिट) आयात हुँदा स्वदेशी उद्योग ५० प्रतिशत क्षमतामा चल्न बाध्य बनेका छन् । 

सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति अंगीकार गर्ने बताइरहेका बेला न्यून भन्सार मूल्यांकनमा स्प्रिट आयात भइरहेको सम्बन्धित उद्योगीहरुले बताएका छन् ।  

संसारमै यति सस्तोमा स्प्रिट आयात गर्न दिइँदैन । प्रतिलिटर ५० रुपैयाँ भन्सारमा स्प्रिट आयात हुँदा अर्बाैं लगानीमा खुलेका उद्योग ५० प्रतिशत क्षमतामा चल्न बाध्य भएका छन् । 

अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने बजेट ल्याउने बताइरहेका बेला आयातित स्प्रिटको भन्सारमूल्य बढाउन उद्योगीहरुले माग गरेका छन् । 

विदेशबाट नेपालमा स्प्रिट आयात गर्दा प्रतिलिटर ५० रुपैयाँ भन्सार महसुल लाग्ने गरेको छ । तर, नेपालबाट भारतमा स्प्रिट निर्यात गर्दा प्रतिलिटर २४०, श्रीलंकामा ५५०, भुटानमा १६० नेपाली रुपैयाँ भन्सार महसुल लाग्ने गरेको छ । तैपनि नेपालमा यति सस्तो मूल्यमा स्प्रिट आयात भइरहेको छ । 

स्वदेशका मदिरा उत्पादकको दरिलो लबिङका कारणसस्तो मूल्यमा स्प्रिट भित्रिइरहेको उत्पादकहरु बताउँछन् । 

भारतलगायत छिमेकी अन्य देशले विभिन्न बहाना बनाई अवरोध सिर्जना गरेर स्प्रिट आयातमा प्रतिबन्ध नै लगाएको अवस्था छ । तर, नेपालमा स्प्रिट उत्पादन गर्ने उद्योग पर्याप्त हुँदा पनि सरकारले धमाधम आउन दिइरहेको उनीहरुको तर्क छ । 

एकातिर नेपाली उद्योगहरुले स्थानीय बजारमा भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न परिरहेको छ भने अर्कोतिर उच्च भन्सारदर एवं विभिन्न प्रक्रियागत जटिलताका कारणले भारतलगायतका छिमेकी मुलुकहरुमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्ने अवस्था नभएको उनीहरुको भनाइ छ । 

आर्थिक वर्ष ०७५/०७६ को अनुमानित तथ्यांकअनुसार नेपालमा वार्षिक ३ करोड ९ लाख ७५ हजार २३३ लिटर स्प्रिटको आवश्यकता देखिन्छ । हाल ५ करोड २४ लाख लिटर स्प्रिट उत्पादन क्षमता स्वदेशी उद्योगसँग छ । 

तर, आयातका कारणले कतिपय बन्द हुने अवस्थामा पुगेका छन् । सरकारले स्वदेशी उद्योगलाई बचाउन अहिलेको स्प्रिट आयातको भन्सारदरलाई बढाउनुपर्ने देखिन्छ । 

उद्योगसँग माग धान्ने उत्पादन गर्ने क्षमता भए पनि करिब १ करोड लिटर स्प्रिट विदेशबाट नेपालमा आयात भइरहेको छ । यसबापत करोडौं डलर विदेश गइरहेको उद्योगीहरुको भनाइ छ । 

नेपाली उद्योगहरु आधा क्षमतामा सञ्चालन हुँदा पनि उद्योगको उत्पादन लागतसमेत बढी हुन गएको छ । नेपाल भित्रबाट आपूर्ति हुनसक्ने यस्ता विलासी वस्तुको आयातले नेपालको व्यापारघाटा बढाउने कार्यमा मात्र योगदान गरेको देखिन्छ । 

देशको औद्योगिक उत्थान, विदेशी उत्पादन र स्वदेशी उत्पादनहरुबीच समानस्तरको प्रतिस्पर्धात्मक व्यवहार समेतका लागि भारतलगायत अन्य देशबाट स्प्रिट ८ प्रतिशत घनत्व अल्कोहल शक्ति वा सोभन्दा माथि अल्कोहल शक्ति भएको अनडिनचर्ड इथायल अल्कोहल (रेक्टिफाइन्ड स्प्रिट वा ईएनए भसार संकेत नम्बर २२०७१००) आयात गर्दा प्रतिलिटर कम्तीमा १६० रुपैयाँ भसार शुल्क लिने व्यवस्था गरी असमान व्यवहार हटाउन उद्योगीहरुले सरकारसँग माग गरेका छन् । 
 

बिहीबार १२ जेठ २०७९ ०४:३६ PM मा प्रकाशित

प्रतिक्रिया