×

नागढुंगा सुरुङमार्गको म्याद थपियो, २०८० असारमा सम्पन्न हुने

images

काठमाडौं । निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको म्याद ३ महिना थप भएको छ । कोभिडको पहिलो तथा दोस्रो लहरका कारण निर्माणको काममा बाधा पुगेपछि आयोजनाको म्याद थप गरिएको हो । 

सुरुङमार्ग निर्माणको जिम्मेवारी लिएको जापानिज कम्पनी हाज्मा आन्दो जेभीले कोभिडको असरका कारण निर्माण कार्यमा बाधा पुगेको भन्दै ४१६ दिन म्याद थपको प्रस्ताव गरेको थियो । तर, आयोजना कार्यालयले ८६ दिन मात्रै म्याद थप गर्ने निर्णय गरेको छ । 

म्याद थप भएसँगै २०८० असार मसान्तमा निर्माण कार्य सम्पन्न हुने बताइएको छ । यसअघि आयोजना निर्माण सम्पन्न गर्ने अन्तिम म्याद सन् २०२३ अप्रिल अर्थात् विस २०७९ चैतसम्म रहेको थियो ।  

२०७६ कात्तिक २८ गतेदेखि निर्माण सुरु भएको नागढुंगा सुरुङमार्गको मात्रै हालसम्म ५२ प्रतिशत काम सकिएको छ । त्यसतै समग्र भौतिक प्रगति भने साढे ३६ प्रतिशत भएको आयोजनाले जनाएको छ । २ हजार ६८८ मिटर लामो मुख्य सुरुङमध्ये १ हजार २०० मिटरभन्दा बढी खनिसकिएको छ । 

त्यस्तै क्रस प्यासेज १ सय २८ मिटरमध्ये ४८ मिटर खनिएको आयोजनाले जनाएको छ । त्यस बाहेक १ सय २६ मिटर वर्किङ अडिटको काम भने सकिएको छ । आयोजनाको ठेक्का १५ अर्ब र मुआब्जा रकम ६ अर्ब रूपैयाँभन्दा बढी गरेर कुल लागत करिब २२ अर्ब रूपैयाँ अनुमान आयोजनाले गरेको छ । 

सुरुङमार्ग सञ्चालन भएपछि नौबिसेबाट काठमाडौं २० देखि २५ मिनेटसम्ममा आइपुग्ने बताइएको छ । १२ मिटर चौडाइको सुरुङमार्गको दायाँबायाँ पैदलयात्रीका लागि पेटी (फुटपाथ) पनि रहनेछ । 

बिहीबार १२ जेठ २०७९ ०५:०० PM मा प्रकाशित

प्रतिक्रिया