×

साढे ७ अर्ब लगानीमा काठमाडौंको तीनकुनेमा अत्याधुनिक हस्पिटल बनाउँदै चितवन मेडिकल कलेज

images

काठमाडौं । ठूलो लगानीमा राजधानीमा सुविधा सम्पन्न अस्पताल थपिने भएको छ । तीनकुनेमा सुविधासम्पन्न बहुविशेषतासहितको ठूला अस्पताल निजी लगानीमा सञ्चालनमा आउने भएको हो ।

मेडिकल क्षेत्रका अनुभवी व्यवसायिक व्यक्तिको लगानीमा ३०० बेड क्षमता भएको काठमाडौं इन्टरनेसन हस्पिटल प्राइभेट लिमिटेड सञ्चालनमा आउने भएको छ । हस्पिटलमा चितवन मेडिकल कलेज प्राइभेट लिमिटेडका  संस्थापकहरुको लगानी रहेको छ ।

अस्पताल बनाउन ७ अर्ब ४६ करोड ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अस्पताल निर्माण अहिले प्रारम्भिक चरणमा छ । जग्गा अधिग्रहणको काम लगभग पूरा भइसकेको अस्पतालले जनाएको छ ।

सन् २०२२ को फेब्रुअरीबाट निर्माण सुरु भई २०२४ को जुलाईमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, विभिन्न कारणहरुले गर्दा निर्माणमा ढिलाइ भएको काठमाडौं इन्टरनेसनलले जनाएको छ । अस्पतालले ५ अर्ब ५६ करोड २० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । इक्रा नेपाल लिमिटेडले इक्राएनपी एलबी रेटिङ दिएको छ । 

प्रस्तावित अस्पतामा पहिलो वर्ष १०० र दोस्रो वर्ष २०० वेड थपेर तेस्रो वर्षदेखि ३०० बेडनै  सञ्चालनमा आउने भएको छ ।  

कम्पनीले सन् २०२२ को अप्रिल मसान्तसम्म २ अर्ब २८ करोड २० लाख रुपैयाँ खर्च गरेको छ । जसको ९७ प्रतिशत रकम जग्गा खरिदका लागि खर्च भएको छ । यसका आधारमा प्रस्तावित अस्पतालले ३१ प्रतिशत आर्थिक प्रगति हासिल गरेको छ । हालसम्म भवनको भौतिक निर्माण पाइलटिङ र संरक्षण कार्यमा मात्र भएको छ ।

सन् २०२४ को मध्यमा सम्पन्न गरेर २०२५ को सुरुवातमा १०० बेड सञ्चालनको व्यवस्थापनको तयारी छ । प्रारम्भीक चरणको काममा भएको ढिलाइले अस्पतालको पूर्वाधार निर्माणमा ढिलाइ भएको हो । भवनलगायत अन्य पूर्वाधार निर्माणका लागि ठेकेदार छनौटको तयारी भइरहेको छ । ढिलाइले आयोजनाको लागत बढ्न गएको छ ।

यसअघि अस्पताल बनाउन ५ अर्ब ५५ करोड ७० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । त्यति बेला प्रति बेड लागत १ करोड ९० लाख रुपैयाँ अनुमान गरिएको थियो । तर, लागत बढेर ७ अर्ब ४६ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

यस्तै प्रति बेड लागत पनि बढेर २ करोड ५० लाख रुपैयाँ पुगेको अस्पतालले जनाएको छ । जग्गालगायत अन्यको भाउ बढेकाले लागतमा वृद्धि भएको हो । यसबीचमा संस्थापकहरुले ६० करोड ७० लाख रुपैयाँ लगानी थप्नु पर्ने भएको छ । ७० प्रतिशत बैंकको ऋण र बाँकी ३० प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) लगानी हुने भएको छ । 

मेडिकल क्षेत्रका अनुभवी व्यवसायिक व्यक्तिहरुको लगानीमा अस्पताल निर्माण हुन लागेको हो । अधिकाँश लगानीकर्ता  चितवन मेडिकल कलेजका संस्थापकहरु रहेका छन् । उनीहरुको १५ वर्ष अस्पताल सञ्चालन अनुभव रहेको छ । केही वर्षदेखि काठमाडौं उपत्यकाको स्वास्थ्य सेवा उद्योगले धेरै ठूला र उच्च प्रतिस्पर्धात्मक क्षमता विकास गरेको छ ।

निजी क्षेत्रबाट नर्भिक, ग्रान्डी, स्टार, बयोधा र नेपाल मेडिसिटी जस्ता बहुविशेषता भएका अस्पतालहरू सञ्चालनमा आएका छन् । नयाँ अस्पतालले यी पुरानासँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

चितवन मेडिकल कलेजमा ७०० बेडको अस्पताल सञ्चालन गरेका छन् । मेडिकल कलेज सन् २००७ देखि भरतपुरमा सञ्चालनमा आएको हो । चितवन मेडिकल कलेजमा डा. हरिश्चन्द्र न्यौपाने र उनको परिवारको बहुमत सेयर रहेको छ । 
 

आइतबार​ १२ असार २०७९ ०६:५३ PM मा प्रकाशित

प्रतिक्रिया