काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहरको वर्गीकरणको सुरु भान्साबाट गर्न स्थानीयवासीलाई सचेतना अभियान अारम्भ गरेको छ । भान्साबाटै फोहरको वर्गीकरण गर्दा फाल्ने फोहरको उत्पादन कम हुने भन्दै महानगरको वातावरण विभागले वर्गीकरण सुरु गर्न लागेको हो ।
कामनपाको वडा नं १८, २०, २१ र २३ बाट यो अभियान शुरु गर्न लागिएको विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए । उनका अनुसार यो अभियानलाई लक्षित गरेर झण्डै एक हजार ५०० स्वयंसेवक परिचालनको योजनासमेत बनाइएको छ । सुरुमा प्रत्येक घरमा गएर कुहिने फोहर के हो, नकुहिने फोहर के हो भन्ने बुझाइनेछ । स्थानीयवासीमा सबै फोहर एउटै सम्झेर फाल्दा फोहरको परिमाण बढिरहेको उनले बताए ।
“फोहरको वर्गीकरण हुन नसक्दा एकातिर हामीले चाहिने कुरासमेत फोहर नै सम्झेर फालिरहेका छौँ”, उनले भने, “अर्कातिर फोहरको परिमाण धेरै हुँदा महानगरलाई व्यवस्थापन गर्नसमेत गाह्रो भइरहेको छ ।” स्थानीयवासीलाई फोहरको वर्गीकरणसम्बन्धी ज्ञान दिएसँगै महानगरले कुहिने र नकुहिने फोहरका लागि छुट्टाछुट्टै गाडीको व्यवस्थापन गर्दैछ ।
कुहिने फोहरबाट प्राङ्गारिक मल बनाउने र नकुहिने फोहरमध्ये कागज, प्लाष्टिक सामान लिन आउनेलाई बिक्री गरी बाँकी रहेका मात्रै गाडीमा पठाउँदा फोहरको परिमाण कम हुनेछ । उनले भने, “पहिले चार वडाका बासिन्दालाई सचेत बनाएपछि यो कार्यक्रम अन्य वडामा पनि विस्तार गर्ने योजना छ ।”
हाल काठमाडौँ उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । रासस