काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको असोज २८ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक विषयमा धारणा राख्नेक्रम जारी छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकको प्रारम्भमा कावा सभापति खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए।
यस्तै, महामन्त्री गगनकुमार थापाले बैठकमा विभिन्न प्रस्ताव प्रस्तुत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
आजको बैठकमा केन्द्रीय सदस्यहरू डा शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, शिवप्रसाद हुमागाईं, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आआफ्नो धारणा राखेका थिए।
पदाधिकारी र केन्द्रीय सदस्यहरूले धारणा राख्नेक्रम जारी रहेको र कार्य समितिको बैठक शुक्रबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव पौडेलले बताए।
यसअघि असोज २८ गतेको पहिलो बैठकमा सभापति शेरबहादुर देउवाले आफ्नो विशेष मन्तव्य राख्दै स्वास्थ्यका कारणले उपसभापति खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्नेगरी जिम्मेवारी तोकेका थिए।
गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २४ गते आफ्नै निवासमा हमलामा परी घाइते भएका सभापति देउवा उपचारपछि स्वास्थ्यलाभ गरिरहेको पार्टी कार्यालयले जनाएको छ।