काठमाडौं । नेपालको अग्रणी औद्योगिक घराना सौरभ समूहको सर्वोत्तम सिमेन्टले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । यसका लागि सर्वोत्तमले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।
सर्वोत्तम सिमेन्टले चुक्तापुँजीको १२ देखि १५ प्रतिशतसम्म आईपीओ निष्कासनको तयारी गरेको हो । ‘आईपीओ निष्कासनका लागि ग्लोबल आईएमई क्यापिटलले काम सुरु गरिरहेको छ,’ समूहका प्रबन्ध निर्देशक विष्णु न्यौपानेले भने, ‘साउनको पहिलो वा दोस्रो हप्ताभित्र उद्योगले धितोपत्र बोर्डलाई आईपीओ निष्कासनका लागि आवेदन दिने छ ।’
‘आईपीओमा जान अहिले आवश्यक कागजात सङ्कलनको काम भइरहेको छ । चाहिने कागजात बुझाइरहेको उनको भनाइ छ । ‘साउनमा पब्लिकमा जानका लागि के के डकुमेन्ट पुग्दैन, बोर्डले त्यो पनि माग्छ,’ उनले भने, ‘प्राइभेट कम्पनी पब्लिकमा जाँदा केही डकुटमेन्ट पनि बुझाउनुपर्छ ।’
आगामी आर्थिक वर्षभित्र सर्वोत्तम सिमेन्ट आईपीओमा गइसक्ने न्यौपानले बताए । ‘धितोपत्र बोर्डले ७ देखि ८ महिना लगाउन सक्छ,’ उनले भने, ‘आउने आर्थिक वर्ष आईपीओमा जान्छौं ।’
उद्योगमा जगदम्बा सिमेन्टको प्रवर्द्र्धक सौरभ समूहको ५५ प्रतिशत र किस्न होल्डिङ कम्पनी हङकङको ४५ प्रतिशत लगानी छ ।
तीन वर्षअघि ६ अर्ब रुपैयाँ लगानीमा नवलपरासीमा सर्वोत्तम सिमेन्ट सञ्चालनमा आएको थियो । २५ बिघा क्षेत्रफलमा फैलिएको उद्योगले आधुनिक प्रविधिबाट सिमेन्ट उत्पादन गरिरहेको छ ।
सौरभ समूहले जगदम्बा सिमेन्टमा पनि साझेदारी गरेको छ । सर्वोत्तमले पहिलो चरणमा क्लिन्कर उत्पादन गरेको थियो भने पछि सिमेन्ट पनि बजारमा ल्याएको थियो ।
उद्योगको क्षमता वार्षिक ४ लाख टन छ । उद्योगले पाल्पाको कचल र दोभान खानीबाट चुनढुङ्गा उत्खनन गरिरहेको छ । समूहले डेनमार्कको स्मिथ कम्पनीद्वारा उत्पादित प्रविधि जडान गरेको हो ।
बोर्डले उत्पादनमूलक क्षेत्रलाई पनि सर्वसाधारणमा जानका लागि प्रिमियम मूल्यमा १० प्रतिशतसम्म आईपीओ निष्कासन गर्ने नीतिगत व्यवस्था गरेको छ । शिवम् सिमेन्ट लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरिसकेको छ । यस्तै अर्घाखाँची सिमेन्टले पनि आईपीओ निष्कासन गर्ने जानकारी दिएको छ ।