बाँके । नेपालगञ्ज सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलमा बिहीबार मध्यरातमा आगलागी भएको छ । गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका दर्जन बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् ।
राति ११ बजेदेखि शुरु भएको आगलागी २ बजे मात्र नियन्त्रणमा आएको थियो । प्रत्यक्षदर्शी सरोजकुमार चन्दका अनुसार नेपालगञ्जका दुई, कोहलपुरको एक र नेपालगञ्ज विमानस्थलमा रहेको एक गरी चार दमकललाई आगलागी नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो ।
“फर्निचर पसल रहेकाले आगो नियन्त्रणमा आउन गाह्रो भएको थियो”, उनले भने । चार दमकलसहित प्रहरीले करीब तीन घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो ।
आगलागीबाट करीब सातदेखि १० करोड रूपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । क्षतिको यकिन विवरण भने अध्ययनपछि मात्रै आउने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।
“दर्जन बढी फर्निचर पसल जलेका छन्, अध्ययन नगरेरै वास्तविक क्षति कति भएको छ भन्ने थाहा हुँदैन, हामीले अहिले अनुमान मात्रै गरेका छौँ”, उनले भने । फर्निचर पसलमा आगलागी भएपछि विपीचोक नजिकै घना बस्तीका बीचमा रहेको पेट्रोलपम्पमा आगलागी हुनबाट भने जोगाइएको छ ।
“पेट्रोलपम्पमा आगलागी भएको भए नेपालगञ्जमा ठूलो विनाश निम्तिने थियो”, प्रहरी उपरीक्षक वलीले भने, “पम्पमा आगलागी हुन नदिन हामीले गरेको निरन्तर प्रयास सफल भयो । यसबाट पेट्रोलपम्पका साथै घना बस्ती ठूलो जोखिमबाट बचेको छ । हामीले ठूलो विनाशलाई टारेका छौँ ।”
यसअघि मङ्गलबार नेपालगञ्ज–२ घरबारीटोलमा रहेका दुई कपडा पसलमा आगजनी हुँदा करीब दुई करोड रूपैयाँ बढीको क्षति भएको थियाे ।आगलागीबाट प्रेरणा फेन्सी स्टोर र बडिमालिका अर्डर एण्ड सप्लायर्समा रहेका सबै सामान जलेर नष्ट भएका छन् ।
बडिमालिकाबाट शुरु भएको आगो छेउमा रहेको प्रेरणा फेन्सी स्टोरमा सल्किएको थियो । आगलागीपछि दमकल र सुरक्षाकर्मीले आगलागी नियन्त्रणमा लिएका थिए । रासस