‘कुलेश्वर, कालीमाटी, टेकु र त्रिपुरेश्वर’ मा बेचिन्छन् चोरीका स्पेयर पार्ट्स

पार्ट्स पसलमा भन्सार विभागकाे निगरानी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २, साेमबार,०८:१७:AM  
‘कुलेश्वर, कालीमाटी, टेकु र त्रिपुरेश्वर’ मा बेचिन्छन् चोरीका स्पेयर पार्ट्स

काठमाडौं । चोरी पैठारी भएर भित्रिएका स्पेयर पार्ट्स बेच्ने मुख्य थलो काठमाडौंको ‘कुलेश्वर, कालीमाटी, टेकु र त्रिपुरेश्वर’ रहेको खुलेको छ । 

भन्सार छलेर नेपाल भित्र्याइएका ९० प्रतिशत स्पेयर पार्ट्स बेच्ने त्रिपुरेश्वरदेखि कुलेश्वरसम्मका पसल रहेको पाइएको हो । ‘त्रिपुरेश्वदेखि कुलेश्वरसम्म करिब ५० ओटा स्पेयर पार्ट्स बेच्ने पसल छन्,’ भन्सार विभागका एक अधिकारीले भने, ‘ती पसलले ९० प्रतिशत सामान चोरीको बेच्छन् ।’ 

भन्सार नाकाबाट झोलामा सामान भित्र्याउने र त्यही सामान काठमाडौंको विभिन्न ठाउँमा आउने गरेको छ । ‘भन्सार छलेर ट्रकमा सामान ल्याउन सम्भव छैन,’ ती अधिकारीले क्यापिटल नेपालसँग भने, ‘नेपालबाट पारी जाने र झोलाका झोला सामान ल्याउने र त्यही सामान कुलेश्वर, कालीमाटी, टेकु र त्रिपुरेश्वरका व्यापारीले बेच्ने गरेका छन् ।’ 

अन्य ठाउँमा त्यति धेरै स्पेयर पार्ट्सको कारोबार हुँदैन । अधिकांश कारोबार त्रिपुरेश्वरदेखि कुलेश्वरका पसलले गर्ने गरेका छन् । यो लाइन भएका अधिकांश पसलमा केही समयदेखि विभागले निगरानी समेत बढाइरहेको विभाग स्रोतको भनाइ छ । नेपालमा उसै पनि कानूनी रुपमा दर्ता भएर सञ्चालन भएका वर्कसपभन्दा गैरकानूनी रुपमा खोलिएका वर्कसपको सङ्ख्या धेरै छन् । 

‘कानूनी रुपमा दर्ता भएका वर्कसपले मात्रै वैधानिक तवरबाट भित्रिएका समान बेच्छन्, गैरकानूनी रुपमा खुलेको वर्कसपले भन्सार छली गरेर भित्रिएका सामान बेच्ने गरेका छन्’ एक अटोमोवाइल व्यवसायीले भने, ‘अहिले स्पेयर पार्ट्समा दुई थरी कारोबार देखिएको छ । एउटा वैधानिक तवरबाट भित्रिएका र अर्को भन्सार छलीबाट भित्रिएका ।’ 

याे पनि पढ्नुहाेस् ः

तस्करको कब्जामा स्पेयर्स पार्ट्सको बजार, अर्बौ रुपैयाँ राजस्व छली

स्पेयर्स पार्ट्समा  व्यापक कर छली, वर्कसप र स्पेयर्स पार्ट्स कारोबारीको तथ्याङ्क सङ्कलन गर्दै सरकार​

आधिकारिक सोरुम तथा आधिकारिक वर्कसपले तस्करी भएर नेपाल भित्रिएको सामान बेच्दैनन् । उनीहरुको बिलबिजक पनि सही हुन्छ । तर, भन्सार छलेर भित्रिएका सामानको सही बिलबिजक पनि नहुने र वैधानिक बाटोबाटै भित्रिएका सामान सरह मूल्यमा बेच्ने गरेको अटोमोबाइल व्यवसायी बताउँछन् ।  

अटोमोबाइल व्यवसायीका अनुसार वैधानिक रुपमा खुलेको वर्कसपभन्दा अवैधानिक वा गैरकानूनी रुपमा खुलेका वर्कसपको कारोबार ४ गुणासम्म धेरै हुने गरेको छ । 

‘एउटा ग्राहकले गाडी बनाउन तबसम्म मात्रै आधिकारिक वर्कसपमा लैजान्छ, जबसम्म उसको गाडीको ‘फ्रि–सर्भिस सेवा’ हुन्छ । उसको सर्भिस सेवा सकिएपछि गैरकानूनी रुपमा खुलेका वर्कसपमा लैजाने गरेको छ,’ ती व्यवसायीले भने, ‘हाम्रो वर्कसपमा आउने भनेको गाडी किनेको २ वर्षसम्म मात्रै हो । त्यसपछि अन्यत्रै सर्भिसिङ गराउँछ ।’ 

राज्यले गैरकानूनी रुपमा खुलेका वर्कसपबाट राज्यले ठूलो परिमाणमा मूल्य अभिवृद्धि कर (भ्याट) समेत गुमाइरहेको छ । एकातिर चोरीका सामान बेच्ने मुख्य थलो तिनै वर्कसप बन्दै आएका छन्, जो बिना दर्ता चलेका छन् । त्यसमाथि राज्यले भ्याट पनि गुमाइरहेको व्यवसायीहरु बताउँछन् । 

भन्सार छलेर नेपाल भित्रिएका स्पेयर पार्ट्स सिधैँ काठमाडौं आइपुग्ने र काठमाडौंबाट विभिन्न वर्कसपमा पुग्ने गरेको व्यवसायीहरु बताउँछन् । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अर्थतन्त्र बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');