स्वरुप फेर्दै तुलसीपुर बजार

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै १७, मङ्गलबार,०९:१०:AM  
स्वरुप फेर्दै तुलसीपुर बजार

तुलसीपुर । तुलसीपुर बजार अव्यवस्थित थियो, जनप्रतिनिधिले ल्याएको स्मार्टसिटीको नारालाई त्यही अव्यवस्थित बजारले गिज्याइरहेको थियो । आम मतदाताले अव्यवस्थित बजारलाई टेकेर स्मार्टसिटीको नारालाई व्यङ्ग्य गरिरहेका थिए ।

अहिले सो बजारमा सडक मिचेर बनाइएका भर्याङ, होर्डिङबोर्ड, पर्खाल, सडकबीचमा राखेर गरिएका फुटपाथ, ठेला हटाइयो, त्यसपछि भने बजारको मुहार नै परिवर्तन भएको छ । बजारमा पहिलेजस्तो जहाँ पायो त्यही होर्डिङ बोर्ड छैनन्, सडक मिचेर बनाइएका पर्खाल, भर्याङ, बरन्डा छैनन् । जसले गर्दा बजार सुन्दर देखिन्छ ।

पैदलयात्रीलाई पनि आवतजावतमा सहज भएको छ, भने गाडी आवतजावतमा पनि सहज भएको छ । यही अभियानले गर्दा आम तुलसीपुरवासीले पनि स्मार्टसिटीको आधार तयार भएको भन्दै प्रशांसा गर्ने गरेका छन् । यो कार्यप्रति आम तुलसीपुरवासीले सहयोग गर्ने गरेका छन् ।

“पहिले बजार कुरुप थियो, अव्यवस्थित थियो”, तुलसीपुर–६ निवासी टोपबहादुर महतारले भने, “तर अहिले बजार सुन्दर भएको छ ।” तुलसीपुर उपमहानगरपालिकाले सम्बन्धित घरधनी तथा व्यवसायीले अटेर गरेपछि सडक मिचेर बनाइएका भर्याङ, बरण्डा, होर्डिङबोर्ड आफैँले डोजर लगाएर हटाउन थालेको हो ।

सडक मिचिएका संरचना हटाएपछि बजार सुन्दर बन्दै गएको वडा नं ५ निवासी उमा राजभण्डारीले बताइन् । यो अभियानलाई निरन्तरता दिने हो भने यस क्षेत्रका जनप्रतिनिधिले कल्पना गरेअनुसारका स्मार्टसिटी बन्ने तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिरु रावतले बताए ।

“यो सकारात्मक अभियानलाई निरन्तरता दिन सक्नुपर्छ”, उनले भने, “बजारको मुहार बदलिन्छ ।” उनले व्यवसायी तथा घरधनीलाई जानकारी गराएर मिचिएका सडकका संरचना हटाएपछि बजारको सुन्दरता नै बढेको बताए ।

यस्तै अभियानले तुलसीपुरलाई समृद्ध बनाउन मद्दत पुग्ने स्थानीयकाे मत छ । सो बजार व्यवस्थित बनाउन कार्यविधि बनाएर अगाडि बढेको नगर प्रमुख घनश्याम पाण्डेको भनाइ छ । बजारलाई व्यवस्थित र स्वच्छ बनाउन यो अभियानले मद्दत पुर्याएको उनले बताए ।

यो अभियानले बजार सुन्दर हुनुका साथै विभिन्न घटना, दुर्घटना पनि न्यूनीकरण हुने उनकाे भनाइ छ । रासस

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी प्रदेश -५ बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');