काठमाडौं। जेनजी आन्दोलनको समर्थन गरेको उपहारस्वरुप प्रधानमन्त्री पद पाएकी सुशीला कार्कीले भदौ २८ पछि पहिलोपल्ट राजनीतिक दलहरुलाई सरकारी निवास बालुवाटार बोलाएर राजनीतिक संवाद थालेकी छन्।
आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पदच्युतपछि राजनीतिक दलप्रति अनुदार रहँदै आएकी कार्कीले आगामी फागुनका लागि तोकिएको शीतलनिवासको चुनावी डेडलाइन पछ्याउँदै ११ विभिन्न पार्टीका दोस्रो र तेस्रो तहका नेतालाई बोलाएर संवादमा जुटेकी हुन्।
फागुनकाे चुनावतिर ध्यान दिनुपर्नेमा राजदूत नियुक्ति, झिनामसिना विषयमा अल्झिएकाे भन्दै विवादमा परेकाे सरकारले राजनीतिक दलसँग संवाद अगािड बढाएकाे हाे।
यद्यपि, बालुवाटार संवादमा राजनीतिक दलका शीर्ष ‘बूढा’हरु क्रमशः कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उपस्थित भएनन्।
यी तीन नेतामध्ये ओलीले अन्तरिम सरकारलाई मान्यता दिएका छैनन् भने देउवा मौन र दाहाल समर्थक रहेका छन्।
एमालेले वहिष्कार गर्ने भनिएको छलफलमा दोस्रो तहका नेता पठाएपछि बालुवाटार बैठकले राजनीतिक दल र सरकारबीचको संवादहीनामा आइसब्रेक हुने अपेक्षा गरिएको हो।
कार्कीले भदौ २८ मा प्रधानमन्त्रीको शपथ लिएपछि पहिलो पटक राजनीतिक दलहरूसँग छलफल गरेकी हुन्।
राजनीतिक दलसँग निर्वाचनबारे हुने संवादमा राष्ट्रिय मान्यताप्राप्त दलका अतिरिक्त निवर्तमान संसद्मा प्रतिनिधित्व गर्ने दललाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्कीसँग छलफलका लागि विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १४ मध्ये ११ दलका नेता बालुवाटार पुगेका छन्।
सचिवालयले पठाएको नामावलीमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १४ दलमध्ये १० दलका नेताका नाम मात्रै समावेश गरिएको छ। जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका प्रतिनिधिको नाम छैन।
छलफलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत सहभागी भएका छन्। यस्तै नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी छन्।
नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी भएका छन्।
जनमत पार्टीबाट चन्दनकुमार सिंह सहभागी छन्। एकीकृत समाजवादी पार्टीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपमहासचिव प्रकाश ज्वालालाई छलफलमा बोलाइएको छ।
विघटित प्रतिनिधिसभामा एकीकृत समाजवादीको १०, जनता समाजवादी पार्टीको ७, जनमोर्चा र आम जनता पार्टीको एक÷एक सिट थियो। छलफलमा राष्ट्रिय मान्यताप्राप्त दल र निवर्तमान संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई बोलाइएको थियो।
बैठकमा प्रधानमन्त्री कार्कीले शपथ लिँदा राष्ट्रपति रामचन्द्र पौडेलबाट दिइएको कार्यादेशअनुसार आगामी फागुनको निर्वाचनमा सहभागी हुन राजनीतिक दलका नेतालाई आग्रह गरिन्। कार्कीले राजनीतिक वातावरण धूमिल नबनाउन र निर्वाचनमा भाग लिएर सरकार लैजान ११ दलका नेताहरुलाई आग्रह गरेको प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।
यसअघि प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त सात वटा राजनीतिक दललाई चिठ्ठी पठाएरै फागुन २१ मा तय भएको निर्वाचनबारे छलफल गर्न बैठक सर्वदलीय बोलाएकी थिइन्।
राजनीतिक दलसँग ब्रेकअपपछि प्रधानमन्त्री कार्कीले संवाद गराइदिन यसअघि राष्ट्रपति रामचन्द्र पौडेललाई भनेपछि असोज तेस्रो साता राजनीतिक दलका प्रतिनिधिसँग शीतलनिवासले छलफल गरेको थियो।
बैठकमा पर्यवेक्षकका लागि केदारभक्त माथेमा र विद्याधर मल्लिकलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।
संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन्।