काठमाडौं । नेपाल पूर्वाधार सम्मेलन राजधानीमा सुरु भएको छ । सरकार र नेपाल उद्योग परिसंघसहित विभिन्न संघसंस्थाको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनको प्रथम शत्रमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले निजगढ अन्तरर्राष्ट्रिय विमानस्थलमा निजी क्षेत्रले लगानी साझेदारी गर्नसक्ने बताए । द्रुतमार्गसँग जोडेर विमानस्थलमा लगानी गर्न उनले निजी क्षेत्रलाई आग्रह गरे ।
अहिले काठमाडौंमा केन्द्रित सहरीकरणलाई विकेन्द्रिकरण गर्न कम्तिमा तराइ मधेशसँग जोड्नुपर्ने भन्दै उनले तराइ क्षेत्रमा सहरीकरण बढाउन सकिने बताएका हुन । उनले अन्य पुर्वाधार आयोजनामा अहिले नै निजी क्षेत्रले लगानी गर्नसक्ने सामथ्र्य बनाइनसकेको बताए ।
‘हामीले सुरुङमार्ग बनाउन निजी क्षेत्रलाई दिएका हौं, तर त्यो बन्न सकेन,’ उनले भने, ‘यसले हाम्रो निजी क्षेत्र अहिले पुर्वाधार परियोजनामा लगानी गर्नसक्ने अवस्थामा नपुगेको देखाउँछ ।’
नेता भट्टराईले बजारको विकास गर्न हरेक गाउँसम्म सडक सञ्जाल जोड्नुपर्ने बताए । तराईमा निर्माणाधिन हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माण सम्पन्न गर्ने र प्रकृतिले नै दिएको कोसी, गण्डकी र कर्णाली बेसिनका अधारमा उत्तरदक्षिण राजमार्ग निर्माण गर्न सरकारले पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाई थियो ।
‘बजारको निर्माण गर्न सडक सञ्जालमा सरकारले लगानी गरिदिएपछि निजी क्षेत्रले वस्तु र सेवाको उत्पादन गरेर राजश्व बढाउने आधार तयार गरिदिनुपर्छ’ उनले भने । विकासोन्मुख अर्थतन्त्रमा स्तरोन्नती हुन नसक्दासम्म सरकारले नै पुर्वाधारमा लागनी गर्नुपर्ने भट्टराईको सुझाव थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा.पुष्पराज कँडेलले पछिल्लो समय नेपालले श्रम ऐनदेखि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनलगायत थुप्रै कानूनी सुधार गरेर लगानीको वातारण सुधार्न प्रयास गरेको बताए । डुइङ विजिनेशलाई सुधार गर्न नीतिगत र प्रकृयागत सुधारमा लागिएको उनले जानकारी दिए ।
भारत, चीन, अमेरिका, नर्वेजस्ता मुलुकका लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको र अरु मुलुकका लगानीकर्ता पनि निरन्तर परियोजनाबारे छलफलमा आइरहेको कँडेलले स्पष्टपारे ।
कार्यक्रममा एसियाली विकास बैंक (एडीबी) का महानिर्देशक वूचोङ उमले विश्वब्यापी तापमान बृद्धि र जलवायु परिवर्तनका प्रभावलाई मध्येनजर गरेर रेसिलियण्ट पुर्वाधार निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले संयुक्त राष्ट्रसंघले अघि सारेको दिगो विकास लक्ष्य र नेपालले समृद्धि लक्ष्यलाई जोड्न समुदायमा आधारित पुर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा परिसंघका उपाध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्व राजश्व सचिव लालशंकर घिमिरे, रकभिल्ड टेक्नोलोजी, अस्ट्रेलियाका सीईओ गोविन्द पाण्डे, एडीबीका पुर्व उपाध्यक्ष डा.विन्दु लोहनी लगायतले पछिल्लो समय नेपालमा लगानीको वातारण सुधार भइरहेको र लगानीका नयाँ विकल्पहरुको बारेमा छलफल बढ्दै गएको बताए ।
उनीहरुले भारतलगायत मुलुकले अघि सारेका सार्वजनिक निजी साझेदारीका समस्याहरुबाट सिकेर अघि बढ्नुपर्ने बताए ।