सरकारले भ्रमण वर्षमा घुम्नैपर्ने सूचीमा राखेका २५ गन्तव्य

account_box सुवास योञ्जन ,
प्रकाशित: २०७६ असाेज १७, शुक्रबार,०२:५२:PM  
सरकारले भ्रमण वर्षमा घुम्नैपर्ने सूचीमा राखेका  २५ गन्तव्य

नेपाल भ्रमण वर्ष २०२० (भिजिट नेपाल २०२०)को ‘काउन डाउन’ सुरु भइसकेको छ । १ सय ५ दिनपछि सुरु हुने भ्रमण वर्षको ३ सय ६५ दिनमा सरकारले २० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ । हाल वर्ष २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक र २०१९ को जुन (६ महिना)सम्म ५ लाख ८५ हजार ५ सय ३३ पयर्टक आएका छन् । यद्यपि भ्रमण वर्षका लागि सरकारी तबरबाट खासै ध्यान नदिएको र पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माणमा बेवास्ता गरिएको आरोप लाग्दै आएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्केदेखि नै सुरु हुने काठमाडौं उपत्यकाको ट्राफिक जाम र धूवाँधूलोले नेपाल आउने पर्यटक दिक्क भएर फर्कने गरेको पर्यटन व्यवसायीहरुको दाबी छ । तर काठमाडौं उपत्यकाबाहिर घुमघाममा निस्कने पर्यटकले भने स्वर्गीय आनन्द लिएर फर्कने गरेको व्यवसायीहरु नै बताउँछन् । नेपाल प्राकृतिक, सांस्कृतिक र सौन्दर्यका हिसाबले एउटा अनुपम मुलुक हो ।

सरकारले भने भ्रमण वर्षका लागि भन्दै विभिन्न आयोजना अघि सारिएको र वर्ष २०२० मा पर्यटक आगमन बढाउन क्रियाशील रहेको दाबी गर्दै आएको छ । भ्रमण वर्ष सचिवालय सन् २०२० मा आउने पर्यटकलाई सात प्रदेशमा २५ ओटा नयाँ गन्तव्यको पहिचान गरी त्यसको प्रचारप्रसारमा जुटेको छ । भाषिक, भौगोलिक र अन्य विभिन्न हिसाबले सरकारले भ्रमण वर्षबारे जानकारी पनि दिइरहेको छ । तर व्यवसायी त्यसले मात्रै पर्याप्त नहुने बताउँछन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई भ्रमण वर्षलाई लक्ष्य गरी देश तथा विदेशमा प्रचार प्रसारलाई तीव्र पारिएको दाबी गर्छन् । भ्रमण वर्षका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको दाबी गर्दै उनले २०२० भित्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताए । त्यति बेलासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पनि चौबीसै घण्टा सञ्चालनमा ल्याउने सरकारको तयारी छ । हाल सो विमानस्थल २१ घण्टा सञ्चालनमा छ । ‘२०२० लाई पर्यटनको आधार वर्ष मानेर पछि पनि निरन्तरता दिन्छौं । २०२० मा २० लाख पर्यटक आउने कुरामा हामी ढुक्क छौं,’ मन्त्री भट्टराईले भने । 

भ्रमण वर्ष मूल आयोजक समितिका सदस्य एवम् ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष नवराज दाहालले भ्रमण वर्षलाई नै लक्ष्य गरी २५ ओटा नयाँ गन्तव्य छनोट गरिएको जानकारी दिए । पर्यटन मन्त्रालयले छनोट गरेको १ सय ओटा नयाँ गन्तव्यभित्रबाटै २५ ओटा गन्तव्यको छनोट गरिएको उनको भनाइ छ । ती गन्तव्यका लागि २ महिनाभित्र भ्रमण वर्षको सचिवालयले आवश्यक पूर्वाधार निर्माणदेखि प्रचारप्रसारको स्वरुपलाई तय गर्न समिति बनाएको पूर्वअध्यक्ष दाहालको भनाइ छ । त्यही समितिको सुझावका आधारमा केकस्ता काम गर्ने भन्ने टुङ्गो लगाउनेछ । 

नेपालमा आउने पर्यटकको बसाइ अवधि एकदमै थोरै हुने र बसेको अवधिमा पनि खर्च गर्ने प्रवृत्ति एकदमै कम भएकाले गुणस्तरीय पर्यटक नआएको गुनासो पनि सुन्ने गरिन्छ । पर्यटक औसत बसाइ २०१७ मा १२.६ दिन रहेकोमा २०१८ मा भने १२.४ दिनमा खुम्चिएको छ । त्यस्तै प्रतिपर्यटकको औसत खर्च प्रतिदिन २०१७ मा ५४ अमेरिकी डलर रहेको २०१८ मा ४४ डलरमा सीमित भएको छ । वर्ष २०१७ मा पर्यटन क्षेत्रबाट ६ लाख ५८ हजार ९२ डलर प्राप्त गरेकोमा २०१८ मा ७ लाख ३ हजार १ सय ७९ डलर नेपालले भिœयाएको छ ।

प्रमुख पर्यटकीय गन्तव्य तोक्दा सरकारले सबै प्रदेशलाई समेट्ने प्रयास गरेको छ । कतिपय क्षेत्रका पर्यटकीय गन्तव्य सरकारले नसमेटेको भन्दै जनस्तरबाट विरोधसमेत हुँदै आएको छ । यद्यपि सरकारले अघि सारेका नयाँ तथा पुराना पर्यटकीय गन्तव्यले पर्यटकको बसाइ अवधि बढाउने र खर्च गर्ने प्रवृत्तिमा सुधार ल्याउन सहयोग गर्न सक्ने देखिन्छ । 

प्रदेश १

कञ्चनजङ्घा, ओलाङ्चुङगोला 

ताप्लेजुङमा पर्ने कञ्चनजङ्घाको ओलाङ्चुङगोला पर्यटकहरुका लागि नयाँ गन्तव्य हो । लामो समयसम्म ट्रेकिङ गर्न रुचाउनेहरुका लागि यो गन्तव्य अझ राम्रो हुन्छ । काठमाडौं बसपार्कबाट सार्वजनिक सवारी र हवाईजहाजमार्फत तुम्लिङटार र विराटनगरबाट पनि यहाँ पुग्न सकिन्छ । सार्वजनिक यातायातमा काठमाडौंबाट १२ घण्टाको यात्रापछि सो ठाउँमा पुग्न सकिन्छ । हवाई यात्राबाट विराटनगर र त्यहाँबाट चार घण्टाको बस यात्रापछि त्यहाँ पुग्न सकिन्छ । त्यहाँको याङ्गमा, घुन्सा, कागङबाचे, लुगङथुङ, लेलेप जस्ता प्राचीन गाउँको अवलोकन गर्न सकिन्छ । 

सो क्षेत्रमा २० देखि २८ दिनसम्मको ‘ट्रेकिङ’ गर्न सकिन्छ । त्यहाँ युनिक तिब्बती, किराँती र नेपाली संस्कृतिको झलक, सजिलो सडक पहुँच र पर्यटकहरुलाई बस्न क्याम्पिङ (पाल टाँगेर बस्ने सुविधा) र होटलको सुविधा छ ।

मुन्धुम ट्रेल 

भोजपुरको मुन्धुम ट्रेललाई पूर्वी पहाडको भर्जिन गन्तव्यका रुपमा लिन सकिन्छ । मुन्दुम ट्रेल पूर्वी पहाडी जिल्ला भोजपुर, खोटाङ, सोलुखुम्बु तथा सङ्खुवासभा सीमाक्षेत्रमा पर्छ ।
भोजपुर र खोटाङको सिमानामा पर्ने ३ हजार १ सय ६५ मिटरको टेम्के डाँडा क्षेत्रबाट सुरु हुने पदयात्रा ३ हजार ३ सय ५० मिटरको मैयुङ डाँडा, ४ हजार १ सय ५५ मिटरको सिलिचुङडाँडा हुँदै ३ हजार ७ सय ५० मिटरको साल्पापोखरी १० देखि १४ दिनसम्ममा पुग्न सकिन्छ । 

पदमार्गमा अधिकांश किराँत समुदायका बस्ती रहेको तथा उनीहरुको मौखिक ग्रन्थ ‘मुन्धुम’मा उल्लिखित किराँती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम मुन्धुम रहन गएको हो । यो पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्सेलगायत ८ हजार मिटर अग्ला ६ ओटा हिमाल देख्न सकिन्छ । ३३ ओटा हिमशृङ्खला र तराईको भूभाग अवलोकन गर्न यो ट्रेल आकर्षक गन्तव्यका रुपमा लिइन्छ ।

तीनजुरे मिल्के जलजले 

तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सङ्गमका रुपमा रहेको तीनजुरे मिल्के जलजलेलाई लिने गरिएको छ । एउटै वनमा २८ प्रजातिका गुराँस पाइने भएकाले त्यस ठाउँलाई लालीगुराँसको राजधानी भनेर चिनिन्छ । विशेषगरी दुर्लभ नीलो लालीगुराँस यही क्षेत्रमा पाइन्छ । सो क्षेत्र हुँदै कञ्चनजङ्घा र मकालु हिमाल भ्रमण गर्ने, तमोर नदीमा ¥याफ्टिङ गर्ने र टीएमजे क्षेत्रमा घुम्न सकिन्छ । त्यहाँ ८ देखि १३ दिनको ट्रेकिङ गर्न सकिन्छ । 

प्रदेश २

जानकी मन्दिर

प्रदेश २ को अस्थायी राजधानी जनकपुर क्षेत्रमा रहेको जानकी मन्दिर हिन्दु धर्मावलम्बीहरुको पवित्र धर्मस्थल एवम् आस्थाको केन्द्र हो । जानकी अर्थात् सीताको मन्दिर भारत मध्यप्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानुले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएकाले यसलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ । 

सन् १९११ मा मुगल शैलीमा निर्माण सम्पन्न भएको जानकी मन्दिर नेपालको ख्यातिप्राप्त कलाको उत्कृष्ट नमुना हो । रामनवमीको अवसरमा हरेक चैतमा रामनवमी, वैशाखमा जानकी नवमी, मङ्सिरमा रामजानकी विवाह महोत्सव, असोज पूर्णिमामा कोजाग्रत, साउन–भदौमा झुला महोत्सव र १५ दिने मिथिला माध्यमिकी परिक्रमा धूमधामका साथ मनाइन्छ । जानकी मन्दिरभित्र त्रेताकालीन आभास झल्किने सङ्ग्रहालय पनि छ । मन्दिर परिसरमा रामसीता, राजा जनकलगायतका पहिरनको नमुना र विभिन्न कलात्मक प्रतिमा छन् ।

त्यस्तै जानकी मन्दिरमा ५६ वर्षदेखि भइरहेको अखण्ड रामसीता भजन पनि अवलोकन गर्न सकिन्छ । जानकी मन्दिर अवलोकन एवम् घुमघामका लागि यहाँ दैनिक हजारौं श्रद्धालु भक्तजन एवम् आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । त्यहाँ पाँच दिनको यात्रा गर्न सकिन्छ । 

धनुषाधाम

जनकपुर उपमहानगरपालिकाबाट करिब १९ किमि उत्तरपूर्वमा रहेको धनुषाधाम प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल हो । त्रेतायुगमा राजा जनकले छोरी जानकी (सीता)को विवाहका लागि आयोजना गरेको स्वयम्बरमा श्रीरामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्काे पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको किंवदन्ती छ ।

अहिले पनि धनुषाधाममा धनुषको अङ्गहरु प्रत्यक्ष रुपमा हेर्न सकिन्छ । धनुषाधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ । भक्तजनले धनुषको टुक्रालाई पूजाआर्चना गर्दछन् । धनुषाधामको अवलोकन पनि पनि जनकपुरमा गरिने ५ दिने यात्रामा पूरा गर्न सकिन्छ । 

प्रदेश ३

काठमाडौं दरबार स्क्वायर

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)मा विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार स्क्वायर एक दिनको पैदल यात्रामा अवलोकन गर्न सकिन्छ । काठमाडौं उपत्यकामा रहेका तीन दरबारमध्येको एक पुरानो काठमाडौं राज्यको पुरानो शाही दरबारको अगाडि काठमाडौं दरबार स्क्वायर छ । त्यहाँ त्रैलोक्यमोहन नारायण मन्दिर, कालभैरव, तलेजु मन्दिर, कोटीलिङ्गेश्वर महादेव मन्दिर, हनुमानढोका दरबार, कम्प्लेक्स सङ्ग्रहालयलगायतको अवलोकन गर्न सकिन्छ ।

पाटन दरबार स्क्वायर

काठमाडौं उपत्यकाका प्रसिद्ध तीन सहरमध्ये पर्ने पाटन सबैभन्दा पुरानो सहर मानिन्छ । प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललित पतन, ललितापुरी आदि नामले चिनिन्थ्यो । प्राचीन पाटनको बीचमा रहेको पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रुपमा छ । यो क्षेत्र पनि युनेस्कोको विश्वसम्पदा क्षेत्रमा सूचीकृत छ । 
सत्रौं शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदाले यो क्षेत्र सिँगारिएको छ । शाहवंशीय शासनअघि यो दरबार क्षेत्र केवल राजपरिवारको वासस्थानका रुपमा मात्र नरहेर तिनताकाको प्रशासनको मूल केन्द्र पनि थियो । 

पाटन दरबारको महङ्खवपूर्ण अङ्ग सुन्दरीचोक पनि हो । यहाँ नेवारी वास्तुकलाका अनुपम उदाहरण देख्न सकिन्छ ।  मुख्य दरबारको पश्चिमपट्टि निर्मित शिखरशैलीको २१ गजुर भएको विशुद्व प्रस्तरजडित कृष्णमन्दिर यस क्षेत्रको आकर्षणको केन्द्र बिन्दुका रुपमा छ । त्यसका अतिरिक्त पाटन सङ्ग्रहालय, हिरण्य वर्मा महाविहार, सुनौलो झ्याल, महाबौद्ध मन्दिर, सुनौलो मन्दिर त्यहाँका विशेष आकर्षण हुन् । एक दिनमा यात्रा गरिसक्ने पाटन दरबार स्क्वायर सम्भवतः यो विश्वकै पुरानो बौद्ध धर्मावलम्बीहरुको सहरका रुपमा पनि चिनिन्छ ।  

भक्तपुर दरबार स्क्वायर

युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर ऐतिहासिक दृष्टिकोणबाट मात्र होइन, सांस्कृतिक प्राचीन शिल्पकला एवम् हस्तकलाका लागि महङ्खवपूर्ण पर्यटकीय गन्तव्य हो । 

प्राचीनकालमा मल्ल राजाहरु बसोवास गर्ने गरेको यो क्षेत्रमा ५५ झ्याले दरबार, भूपतीन्द्र मल्लको शालिक, भगवती मन्दिर, भैरवनाथ मन्दिर, ठूलो घण्टा, तुलजा भवानीको तलेजु मन्दिर, सुनको ढोका आदि प्राचीन तथा ऐतिहासिक दृष्टिकोणबाट अत्यन्त महङ्खवपूर्ण कलाकृतिहरुको विशाल एवम् अनौठो भण्डार विद्यमान रहेको पाइन्छ । भक्तपुर दरबार क्षेत्रलाई खुला सङ्ग्रहालयहरुका रुपमा पनि लिने गरिन्छ । एक दिनकै यात्रामा अवलोकन पूरा गर्न सकिने काठमाडौं उपत्यकाको पूर्वी क्षेत्रमा पर्ने भक्तपुर परम्परागत नेपाली संस्कृति, वेशभूषा र काठको युनिक कलाका लागि प्रख्यात छ । 

चितवन राष्ट्रिय निकुञ्ज

चितवनमा रहेको चितवन राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा पुरानो निकुञ्ज हो । सन् १९७३ मा स्थापना भएको निकुञ्जलाई सन् १९८४ मा विश्वसम्पदा क्षेत्रमा सूचीकृत गरिएको हो । 
नेपालको मध्य तराईमा रहेको निकुञ्ज जैविक विविधताका लागि धनी मानिन्छ । सन् १९५१ सम्म चितवन उपत्यका तत्कालीन शासकहरुबीच सिकार खेल्नका लागि निकै प्रचलित थियो । चितवनको केन्द्र भरतपुरबाट १० किलोमिटरको दूरीमा रहेको चितवन राष्ट्रिय निकुञ्ज भ्रमण भरतपुरबाट टाँडी हुँदै सौराहाबाट पनि गर्न सकिन्छ । सौराहा पनि पर्यटकका लागि चितवनको आकर्षक गन्तव्यस्थल मानिन्छ । काठमाडौंबाट भरतपुर विमानस्थलमा दैनिक उडान हुन्छ । 

निकुञ्ज विशेषगरी एकसि“गे गैंडा र पाटे बाघका लागि प्रख्यात छ । निकुञ्जमा ४३ प्रजातिका स्तनधारी प्राणी, ४५० प्रजातिका चराचुरूङ्गी र ४५ प्रजातिका जलथलचर तथा घस्रने प्राणी र १०० भन्दा बढी जातका माछा पाइन्छन् । यहाँ पाइने प्रमुख स्तनधारी प्राणीमा हरिण, चित्तल, बाँदर तथा लङ्गुर बाँदर आदि हुन् । ३ दिनको यात्रामा हात्ती सफारी र जङ्गल सफारीमार्फत दुर्लभ एकसिँगे गैंडालाई नजिकबाट हेर्न पाइनुका साथै अन्य प्रकृतिका पशुपन्छी तथा जनावर, हात्ती प्रजनन केन्द्र, गोही प्रजनन केन्द्रको समेत अवलोकन गर्न सकिन्छ ।

सुनकोसी ह्वाइट वाटर र्याफ्टिङ

सिन्धुपाल्चोकमा पर्ने सुनकोसी नदी ¥याफ्टिङका लागि चर्चित छ । एडभेन्चर स्पोर्ट्समा पनि पर्ने सुनकोसी ह्वाइट वाटरलाई विश्वका १० उत्कृष्ट वाटर ¥याफ्टिङको सूचीभित्र राख्ने गरिएको छ । उच्च गतिमा बग्ने नदीमा सुन्दर दृश्य र बसोवासका लागि उत्कृष्ट क्याम्पिङ साइट छन् । ¥याफ्टिङका लागि ३ दिनको समय उपयुक्त हुन्छ । त्यस क्षेत्रमा बसोवासका लागि आवश्यक होटल पर्याप्त मात्रामा छन् । नेपालमा ¥याफ्टिङ गर्न आउने पर्यटकमध्ये कम्तीमा ४० प्रतिशतको रोजाइ सुनकोसी नै पर्दछ । 

पाँचपोखरी

सिन्धुपाल्चोककै पाँचपोखरी धार्मिक एवम् प्राकृतिक रुपमा चर्चित क्षेत्र हो । हिन्दू धर्मावलम्बीहरुको महङ्खव बोकेको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ३ मा रहेका ५ ओटा पोखरीहरुको समूह हो । 

पाँचपोखरी इन्द्रावती नदीको उद्गमस्थल पनि हो । समुद्री सतहबाट लगभग ४ हजार १ सय मिटरको उचाइमा रहेको पाँचपोखरी क्षेत्र धार्मिक, सांस्कृतिक साथै जैविक विविधताले भरिपूर्ण छ । यो क्षेत्र कस्तूरी मृग, रतुवा, घोरल, झारल र विभिन्न किसिमका चराचुरुङ्गीहरुको बासस्थान हो । बास्नादार सुनपाती, भैरुङपाती, पदमचाल, भुतकेश, पाँचऔंले यार्सागुम्बा आदिको स्रोत पनि हो, पाँचपोखरी । मेलम्चीबाट १० देखि १४ दिनको यात्रामा पोखरीसम्म पुग्न सकिन्छ । यात्राको क्रममा तिब्बती मूलका लामा, तामाङ र ह्याल्मोहरुको मिश्रित सांस्कृतिक सम्पदाहरुलाई हेर्न सकिन्छ । 

रुबी भ्याली–गङ्गा जमुना झरना

धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रुबी भ्याली हिमालको फेदीबाट हेर्दा देखिने हरियाली रुबीको खानी भएको पर्यटकीय गन्तव्य हो । त्यहाँ विभिन्न थरीका बहुमूल्य रुबीहरु रातो, हरियो, नीलो र सेतो ढुङ्गा पाइन्छ । त्यस क्षेत्रको प्राकृतिक सुन्दरता र त्यहाँ पाइने अनेकन जैविक विविधताका कारण धेरैको रोजाइमा रुबी भ्याली पर्ने गरेको छ । तामाङ र गुरुङ संस्कृतिको नजिकबाट अनुभव गर्न पाइनुका साथै खेतीबालीको सुन्दर दृश्य हेर्न सकिन्छ । २४ दिनको यात्रामा अन्नपूर्ण, लाङटाङ, गणेश हिमाल र मनास्लु क्षेत्रका हिमालहरुको सुन्दर दृश्य अवलोकन गर्न पाइन्छ । त्यहाँबाट तीनसुरे लेक पहाड पुग्न सकिन्छ । जहाँबाट गणेश हिमाल, लाङटाङ, शृङ्गी हिमाल, मनास्लु रेन्ज, लम्जुङ हिमाल, अन्नपूर्ण, धौलागिरी र धेरै हिमशृङ्खलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । 

सुन्दरीजल–चिसापानी–नगरकोट–धुलिखेल–नमोबुद्ध–पनौती ट्रेक

सुन्दरीजल–चिसापानी–नगरकोट–धुलिखेल–नमोबुद्ध–पनौती ट्रेक क्षेत्र ट्रेकिङ गर्नेहरुका लागि नयाँ गन्तव्य हो । काठमाडौं उपत्यकाबाट नजिकको ट्रेकिङ रुटका रुपमा लिइने यस क्षेत्रलाई ३ देखि ५ दिनको यात्रामा अवलोकन गर्न सकिन्छ । यात्राका क्रममा धार्मिक एवम् प्राकृतिक सुन्दरतालाई नजिकबाट नियाल्न सकिन्छ । गणेश हिमाल, गौरीशङ्कर हिमाल, लाङटाङ र मनास्लुलाई हेर्दै यात्रा हुने भएकाले यो रुट महङ्खवपूर्ण मानिन्छ । नगरकोटबाट सूर्योदयको अवलोकन गर्दै नमोबुद्धमा गौतम बुद्धको दर्शन गर्न पाइन्छ ।

गण्डकी प्रदेश

मनास्लु सर्किट : चुम भ्याली

नेपालमा धेरै रमाइला र मनोरम दृश्यावलोकन गर्दै पदयात्रा गर्न सकिने विश्वमै चर्चित पदमार्गका रुपमा चिनिने ‘मनास्लु सर्किट ः चुम भ्याली’ गोरखामा पर्छ । गण्डकी प्रदेशमा अवस्थित मनास्लु पदमार्गलाई अन्नपूर्ण सर्किटको वैकल्पिक पदमार्गका रुपमा पनि लिने गरिन्छ । 

अन्नपूर्ण सर्किटमा सडकका कारण बढी भीड हुने हुनाले उस्तै उचाइ भएको यो पदमार्ग केही समययता रुचाइने पदमार्ग बन्दै गएको छ । शान्त एवम् रमणीय पदयात्रा गर्न रुचाउनेका लागि मनास्लु सर्किट पहिलो रोजाइ बन्दै गएको छ । 

मनास्लु लार्केला पास हुँदै ५ हजार १ सय ६ मिटर उचाइको पदमार्ग १० देखि १५ दिनसम्म लगाएर घुम्न सकिन्छ । यो निषेधित क्षेत्र (रेस्ट्रिक्टेड एरिया) भएकाले कम्पनीमा दर्ता भएका एक जना कामदार र एक जना गाइड साथमा अनिवार्य लैजानुपर्छ । विदेशीहरुलाई पदयात्रा गर्दा १० दिनको १ सय अमेरिकी डलर परमिट शुल्क लाग्ने गर्दछ । मनास्लु सर्किटमै पर्ने अर्को पर्यटकीय गन्तव्य हो, चुम भ्याल । गोर्खाको चुमनुब्री गाउँपालिका ६ को चुम्चेत र ७ को छेकम्पारमा चुम उपत्यका फैलिएको छ । त्यहाँ ७ सय वर्षभन्दा पुराना प्राचीन गुम्बा छन् । यहाँको शान्तिप्रिय संस्कार र संस्कृति, बौद्ध धर्मसम्बन्धी प्राचीन मानी, कानी, छ्योर्तेन, चैत्य, स्मारक र तिब्बती संस्कृतिको अलग्गै महङ्खव छ ।

सिद्ध गुफा बन्दीपुर

सिद्ध गुफा तनहुँ जिल्लाको बन्दीपुर नगरपालिकामा अवस्थित छ । पृथ्वी राजमार्गको विमलनगर भन्ने ठाउँबाट केही मिनेटको पैदल यात्रा गरेपछि यो गुफा पुग्न सकिन्छ । यो नेपालको मात्र नभई एसियाकै सबैभन्दा ठूलो गुफा हो । सिद्ध गुफाको गहिराइ ४३७ मिटर र उचाइ ५० मिटर छ । यो गुफामा एक सन्त सिद्ध बाबाले ज्ञान प्राप्त गरेको र उनै बाबाको कृपा र अवशेष हेर्न मानिसहरु आउने गरेको पाइन्छ । कालो र डरलाग्दो भए पनि यो गुफाको चर्चा देशविदेशमा छ । एडभेन्चर पर्यटनको मज्जा लिन गुफासँगै बन्दीपुरको यात्रा करिब ३ दिनमा पूरा गर्न सकिन्छ । 

अपर मुस्ताङ – दामोदर कुण्ड

मुस्ताङमा रहेको दामोदर कुण्ड हिन्दू धमावलम्बीहरुले महङ्खवपूर्ण रुपमा लिने कुण्डमध्ये एक हो । समुद्री सतहबाट ४ हजार ८ सय मिटर उचाइमा अवस्थित मुस्ताङको पनि अति विकटस्थलमा रहेको दामोदर कुण्ड यात्रा गर्न जति कठिन छ, त्यति नै रोमाञ्चकारी पनि छ । 
दामोदर कुण्ड जान दुई बाटा छन् । एकातिर पोखरादेखि जोमसोमसम्म हवाई यात्रापश्चात् जोमसोम छुकसाङ ताङवे द्ये हुँदै दामोदर कुण्ड पुगिन्छ भने अर्काेतिर जोमसोम–घमी चराङ यारा धिमदाढी हुँदै पनि जान सकिन्छ । दामोदर कुण्डमा जनैपूर्णिमा र चैते दसंैका दिन विशेष मेला लाग्छ । हिन्दूहरुका प्रमुख तीर्थस्थलमध्ये एक मानिने मानसरोवरबाट आएको पानी दामोदर कुण्डमा भएको भन्ने जनविश्वासका कारण पनि हिन्दू धर्मावलम्बीहरुका लागि निकै महङ्खवपूर्ण मानिन्छ । करिब १० देखि १५ दिनको पैदल यात्रामा त्यहाँको यात्रा गर्न सकिन्छ ।

मार्दी हिमाल बेसक्याम्प

अन्नपूर्ण सर्किट पदमार्गभित्रको एक प्रमुख रुट हो, मार्दी हिमाल बेसक्याम्प रुट । यो नयाँ पदमार्ग हो । यो ट्रेकिङ रुटबाट अन्नपूर्ण रेन्ज, धौलागिरी, माछापुच्छ्र«े, मनास्लुलगायत हिमाल अवलोकन गर्न सकिन्छ । बाटोमा हरियाली जङ्गल तथा स्थानीय बस्तीसमेतको अवलोकन गर्न सकिने यो क्षेत्र ५ देखि ७ दिनसम्म लगाएर घुम्न सकिन्छ । कास्कीको काँडेबाट सुरु हुने यो ट्रेकिङ रुट अस्ट्रेलियन क्याम्प, पोथाना, पितम देउराली, फरेस्ट क्याम्प, लो क्याम्प, बतासे डाँडा हुँदै हाइक्याम्पमा पुगेर टुङ्गिन्छ ।  
हाइक्याम्पबाट बेसक्याम्प पुग्न करिब ४ घण्टा लाग्छ । मार्दी बेसक्याम्पमा चिसो हावा चल्ने हुँदा केही बेर बसेर पुनः हाइक्याम्प फर्किनुपर्छ । बाटोमा खानबस्न सुविधायुक्त होटल खोलिएका छन् । थोरै समय भएका र थोराङ्ला पास गर्न नसक्नेहरुका लागि यो उपयुक्त रुट हुन सक्छ ।

प्रदेश ५

लुम्बिनी

गौतम बुद्धको जन्मस्थलका रुपमा परिचित लुम्बिनी रुपन्देहीमा पर्छ । विभिन्न बौद्ध वाङ्मयहरुमा बुद्धको जन्मस्थल भनेर लुम्बिनी नाउँको एउटा उपवनलाई चिनाइएको छ भने सो उपवनमा कालान्तरमा विभिन्न मानवीय गतिविधिहरु हुन थालेको पाइन्छ । 

लुम्बिनी अञ्चल बुद्धकै जन्मस्थलको नामबाट नामकरण गरिएको हो । लुम्बिनी बौद्ध धर्मावलम्बीहरुको विशेष ऐतिहासिक तीर्थस्थलका रुपमा विश्वमै चर्चित छ । यसलाई युनेस्कोले विश्वसम्पदा क्षेत्रमा सूचीकृत गरेको छ । गौतम बुद्धको जन्मस्थानका रुपमा परिचित लुम्बिनीमा पीपलको लहराको ठूलो बगैंचा छ । गौतम बुद्ध जन्मदाँका विभिन्न समयका अवशेष रहेको लुम्बिनीमा मायादेवीको मन्दिरसमेत महङ्खवपूर्ण तीर्थस्थलका रुपमा रहेको छ । 

तिलौराकोट

तिलौराकोट कपिलवस्तुमा पर्ने एक गाउँ हो । तिलौराकोट भगवान् गौतम बुद्धले २९ वर्ष बिताएको ठाउँ तथा उनका बुबा राजा शुद्धोधनको राजाप्रासाद हो । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धसँग सम्बन्धित भएका कारण उक्त स्थल विश्वप्रसिद्ध छ । सदरमुकाम तौलिहवादेखि करिब तीन किलोमिटर उत्तर वाणगङ्गा नदी किनारमा अवस्थित तिलौराकोटकमा अहिले जीर्ण अवस्थाका तीन ओटा भग्नावशेष मात्र बाँकी छन् । तिलौराकोटभित्र मुख्य तीन भग्नावशेषका रुपमा दरबार, पूर्वी द्वार र पश्चिमी द्वार छन् ।

थवाङ–जलजला

रोल्पाको सदरमुकाम लिबाङबाट जलजला करिब २४ कोश उत्तरमा छ । प्रत्येक वर्ष तीन पटक नियमित वराह पूजा हुने उक्त क्षेत्र भौगोलिक रुपमा मनमोहक र रमणीय छ । जिल्लाकै अग्लो स्थानको जलजला थबाङ गाउँपालिकामा पर्छ । साविक थबाङ, जेलबाङ, धबाङ, मिरुल र उवा गाविसको केन्द्रमा रहेको त्यहाँ केही महिना हिउँ पर्छ । हिउँदमा भेडाबाख्रा चर्छन् । भौगोलिक रुपमा सुन्दर भएकाले सबैलाई लोभ्याउँछ । सशस्त्र द्वन्द्वका समयमा यो क्षेत्रलाई माओवादीले सुरक्षित तालिम केन्द्रका रुपमा प्रयोग गरेका थिए । समुद्री सतहबाट

३१९३ मिटर उचाइमा रहेको यस क्षेत्रमा वैशाख, जेठ र साउने पूर्णिमाका दिन विशेष मेला र पूजाआजा हुने गरेको छ । 
सिमखेत प्रकारको जमिनमा पाइला राख्दा थलथल गर्छ । श्रद्धालुले जमिनमा हिँड्दा कपासमा हिँडे जस्तो अनुभव गर्छन् । १४ दिनको यात्रामा जलजलामा धूपी, बाँज, सेतो गुराँस, लालीगुराँस, भोजपत्र, लेकाली सल्लालगायत वनस्पति र जडीबुटीको अवलोकन गर्न सक्छन् । त्यसैगरी डाँफे, मुनाल, कालिज, बँदेल, बाघ, भालु, घोरल, मृग, रातेलगायत जनावर पनि देख्न सकिन्छ । जलजलाबाट धौलागिरी र सिस्ने हिमशृङ्खला नजिकैबाट देख्न सकिन्छ ।

कर्णाली प्रदेश

से फोक्सुण्डो ताल

डोल्पा जिल्लामा पर्ने से फोक्सुण्डो ताल शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र रहेको हिमाली सफा पानीको ताल हो । फोक्सुण्डो ताल नेपालको सबभन्दा गहिरो र ठूलो ताल हो । समुद्री सतहभन्दा करिब ३ हजार ९ सय मिटरको उचाइमा कान्जिरोवा हिमालको काखमा रहको यो ताल (वाई) आकारको छ । फोक्सुण्डो तालबाट सुलिगाँड झरना पनि बग्छ ।  
रिङ्मो गाउँमा ३०–४० हजार वर्षपहिले गएको पहिरोका कारण यस तालको उत्पत्ति भएको किंवदन्ती छ, जुन गाउँ यस तालको दक्षिणी छेउमा अहिले पनि छ । केही समयको अन्तरालमै नीला र फिक्का नीलो रङमा पानी बदलिनु यसको तालको प्रमुख विषेशता हो । कुनै पनि प्रकारका जीवजनावर अर्थात् जलचर नहुनु अर्को विशेषता हो ।
फोक्सुण्डो तालबाट निस्केकोे फोक्सुण्डो झरना नेपालकै सबैभन्दा ठूलो झरना हो । नेपालगञ्जदेखि जुफालसम्मको हवाई यात्राबाट त्यहाँ पुग्न सकिन्छ । १० देखि १६ दिनसम्म बसेर त्यो क्षेत्रको अवलोकन गर्न सकिन्छ ।

रारा ताल

मुगुमा अवस्थित रारा तालमा पुग्न सदरमुकाम गमगढीबाट परिश्चमतर्फ करिब ३ घण्टाको पैदल यात्रा गर्नुपर्छ । १०.८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्बाइ ५ किलोमिटर र अधिकतम चौडाइ ३.२ किलोमिटर छ भने गहिराइ १ सय ६७ मिटर छ । प्रकृतिको उपहारका रुपमा सिर्जित रारा तालको अवलोकन गर्दा रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियालीका साथै त्यहाँ पाइने कस्तूरी, रतुवा जस्ता जनावर, डाँफे र अन्य चराचुरुङ्गीहरुको समेत अवलोकन गर्न पाइन्छ । 

रारा राष्ट्रिय निकुञ्ज १०६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । दिनभर पटकपटक आफ्नो रुप फेरिरहने रारा ताल जेठदेखि असोजसम्म विभिन्न फूलहरुले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ । रारा तालको अर्को विशेषताका रुपमा विश्वमा अन्यत्र कहीँ नपाइने असला (हिमाली) माछा पाइन्छ । रारा तालबाट करिब ३ घण्टाको पैदल यात्रापश्चात् यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ । जहाँबाट रारातालको मनमोहक दृश्यका साथै सैपाल हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । राराको यात्रा ७ देखि १० दिनमा गर्न सकिन्छ । 

लिमी भ्याली

हुम्ला जिल्लामा पर्ने लिमी भ्याली पर्यटकीय दृष्टिकोणले महङ्खवपूर्ण मानिन्छ । सदरमुकाम सिमकोटबाट ४ दिनको पैदल यात्रापछि लिमी भ्यालीमा पुग्न सकिन्छ । समुद्री सतहबाट ३ हजार ६ सय ६० मिटरको उचाइमा रहेको लिमी तिब्बती जीवनशैलीका कारण पनि पर्यटकको रोजाइमा पर्ने गरेको छ । तीन ओटा गाउँ हल्जी, तिल र जाँग मिलेर यो उपत्यका बनेको छ । हल्जीमा ८२ घर छन् भने तिलमा ५२ र जाँगमा ६० घरपरिवार बस्छन् । एउटा गाउँबाट अर्को गाउँ पुग्न करिब तीन घण्टा लाग्छ । यसमध्ये हाल्जी गाउँको प्रमुख आकर्षण हो, हल्जी गुम्बा । जुन हजार वर्षभन्दा पनि पुरानो मानिन्छ । लिमी भ्यालीका बासिन्दा घरैपिच्छे एक जनाका दरले रोजगारीका लागि चीनको ताक्लाकोट जाने गर्छन् । यस भ्यालीका बासिन्दाको मुख्य बाली जौ, गुलियो फापर र आलु हो । हल्जीको महङ्खवपूर्ण बाली भने ‘उवा’ हो ।

सिमकोटबाट लिमी जाँदा दुई ओटा पास छन्, न्यालुला र नाराला । न्यालुला ५ हजार मिटरको पास हो  भने नाराला हिल्सा भएर लिमी जानेले चढ्नुपर्छ  । न्यालुला पुग्नुभन्दा पहिले सेलिमा सो नामको एउटा सुन्दर ताल भेटिन्छ  । यो सबैको थकाइ मेटाउने बिसौनी जस्तै हो । पासमा पुग्न करिब चार घण्टा लाग्छ  । मौसम सफा भएको दिन न्यालुलाबाट कैलाश पर्वतसमेत देख्न सकिन्छ । लिमी भ्याली १० देखि १४ दिन लगाएर घुम्न सकिन्छ ।

सुदूरपश्चिम प्रदेश

खप्तड राष्ट्रिय निकुञ्ज

सुदूरपश्चिम प्रदेशका ४ पहाडी जिल्ला बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सङ्गमस्थलका रुपमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज २ सय २५ वर्गकिलोमिटरमा फैलिएको छ । समुद्री सतहबाट २ हजार ४ सयदेखि ३ हजार ७ सय मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा रहेको निकुञ्ज विश्वकै राम्रो क्षेत्रमध्ये गनिन्छ । खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ ओटा पाटन छन् । खप्तड बाबाको कुटी त्रिवेणी नदी, खापर दह, शिव मन्दिर, सहस्रलिङ्ग, गणेश मन्दिर, नागढुङ्गा, केदारढुङ्गा जस्ता धार्मिक स्थल निकै प्रख्यात छन् । सदियौंदेखि खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलामध्ये गङ्गा दसहरामा हजारौं तीर्थयात्री भेला हुन्छन् । त्रिवेणी नदीमा स्नान र सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच त्यहाँको प्रमुख आकर्षण हो ।  

सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ । यहाँ २५ मैदान मात्र छैनन्, वरिपरि ५३ ओटा थुम्का छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ । किंवदन्तीअनुसार पाँच पाण्डवमध्येका एक भाइ भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का बनेका हुन् । खप्तड पुग्ने धेरै बाटो भए पनि डोटीको सिलगढीबाट जाने बाटो धेरै चल्तीमा छ । सिलगढी पुग्न पूर्वपश्चिम राजमार्गको अत्तरिया, कैलालीबाट नौ घण्टाको बस यात्रा गर्नुपर्छ वा नेपालगञ्जबाट हवाई यात्रा गरेर डोटी उत्रिन सकिन्छ । निकै अप्ठ्यारो गन्तव्यका रुपमा परिचित खप्तड तपस्याका लागि चर्चित क्षेत्र हो । यस क्षेत्रलाई ७ देखि १२ दिनसम्म अवलोकन गर्न सकिन्छ । 

कर्णाली र्याफ्टिङ

सुदूरपश्चिमको प्रवेशद्वार चिसापानीको कर्णाली नदीमा ¥याफ्टिङको मज्जा लिन सकिन्छ । विश्वकै उत्कृष्ट ¥याफ्टिङ हुने नदीमा पर्ने कर्णाली सुदूरपश्चिम प्रदेशको सिमाना भएर बग्छ । सुदूरपश्चिम र कैलाली घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि कर्णालीको ¥याफ्टिङ प्रमुख आकर्षण हो । 

चिसापानीको सोल्टादेखि टीकापुर पार्कसम्म ¥याफ्टिङ गर्न सकिन्छ । नेपालमा ‘क्याकिङ ट्रेक’ र ठूलो मात्राको ¥याफ्टिङका लागि सबैभन्दा राम्रो र सुरक्षित स्थान हो, कर्णाली । दुर्गम क्षेत्रको अवलोकन, जङ्गलबीचको क्यान्योइङ र विभिन्न वन्यजन्तुको अवलोकन यो ¥याफ्टिङको आकर्षण हो । ७ देखि १० दिनभित्र ¥याफ्टिङ गरेर फर्किन सकिन्छ । 

थप ७५ गन्तव्य 

प्रदेश १
ताप्लेजुङ : तिङबुड पोखरी
पाँचथर : गुरु फाल्गुनान्द सर्किट (लोब्रे कुटी–गजुरमुखीधाम–लाराम्मा–चुक्रीनाम्बा)
इलाम : फिकल–कन्याम–श्रीअन्तु सर्किट
सङ्खुवासभा : बालेश्वर ऐतिहासिक गुफा
धनकुटा : हलदे पटके डाँडा पर्यटक ट्रेल
खोटाङ : बराहपोखरी
सोलुखुम्बु : पाँचपोखरी
ओखलढुङ्गा : थालेदम्बा डाँडा
उदयपुर : उदयपुरगढी
झापा : सहिद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र, अर्जुनधारा पर्यटकीय क्षेत्र
मोरङ : धनपालगढी पर्यटकीय क्षेत्र
सुनसरी : पिण्डेश्वर–दन्तकाली पदमार्ग


प्रदेश २
सिरहा : सहलेस दरबार पर्यटन क्षेत्र
सर्लाही : नाडी ताल
महोत्तरी : जलेश्वर मन्दिर
रौतहट : मरघर सिमसार क्षेत्र, पतौरा पुराताङ्खिवक महादेव मन्दिर पर्यटकीय क्षेत्र
बारा : सिम्रौनगढ
पर्सा : घडिअर्वा पोखरी
सप्तरी : छिन्नमस्ता


प्रदेश ३
दोलखा : जिरी–शैलुङ पर्यटन पदमार्ग
सिन्धुली : सिन्धुलीगढी
रामेछाप : सुनकोसी ¥याफ्टिङ
काभ्रेपलाञ्चोक : महाभारत ट्रेल
नुवाकोट : कल्चेडी–झिल्केश्वर–देवीघाट–भैरवी–दुप्चेश्वर सर्किट
रसुवा : तामाङ हेरिटेज ट्रेल
धादिङ : स्काई ट्रेल, रानी झरना क्यानोनिङ 
चितवन : बीसहजारी ताल, सोमश्वर गढी पर्यटन विकास माडी, पटियानी पर्यटकीय क्षेत्र
मकवानपुर : मकवानपुरगढी
भक्तपुर : नीलबाराही मन्दिर÷पार्क
काठमाडौं ः दहचोक
ललितपुर : नागदह पर्यटकीय क्षेत्र, गोदावरी फुलचोकी हाइकिङ

गण्डकी प्रदेश 
लमजुङ : काउलेपानी
तनहुँ : तनहुँ कालिका सहिद तथा शान्तिपार्क
कास्की : मौजा सिक्लेस पर्यटकीय क्षेत्र
मनाङ : नार्फु ट्रेल
मुस्ताङ : लोमान्थाङ दरबार 
पर्वत : दुर्लङ क्यानोनिङ
स्याङ्जा : सातौं–चण्डिकालिका क्षेत्र, आलमदेवी
बाग्लुङ : भुकण्डे भैरवस्थान, गाजाको दह, ढोरपाटन आरक्ष क्षेत्र
नवलपरासी : दाउन्ने देवी
म्याग्दी : घोरेपानी पर्यटकीय क्षेत्र, रघुगङ्गा, रुप्से डाँडादेखि धौलागिरि आइसफल पदमार्ग


प्रदेश ५
नवलपारासी : रामग्राम
पाल्पा : तालपोखरा रम्भादेवी मन्दिर 
अर्घाखाँची : पाणिनि तपोभूमि
गुल्मी : रेसुङ्गा तपोभूमि, रुरु क्षेत्र
रुकुमपूर्व : ढोरपाटन–मैयाकोट–सेफोक्सुन्डो पर्यटन मार्ग
प्युठान : रक गार्डेन
दाङ : बगर बाबा धार्मिक पर्यटकीय स्थल
बाँके : कम्मर शाह मजार धार्मिक स्थल
बर्दिया : ॐ केदारेश्वर धाम

कर्णाली प्रदेश
सल्यान : कुभिन्डे दह
जुम्ला : डुडुल चैत्य
कालिकोट : पाचालझरना
जाजरकोट : खलङ्गा दरबार
दैलेख : कोतगढी–पश्चदेवल–बेलासपुर–महावु
सुर्खेत : जाजुरा दह, गिद्धेडाँडा
रुकुम पश्चिम : बोतामकोट चित्री पाटन साहसिक पदमार्ग

सुदूरपश्चिम प्रदेश
बाजुरा : कोल्टी–बुढीनन्दा–बडिमालिका पदमार्ग
बझाङ : गोरखनाथ मन्दिर
डोटी : बढिकेदार धार्मिक क्षेत्र
अछाम  : सूर्यकोट भस्तादेवी पर्यटन क्षेत्र
दार्चुला : मल्लिकार्जुन
बैतडी : सिद्धनाथ उदयदेव धार्मिक स्थल
डडेल्धुरा : अमरगढी–उग्रतारा
कञ्चनपुर : रौटेल झम्केली ब्रह्मदेवधाम धार्मिक विकास क्षेत्र
कैलाली : बर्दगोरिया मन्दिरधाम

सुवास योञ्जन

क्यापिटल नेपालका संवाददाता हुन्

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');