समय थप्दा पनि रोजगारदाता सामाजिक सुरक्षा कोषमा आएनन, दोस्रो पटक थप्ने तयारी 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ मङ्सिर १५, आइतबार ,०२:४८:PM  
समय थप्दा पनि रोजगारदाता सामाजिक सुरक्षा कोषमा आएनन, दोस्रो पटक थप्ने तयारी 

काठमाडौं । सबै रोजगारदाता र योगदानकर्ता सामाजिक सुरक्षा कोषमा दर्ता हुन नआएपछि पुनः समय थपिने भएको छ । कोषले गत कार्तिक १४ गते १ महिनाका लागि दर्ता हुन समय थपेको थियो ।

सो समय हिजो( शनिबार) सकिएको छ । कोषले यो दोस्रो पटक समय थप्न तयारी गरेको हो । यद्यपी औपचारिक रुपमा घोषणा भने गरेको छैन । 
कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एक महिनामा पनि रोजगारदाता र कर्मचारी नआएपछि समय थप गर्ने विषयमा छलफल भइरहेको बताए ।

‘समय सकिए पनि दर्ता हुन बाटो खुल्ला छ ।’ उनले भने । दोस्रो पटकको समय कहिले थपिन्छ भन्ने निर्णय नभएको उनले जानकारी दिए । 
कोषले यसअघि थपेको एक महिनासम्मको समय सकिँदा पनि सबै रोजगारदाता र योगदानकर्ता कोषमा दर्ता हुन आएका छैनन् ।

कोषका अनुसार हालसम्म १० हजार ४७७ रोजगारदाता र १ लाख १५ हजार ६०६ जना योगदानकर्ता आवद्ध भएका छन् । कोषले हालसम्म ६९ जिल्लालाई सूचीकरणमा समेटेको छ । कोषका अनुसार  १८ करोड १३ लाख २ हजार ७८१ रुपैयाँ योगदान रकम संकलन भएको छ । 

कोषका केही नीतिगत व्यवस्था विभेदकारी भएको भन्दै रोजगारदाता तथा योगदानकर्ता कोषमा दर्ता हुन आउन मानिरहेका छैनन् । हालसम्म वाणिज्य बैंकहरुमा जम्मा ७ वटा मात्रै कोषमा आवद्ध भएका छन् ।

निवर्तमान श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले भेटेर कोषमा १ हप्ताभित्र जान बैंकहरुलाई अनुरोध गरेका थिए । तर पनि बैंकहरु अझै विश्वस्त हुन सकेका छैनन । कोषको योजनादेखि असन्तुष्ठ भएर साना तथा ठुला व्यवसायिक प्रतिष्ठान दर्ता हुन इच्छा देखाएका छैनन ।

वाणिज्य बैंक मात्रै होइन, अझै कयौँ संघ संस्था तथा कम्पनीहरु कोषमा आउन आनाकानी गरिरहेका छन् । कोषले यसवर्ष निजी सङ्गठित संस्था तथा त्यहाँ कार्यरत कर्मचारीबाट योगदान रकम ४० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । 

गत वर्ष साउन १ गतेदेखि सामाजिक सुरक्षा योजना पूर्णरुपमा कार्यान्वयनमा आएको हो । यही असोज मसान्तभित्र सम्पूर्ण रोजगारदाता र आफूसँग श्रम सम्बन्ध कायम गरेका श्रमिकलाई कोषमा सूचीकृत गराउनुपर्ने व्यवस्था छ ।

कोषले संकलित योादान रकम लगानी गर्न योजना तयार गर्दै छ । जलविद्युत् यातायातलगायत पूर्वाधार, पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने कोषको तयारी छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अर्थतन्त्र बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');