काठमाडौं । नापतौल तथा गुणस्तर विभागले लेमिनेटेड बोरा कार्यान्वयन नगर्ने सिमेन्ट उद्योगको इजाजत खारेज गर्ने भएको छ । लेमिनेटेड बोरामा मात्रै सिमेन्ट उत्पादन गरेर बजारमा ल्याउन दिएको निर्देशनलाई उद्योगीले अवज्ञा गर्दै आए पछि विभागले उनीहरुको इजाजत खारेज गर्ने तयारीमा पुगेका विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।
‘हामीले पटक पटक निर्देशन दिइसकेका छौं,’ पुडासैनीले भने, ‘तर, अब पनि अटेर गर्ने उद्योगको इजाजत खारेज गर्छौ ।’ विभागका अनुसार केही उद्योगले लेमिनेटेड बोरामा सिमेन्ट बजारमा ल्याइसकेका छन् भने केही अटेर गरेर बसिरहेका छन् । अटेर गरेर बस्ने उद्योगको इजाजत नै खारेज गर्ने विभागको तयारी छ ।
विभागका अनुसार लेमिनेटेड बोरा कार्यान्वयनमा नल्याउने उद्योगको इजाजत मङ्गलबारबाटै खारेज गर्न सुरु गर्छौ । सरकारले पटक–पटक उद्योगी÷व्यवसायीलाई लेमिनेटेड बोरा कार्यान्वयन गर्नका लागि समय दिए पनि उनीहरुले त्यसको अवज्ञा गरेपछि विभाग कठोर हुन लागेको हो ।
केही उद्योगले पीपीसी सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग गरेको भए पनि ओपीसी सिमेन्ट लेमिनेटेड बोरा बिनै बजारमा ल्याइरहेका छन् ।
‘सामान्य बोरा भन्दा केही रुपैयाँ मात्रै महँगो भएपनि लेमिनेटेड बोराले उपभोक्ताले गुणस्तरीय सिमेन्ट पाउने वातावरण बन्छ । उद्योगीहरुलाई पनि सिमेन्टको गुणस्तर लामो समयसम्म रहँदा फाइदानै हुन्छ’ उनले भने ।
अहिले अर्घाखाँची, जगदम्बा, सर्वोत्तमलगायतका सिमेन्टले लेमिनेटेड बोरा प्रयोग गर्न थालिसकेका छन् । अहिले सिमेन्टमा प्रयोग भइरहेको साधारण बोरा र लेमिनेटेडको मूल्यमा झण्डै १० रुपैयाँ फरक पर्छ । लेमिनेटेड बोराको मूल्य २५ रुपैयाँ पर्छ भने साधारण बोराको मूल्य १५ रुपैयाँ पर्छ ।
सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुब थापाले आजको आजै लेमिनेटेड बोरा प्रयोग गर्न नसकिने बताए । ‘सर्वोच्चले लेमिनेटेड बोरा कार्यान्वयनमा ल्याउनु भनेर आदेश दिइसकेको छ । त्यसलाई कार्यान्वयन गर्नु उद्योगीको पनि कर्तव्य पनि हो,’ उनले क्यापिटल नेपालसँग भने, ‘समय दिएर मात्रै कार्यान्वयनमा ल्याउनु पर्छ ।’
उनका अनुसार तीन वर्षअघि कुनै हालतमा कार्यान्वयन गर्न सकिदैन । साेही अनुसार सरकारले अावश्यक तयारी गर्नुपर्ने उनकाे माग छ । एकातिर बजारमा लेमिनेटेड बाेरा नैै छैन । यस्ताे अवस्थामा अाजकाे भाेलि कसरी कार्यान्वयन गर्न सकिन्छ उनले भने ।
अहिले आंशिक रुपमा कार्यान्वयनमा ल्याइसकेका छन् । अदालतले पनि तत्कालै कार्यान्वयन गर्नु भनेको छैन् । नापतौल तथा गुणस्तर विभागले के कति कारणले लेमिनेटेड बोरा कार्यान्वयन नगरेको भन्दै सबै उद्योगलाई स्पष्टिकरण सोधेको छ । विभागले १५ दिन भित्र विभागमा जवाफ पठाउन समेत निर्देशन दिएको विभागले जनाएको छ ।
भारतसहित विभिन्न देशमा लेमिनेटेड बोरामा सिमेन्ट राखेर बजारमा पठाउनुपर्छ । भारतमा ह्वाइट सिमेन्टमा बाध्यकारी छ । अन्य सिमेन्टमा बाध्यकारी छैन । तर, बङ्गलादेशमा दुवै प्रकारका सिमेन्टमा बाध्यकारी छ ।
अहिले भइरहेको बोराभन्दा थोरै मात्र महँगो हुन्छ । अहिलेको बोरामा सिमेन्ट पठाउँदा चिसो पस्ने, ओस लाग्नेलगायतका समस्या हुन्छन् । जसका कारण उपभोक्ता मर्कामा पर्ने गरेका छन । तर, लेमिनेटेड बोरामार्फत सिमेन्ट बजारमा पठाउँदा उपभोक्तालाई ठूलो राहत हुने उनको भनाइ छ ।