पोखरा । माघेसक्रान्तिको दिन पोखरा १७ ढुँङ्गेसाँघुमा ऐतिहासिक मेला लाग्ने गर्छ । परम्परागत रुपमा लाग्दै आएको यस मेलामा विशेष गरि परम्परागत सामानको विक्रि वितरणले पनि निकै महत्व राखेको पाइन्छ ।
बुटबलका रनबहादुर विश्वकर्माले विगत २५ वर्ष देखि फलामका परम्परागत औजार बेच्दै आएको बताए । आफैले उत्पादन गरेका औजारलाई विगत वर्षमा जस्तै यस वर्ष पनि मेलामा बेच्न ल्याएको उनले बताए । उनले भने “मैले २५ वर्ष अघि देखि व्यापार गर्दै आएको छु ।
शुरुका वर्षमा तीस चालीस रुपैयामा बेच्ने औजार अहिले दुई सयमा पुगेको छ , व्यापारमा कमि आएको छैन , समय अनुसार राम्रै छ ।” फलामे औजारको सामाग्रीको एकैतिर मात्र व्यापारको लागि ठाउँ छुट्टाएको भए किन्ने ग्राहकलाई र बेच्नेलाई पनि सहज हुने उनको भनाई छ । फलामे औजारहरु आँसि, दाउ, कूटो, कोदालो, बञ्चरो, बाउसोको फालि, दिउरी, कराइहरु बेच्ने गरेको बताए ।
त्यसैगरी धादिङका पुतली विश्वकर्माले पनि विगत २० वर्ष देखि फलामे औजारको व्यापार गर्दै आएको बताए । पोखराको बागलुङ बसपार्कमा बस्दै आएका उनले ११ वर्ष अघि श्रीमानको मृत्यु पछि कामदार राखेर यस पेशालाई निरन्तरता दिदै आएको बताइन् । उनले अघिल्ला वर्षहरुमा जस्तो यस वर्ष व्यापार राम्रो नभएको बताइन् ।
कराँते आँसी र तरकारी काट्ने आँसीको मात्र व्यापार गर्नु गरेका उनले यस वर्ष २० हजारको मात्रै आँसि बेचेको र गत वर्ष भने एकै दिनमा १ लाख बढीको आँसिको व्यापार गरेको अनुभव सुनाईन् । विगत १२ वर्ष देखि मेलामा व्यापार गर्दै आएका पोखरा लामाचौरका मंगलबहादुर विश्वकर्माले पनि ढुँङ्गेसाँघु मेलामा विभिन्न
जिल्लाबाट करिब २० भन्दा बढीले परम्परागत फलामका औजारको बेच्न आएको बताए । पछिल्लो सयमा बजारीया सामानको यस पेशालाई ओझेल पार्दै गएको र पहिला पहिला जस्तो व्यापार नभएको उनको भनाई छ ।
तनहुँका राजेश विकले विगत ४ वर्ष देखि फलामे औजारको व्यापार गर्दै आएको बताए । उनले विगत वर्षमा भन्दा यस वर्ष दाऊ, हँसिया र ओख्लीको व्यापार राम्रो भएको बताए । दमौलीबाट विगत दुई वर्ष देखि व्यापारका लागि आएका धिरज परियारले २ सय देखि २५ सय सम्मको फलामे औजारको व्यापारका लागि राखिएको बताए । उनले बञ्चरोलाइ २ हजार देखि २५ सय सम्म विक्रि गरेको बताए ।
पोखरा १७ का हंसराज गुरुङले ऐतिहासिक महत्व राखेको यस मेलामा विशेष फलामको औजार खरीद गर्ने गरेको बताए । उनले यस वर्ष फलामको ओख्ली र दाऊ खरीद गरेको बताए । त्यसैगरी पोखरा ११ काँहुकी शर्मिला बरालले बाउसको फाली र फलामे कराइ किनेको बताइन्। “बजारमा पनि पाइन्छ तर पहिल्यै देखि ढुँगेसाँघुको मेलामा सस्तो र राम्रो पाइन्छ भन्ने सुनेकाले यहिबाट खरीद गरेकी हुँ ।” उनले बजारमा भन्दा सस्तो मूल्यमा पाएको बताए ।
परम्परागत फलामे औजारको लागि समेत प्रसिद्ध पाएको यस मेलामा बुटवल धादिड म्याग्दी र कास्की जिल्ला र आसपासका स्थानबाट फलामे औजारको व्यापाकालागि आउने गरेको महतगौडा स्थित ढुँङ्गेसाँघुका सदा शिवजी सिद्धश्वर हरीहर मन्दिर समितिका पूर्व अध्यक्ष ऋषिराम भण्डारीले बताए । उनले कहिलेबाट यस मेलाको शुरु भएको भन्ने ऐतिहासिक दस्तावेज नभेटिएको तर विक्रम सम्वत् १८६४ तिरका केहि प्रमाणहरु भेटिएको बताए ।
धार्मिक रुपमा राम सिताले सेतीगङ्गा स्नान गरेर हिडेकाले महतगौडामा सीतापाइला नाम रहेको बताए । उक्त स्थानमा अहिले पनि रामसीता बसेको चौतारीको वरपीपलको रुख एकै वृक्षभएर झाँगिदै गएको उनको भनाइ छ । पहिला पहिला तीन दिन सम्म चल्ने यस मेलामा हाल सुरक्षाको दृष्टि र ठाउँ अभावले एक दिनमात्रै सिमित गरिएको बताए । पहिला पहिला बजारको विस्तार नहुँदा कास्कीका विभिन्न ठाउँबाट मेलामा वर्ष भरिका लागि चाहिने घरायसी सामान खरीद गरेर लैजाने गरेको भण्डारीले बताए ।
पोखरा १५ र १७ जोड्ने प्राकृतिक ढुंङगाको पुलले उक्त स्थान ढुँङ्गेसाँघुको नामबाट परिचित हुन गएको स्थानीय ९० वर्षिय चन्दाकान्त भण्डारीले बताए । पहिला कहि कतै पुल नभएको सेती वारी पारी गर्ने एक मात्र स्वतः निर्मित ढुङ्गाको पुलले सेती वारिपारी गर्न भएकाले पनि यसको ऐतिहासिक महत्व रहेको छ ।