पोखरा । “जिन्दगीमा आफूसँग नभएको कुराको खोजी कदापी गर्नुहुदैन । जे छ त्यसलाई सदुपयोग गरेर आत्मविश्वास जगाउनुपर्छ । मैले जिन्दगीमा एउटा खुट्टा छैन भन्ने अनुभुति हुनै दिइन र त खुशी छु ।” जन्मिएको ४५ दिनमै आगोमा परेर जलेको शरीरबाट एउटा खुट्टा गुमाएकी अन्जना गुरुङ एक सफल सौन्दर्यकर्मी बनेकी छन्।
गुरुङले ६ महिनाको विशेष कोर्ष पुरा गरेर सौन्दर्यकर्मीको रुपमा आफुलाई उभ्याउन सफल भएकी हुन। प्लस टु सम्मको अध्ययन पुरा गरेकी २८ वर्षिय अन्जनाले ६ महिने व्यूटिपार्लरर कोर्ष पुरा गरे सँगै ६ महिना भोलेन्टियर गरे पछि उनको लगाव सौन्दर्य क्षेत्रमा बढेको हो । पोखराको घारिपाटनमा बस्ने गुरुङका परिवारमा बुबा, आमा, एक दाजु र एक बहिनी छन्।
निराशा र परनिर्भरताबाट मुक्त हुन सके जिन्दगी सार्थक हुने धारणा राख्ने गुरुङले जीवनलाई संघर्षको रुपमा लिन रुचाउछिन् । उनले अपाङ्गता भएका व्यक्ति प्रति समाज विस्तारै सकारात्मक हुँदै गएको अनुभव सुनाइन्। “फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार भने जस्तै म त समाज अपाङ्गमैत्री हुँदै गएको ,फरक क्षमता भएकाहरुलाई पनि अवसरहरु मिल्दै गएको जस्तो लाग्छ ।”
आफ्नो जीवनका शुरुआती दिनदेखीनै सबै साथी इष्टमित्र आफन्तको राम्रो साथ र मायाले जीवनमा ऊर्जा मिलेको उनको अनुभव छ । ”सबैको साथले नै कर्म क्षेत्रप्रति निरन्तर अघि बढेकी छु ।” गुरुङ भन्छिन् “मसँग नभएको कुरा किन भएन भनेर कहिल्यै गुनासो गरिनँ, सायद जे नहुनु थियो त्यो भइसकेको थियो मेरो जीवनमा, मेरो आमालाई झन् त्यो समय कति पीडा भएको होला म आगोमा जल्दा , धन्न मलाइ बेलैमा उपचार गर्नु भयो र मेरो शरीरको एउटा अंग मात्र मैले गुमाएँ । यस बाहेक पनि मसँग धेरै कुरा छ । सबैभन्दा ठुलो मसँग इच्छाशक्ति र आत्मविश्वास छ । आफुले गुमाएको कुरा भन्दा आफुसँग भएको कुराबाट जीवनलाई सुन्दर बनाउनु छ आमाबुबा दाजु बहिनी अनि सबै आफन्त इष्टमित्र शुभचिन्तकको अनुहारमा पनि खुशी दिनुछ ,त्यसैले निराशाबाट धेरै टाढा छु । सार्थक र सफल जीवनको यात्रामा मेहनत गरेकी छु । खुशी छु आफैसँग। ”
हरेक कुरालाई सकारात्मक दृष्टिकोणबाट हेर्ने र सिकाइमा सृजनशिलता खोजिरहने उनी एक सफल डान्सर पनि हुन । सानोमा गीत गाउन रुची राख्ने उनी विस्तारै नृत्यतर्फ आकर्षित भइन। सानोमा साथीभाइ भैलो खेल्दा छेऊतिर कम्मर मर्काउँदै बस्ने उनले पछि एक खुटटाले पनि बेजोड नृत्य गर्न सकिन्छ भनेर प्रमाणित गरिन।
कक्षा सातमा पढ्ने बेला अमरसिंह स्कुलमा विशेष कार्यक्रममा भारतीय राजदूतको अगाडि उनले नृत्य देखाएपछि उनको प्रतिभाको चर्चा निकै चुलिएको थियो । देशका विभिन्न जिल्ला र विदेशमा समेत आफ्नो एक खुटटाले नृत्य प्रस्तुत गरेर वाहवाही कमाएकी गुरुङको क्षमतालाई देखेर गुरुङ व्यूटि एकेडेमीका सञ्चालक एवं सौन्दर्यविद् चिनु गुरुङले आत्मनिर्भर बनाउने पहल थालेकी थिइन् ।
गुरुङ भन्छिन् “एक कार्यक्रममा उनको नृत्य देखे निकै शशक्त लाग्यो । सबैबाट तारिफ भयो । धेरैले टिप्स पनि दिए । नृत्यको कला त उनीमा छँदै थियो, जुन मेला महोत्सव लगायतमा मात्रै प्रस्तुत गर्ने अवसर मिल्थ्यो, तर नियमित हुँदैनथ्यो । मैले नियमित आयआर्जन हुने सीप सिकाएर उनलाई स्वावलम्बन बनाउन निःशुल्क पार्लर सिकाउने सोच बनाए । ” उनी भन्छिन् “मैले अञ्जनालाई पार्लर सिक्न आग्रह गरे । उहाँ निकै खुशीका साथ तालिममा सहभागी हुनुभयो । जसको कारण आज उहाँ पार्लर सम्बन्धि सम्पूर्ण काममा निपूण हुनुहुन्छ भने उहाँको विशेषज्ञता अहिले आइस्याडो बढी छ । यसको लागि थप एडभान्स तालिम सिकाउन विदेश पठाउने सोच पनि बनाइरहेको छु ” अहिले अन्जनाले मासिक १० हजार तलब र अन्य थप सुविधाहरु प्राप्त गरेको उनको भनाइ छ ।
अन्जना भन्छिन् “मलाई चिनु म्यामले आत्मनिर्भर हुने बाटो देखाइ दिनु भयो अब सौन्दर्य क्षेत्रमा आफ्नो कर्मलाइ निरन्तरता दिन्छु । नृत्यबाट पनि टाढा हुँदिन । नियमित आम्दानीले खुसी थपेको छ । अब त मैले पनि परिवारलाई आर्थिक सहयोग गर्न सक्छु भन्ने आत्मविश्वास पनि पलाएको छ ।”
उनले समाजमा आफु जस्तै अन्य फरक क्षमता भएकाहरुलाई जिन्दगीमा निराश भएर होइन आफू भित्रको क्षमतालाइ पहिल्याएर अघि बढ्न आग्रह गर्छिन । यसको लागि फरक क्षमता भएकाहरुप्रति सकारात्मक दृष्टिकोण राखेर अवसरहरु प्रदान गर्नुपर्ने उनको भनाइ छ । विचरा र बरा भन्नुभन्दा पनि उनीहरुको क्षमता अनुसारको अवसर प्रदान गरेर उनीहरुको आत्मबल बढाउनु पर्ने धारणा अन्जनाको छ ।
एकेडेमीका प्रशिक्षक निरु बोहोरा क्षेत्री अन्जनामा विशेष खुबी भएको बताउछिन्। अरुमा भन्दा छिटो सिक्न सक्ने र बढी मेहेनत गर्न बानी र अल्छि नगर्ने अन्जनाको स्वाभावको आफू पनि प्रशंसक भएको उनको भनाई छ । अन्जनाको काम प्रतिको लगाव र राम्रो फिनिसिङले पार्लरमा आउने ग्राहक निकै सन्तुष्ट भइरहेको र अर्को पटक पनि पार्लर आउँदा उनलाई खोज्ने गरेको क्षेत्री बताउँछिन्।