काठमाडौं। आतंकवादी संगठन हमासले चार जना मृत बन्धकका नाम सार्वजनिक गरेको छ। यी शव आज अन्तर्राष्ट्रिय रेडक्रसलाई हस्तान्तरण गर्ने तयारी गरिएको बताइएको छ।
हमासले सार्वजनिक गरेको विवरणअनुसार ती बन्धकहरूमा नेपालका विपिन जोशी, गाइ इलौज, योसी शराबी र डानियल पेरेज छन्। संगठनले शव हस्तान्तरण कहिले गर्ने भन्नेबारे भने स्पष्ट गरेको छैन।
जोशी इजरायलमा कृषि विद्यार्थीका रुपमा अध्ययनरत थिए। उनको अवस्थाबारे इजरायलले यसअघि औपचारिक पुष्टि गरेको थिएन। तर, “गम्भीर चिन्ता” व्यक्त गरेको थियो।
गाइ इलौज नोभा संगीत महोत्सवबाट अपहरणमा परेका थिए। उनी गाजास्थित अस्पतालमा उपचार नपाएर निधन भएको जनाइएको छ। उनको मृत्यु सन् २०२३ को डिसेम्बरमा पुष्टि भएको थियो।
डानियल पेरेज २२ वर्षका इजरायली सैनिक थिए। जो सातौँ आर्मर्ड ब्रिगेडको ७७औँ बटालियनमा प्लाटुन कमान्डरको भूमिकामा थिए। उनी २०२३ अक्टोबर ७ मा हमाससँगको भिडन्तमा मारिएका थिए।
योसी शराबी, ५३ वर्षका मुक्त गरिएका बन्धक इली शराबीका दाजु थिए। उनी किब्बुट्ज बेएरीस्थित आफ्नै घरबाट अपहरणमा परेका थिए र बन्धक अवस्थामा नै मारिएका थिए।
हमासले उक्त चारै जनाको शव आज रेडक्रसलाई हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ। तर, यसको समय र स्थान खुलाइएको छैन।