काठमाडौं । सरकारले औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्न दिने भएको छ ।
उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोरोना भाइसर समन्वय समितिको बैठकले खाद्यवस्तु दुवानी गरेर फर्केर जाने सवारी साधनलाई सुचारु गर्न दिने तथा यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्न नपाउने निर्णय गरेको हो ।

त्यस्तै औषधि उत्पादन, ग्याँस बोटलिङजस्ता कार्यमा संलग्न हुने श्रमिकहरूलाई कार्यस्थलसम्म आउन जानका लागि सम्बन्धित उत्पादक संस्थाले सवारी साधनको व्यवस्था समेत गर्नुपर्ने भएको छ ।
सोको लागी गृह मन्त्रालयले सो सवारी साधनका लागि आवश्यक अनुमति दिने भएको छ । ठूला खाद्य स्टोर तथा पसलहरूले आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउने तथा यसका लागि गृह मन्त्रालयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिने निर्णय गरेको हो ।
स्थानीय तहले वडास्तरमा दूध, तरकारी, फलफूल लगायत अन्य खाद्यवस्तु बिक्री वितरण गर्ने पसलहरूमा भीडभाड नहुने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र ग्राहकहरूबीच भौतिक दूरी कायम हुने गरी सञ्चालन गर्न सहजीकरण समेत गर्ने भएको छ ।
अति आवश्यक परी खाद्यान्न ढुवानी गर्नु परेमा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा हवाई ढुवानी गर्ने व्यवस्था मिलाउने समितिको भनाई छ ।