काठमाडौं । पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर चालकको परीक्षण नगर्दा देशभर कोरोना भाइरसको संक्रमण हुने जोखिम बढेको छ । नेपाल आयल निगमले पटक पटक ट्यांकर चालकको कोरोना परीक्षण गर्न आग्रह गर्दा पनि सरकारले वेवास्ता गर्दा देशभर कोरोनाको जोखिम बढेको हो ।
अहिले वीरगन्ज नाकाबाट मात्रै दैनिक ५०० भन्दा बढी ट्यांकर काठमाडौं भित्रिरहेका छन् । त्यसैगरी, पोखरा, जनकपुरलगायतका ठाउँमा भारतबाट तेल लिएर जाने गरेका छन् । ती चालकको अहिलेसम्म परीक्षण नै भएको छैन् ।
कोरोनाको केन्द्रबिन्दु मानिएको वीरगन्जको बाटो हुँदै चालकहरु काठमाडौंका थानकोट डिपो, पोखरा र जनकपुरसम्म पुग्ने गरेका छन् । निगमका अनुसार अहिलेसम्म कुनै पनि चालकको कोरोना परीक्षण गरिएको छैन् ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार चाललको परीक्षणका लागि सरकारसँग बारम्बार आग्रह गरिएको तर, अहिलेसम्म कुनै पनि चालकको परीक्षण नभएको स्वीकार गरे ।
नेपालको कुल मागकको ७० प्रतिशत पेट्रोलियम पदार्थ वीरगन्जको बाटो हुँदै देशका विभिन्न डिपोमा जाने गरेको छ । वीरगन्जले काठमाडौं वरिपरीका जिल्ला, पोखरा वरिपरीका जिल्ला र दुई प्रदेशका अधिकांश जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति गरिरहेको छ । त्यसैगरी वीरगन्जबाट पाँच नम्बर प्रदेशमा समेत आपूर्ति गरिरहेको छ ।
वीरगन्जबाट तेल लिएर काठमाडौं आइपुगेका चालकसँग डिपाका कर्मचारीको भेट हुन्छ । डिपोमा रहेका कर्मचारी एकैदिनमा धेरै मान्छेसँग सम्पर्क हुन्छ । यस्तो सम्वेदनशील विषयमा सरकार गम्भीर नभएको निगमका कर्मचारी बताउँछन् ।
निगमका वीरगन्ज शाखा कार्यालय प्रमुख रामकुमार न्यौपानेका अनुसार लकडाउनपछि बैशाख १ गतेसम्म बरौनीबाट मात्रै १७७ ओटा ट्यांकर नेपाल भित्रिएका छन् । ती ट्यांकरमा ल्याइएको तेल मध्ये २ गाडी पोखरा र बाँकी सम्पूर्ण तेल अमलेखगन्ज र काठमाडौं पठाइएको उनले जानकारी दिए ।
एउटा गाडीमा चालक र सहचालक गरेर दुई जना हुन्छन् । तर, ति कुनै पनि चालक तथा सहचालकको कोरोना परीक्षण नगरिएको निगमले जनाएको छ ।
त्यसैगरी बैशाख पछि रक्सौल डिपोबाट एक हप्तामा दुई दिन ट्यांकर लोड भइरहेको छ । दुई दिनमा २८० ट्यांकर लोड भएर देशका विभिन्न ठाउँ गएको उनले जानकारी दिए । २८० ट्यांकरमा ४६० चालक तथा सहचालक काठमाडौंसहित देशका विभिन्न ठाउँमा पुगेको निगमले जनाएको छ ।
न्यौपानेका अनुसार रक्सौलबाट केही दिनदेखि दैनिक रुपमा सरदर १५० ट्यांकर लोड हुन थालेको जानकारी दिए । कोरानको केन्द्रबिन्दु पार गरेर आउने चालकलाई अहिलेसम्म डाइग्नोस्टिक वा पीसीआर कुनै पनि विधिबाट कोरोना परीक्षण नभएको निगमले जनाएको छ ।
दैनिक सयौंका संख्यामा चालक र सहचालक भित्रिँदा पनि सरकारले त्यस्ता चालकलाई परीक्षणको दायरामा ल्याउन सकेको छैन् । उनीहरुलाई परीक्षणको दायरामा नल्याउँदा सम्पूर्ण देशभर कोरोनाको जोखिम बढेको निगम स्रोतको भनाइ छ ।
महामारीकै रुपमा कोरोना संक्रमण फैलिएको भारतबाट पेट्रोलियम पदार्थ बोकेर आउनुपर्छ । तर, उनीहरुकै परीक्षण अहिलेसम्म नहुनु दुखद् भएको निगमका अधिकारी बताउँछन् ।
त्यसैगरी भारतबाट एलपी ग्यास बुलेट चालकको पनि कोरोना परीक्षण गरिँदैन । उनीहरु पनि निर्वाध रुपमा नेपाल भित्रिएका छन् । प्रत्येक ग्यास उद्योगमा उनीहरुले बुलेट लैजाने गरेका छन् ।
अमलेखगन्ज डिपो प्रमुख भरत रेग्मीका अनुसार अहिले त्यहाँबाट १२५ ओटा ट्यांकरले विराटनगर, जनकपुर, पोखरा, भैरहवा, काठमाडौंमा तेल आपूर्ति गरिरहेको छ ।
तर, अहिलेसम्म कुनै पनि चालक तथा डिपोका कर्मचारीको कोरोना परीक्षण भएको छैन । मंगलबार मात्रै एक जना ट्यांकर चालक कोरोना संक्रमणको आशंका पछि क्वारेन्टाइनमा पठाइएको छ ।