काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आफ्ना सुझाव राख्न पटक–पटक अर्थमन्त्री डा. युवराज खतिवडालाई भेट्ने प्रयास गर्यो । तर, उनीहरुलाई अर्थमन्त्री खतिवडाले भेट्न समय दिएनन । अन्तत चेम्बरले बजेट सुझाव अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीलाई बुझायो ।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठदेखि वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल हुँदै उपाध्यक्षहरु कमलेश अग्रवाल र दीपक मल्होत्राले अर्थमन्त्रीलाई भेटेरै सुझाव दिने प्रयास गरेका थिए । उनीहरु सबैको प्रयास व्यर्थ भएपछि बाध्य भएर राजस्व सचिवलाई बजेट सुझाव बुझाएर आए ।
नेपाल उद्योग बाणिज्य महासंघले पनि बजेट सुझाव तयार पारेको झण्डै १५ दिन बितिसक्यो । अध्यक्ष भवानी राणादेखि बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अर्थमन्त्रीलाई भेटेर बजेट सुझाव राख्न खोजे पनि अहिलेसम्म सम्भव भएको छैन् । अर्थमन्त्रीले भेट्न समय नदिएपछि केही दिनअघि महासंघले पत्रकार सम्मेलन गरेर बजेट सुझाव सञ्चारमाध्य मार्फत राख्यो ।
निजी क्षेत्रका तीन ओटै संगठनले बजेट सुझाव तयार पारेर राखेका छन् । त्यसमध्ये चेम्बरले राजस्व सचिवलाई बुझाइसकेको छ भने महासंघले पत्रकारसम्मेलनमार्फत सुझाव दिएको छ ।
यसअघिको परिपाटी अनुसार निजी क्षेत्रले अर्थमन्त्रीलाई भेटेर बजेट सुझाव दिने गरेका थिए । ‘यसपटकबाट अर्थमन्त्रीलाई भेटेर बजेट सुझाव दिने परिपाटी खतिवडाले अन्त्य गर्न चाहेको देखिएको छ,’ एक निजी संस्थाका उपाध्यक्षले भने, ‘अर्थमन्त्रीको यो प्रवृत्ति एकदमै ठिक भएन ।’
उद्योगी व्यवसायी जहिले पनि माग्न मात्रै आउने हुन भन्ने मानसिकताबाट अर्थमन्त्री ग्रसित भएको ती उपाध्यक्षको भनाइ छ । त्यही भएर केही सुझाव भए राजस्व सचिवलाई बुझाउनुस्, म त्यहीबाट लिन्छ भनेर अर्थमन्त्री खतिवडाले उद्योगलीलाई भनेका छन् । सोही अनुसार चेम्बरले राजस्व सचिव पुडासैनीलाई आफ्नो सुझाव बुझाएर आइसकेको छ ।
अर्थमन्त्री खतिवडाले बजेट सुझाव लिनका लागि अहिलेसम्म समय उपलब्ध नगराएकै कारण निजी क्षेत्रका दुई ओटा संस्थाले बजेट सुझाव दिन सकेका छैनन् । उनीहरु तयार बनाएर राखेका छन् ।
यति मात्र हैन अर्थमन्त्री खतिवडाले नेकपा निकट अर्थशास्त्रीको सल्लाह पनि लिन चाहाँदैनन । बजेट निर्माणमा अर्थशास्त्रीहरुसंग सल्लाह र छलफल गरेका छैनन । सल्लाह दिन जाँदा उल्टै ह्यारेसमेन्ट गरेको आरोप एक अर्थशास्त्रीले लगाएका छन ।
‘अर्थमन्त्रीज्यूले उद्योगी÷व्यवसायीलाई हेर्ने दृष्टिकोण नै बदलिएको छैन्, सर्वसाधारणले उद्योगी÷व्यवसायीलाइै हेर्ने दृष्टिकोणमा के परिवर्तन आउँछ ?’ ती उपाध्यक्षले भने, ‘कोरोनाले देशको अर्थतन्त्र तहस नहस बनाएर पछि त झन अर्थमन्त्री खतिवडा व्यवसायीलाई देख्यो कि तर्सिने भइसकेका छन् ।’
छिमेकी मुलुक भारतसहित विश्वका विभिन्न देशले आर्थिक पुनर्रुत्थानका लागि दोस्रो र तेस्रो चरणका प्याकेज ल्याइसकेका छन् । नेपालका उद्योगी व्यवसायीले पनि अर्थतन्त्रको ५ प्रतिशत राहज प्याकेज ल्याउन पटक पटक आवाज उठाएपछि उद्योगी÷व्यवसायीसँग अर्थमन्त्री झन चिडिएको एक उद्योगी बताउँछन् ।
उद्योगी/व्यवसायीलाई गर्ने व्यवहारमै परिवर्तन
विज्ञ अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमै परिवर्तन गरेका छन् । यी मगन्ते हुन्, भेट दियो कि केही न केही कुरा मागिहाल्छन्, भन्ने अर्थमन्त्रीको भित्री बुझाइ रहेको उद्योगीको आरोप छ ।
कोरोनबाट सिर्जित अवस्थासँग निजी क्षेत्र मात्रै जुध्न नसक्ने र त्यसका लागि सरकारले केही भरथेग गर्नुपर्ने उनीहरुको भनाइ छ । त्यही भनाइ राख्न जादा अर्थमन्त्रीले उनीहरुलाई मगन्तेको बिल्ला लगाएको उद्योगीहरु बताउँछन् ।
कतिपय उद्योगीलाई अर्थमन्त्री खतिवडाले भेट्दा उनले आफू पनि अर्थतन्त्रको विषयमा धेर थोर बुझ्ने भएकाले नसिकाउन समेत भनेका छन् ।
‘हामीले केही कुरा वा समस्या वा समाधनको उपाय राख्यौं कि अर्थमन्त्रीले मैले बुझेको छु धेरै सिकाउनु पर्दैन भन्नुहुन्छ,’ एक उद्योगी भन्छन्, ‘अचेल उद्योगी÷व्यवसायीले बोल्यो कि अर्थमन्त्रीले आफूलाई सिकाएको रुपमा लिन थाल्नु भएको छ ।’