काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट धरासायी बनेको उद्योग/व्यवसायलाई बचाउने गरी राहतको प्याकेज नल्याए वीरगन्जका उद्योगी/ व्यापारी व्यवसाय बन्द गरेर सडकमा आउने भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले दिएका सुझालाई सरकारले पालना नगरे वा अहिलेको स्थितिबाट उस्किन सरकारले सहयोग नगरे व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिन बाध्य हुने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले जानकारी दिए ।
कोभिड १९ बाट उद्योग, व्यापार, व्यवसाय, पर्यटन, सेवा क्षेत्रलगायतको अवस्था गम्भीर र थिल्थिलो भएकाले पनि सरकारले ल्याएको नीति तथा कार्यक्रमले समेट्ने प्रयास नगरेको उनको भनाइ छ ।
‘अब बजेटले पनि हाम्रो मागलाई सम्बोधन गरेर भने चावी सरकारलाई बुझाएर आन्दोलन गर्नुको विकल्प छैन्,’ केडियाले भने, ‘निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयन गर्दै अर्थमन्त्रीले मर्न लागेको उद्योगलाई बचाउनुपर्छ ।’
वीरगन्ज उद्योग वाणिज्य संघ, बारा उद्योग वाणिज्य संघ, र जीतपुर सिमरा उद्योग वाणिज्य संघले संयुक्त विज्ञप्ति निकाल्दै सरकारले आगामी आर्थिक वर्षको बजेटले माग सम्बोधन नगरे वीरगन्जका सम्पूर्ण उद्योग बन्द गरेर सडकमा निस्किने बताए ।
विभिन्न उद्योग व्यवसायीको भेटमा अर्थमन्त्री खतिवडाले दुई चरणको राहत ल्याइसकेकाले अब राहतको आश नगर्न आग्रह गरे पनि वीरगन्जका व्यापारी आक्रोसित बनेका छन् ।
अन्य क्षेत्रका व्यापारीको तुलनामा वीरगन्जका व्यापारी एकदमै शान्त र भद्र मानिन्छन् । तर, त्यही क्षेत्रका व्यापारीले सबै भन्दा पहिला विज्ञप्ति निकालेर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
कोरोनका कारण धेरै उद्योगी व्यवसायीहरु डुबेर सकिन लाग्दा समेत सरकारले राहत नल्याउने बताउन थाले पछि बाध्य भएर आन्दोलनमा जाने चेतावनी दिएको केडियाले जानकारी दिए ।